Logo

समानुपातिक सूचीमा नाम नराखेकोमा राष्ट्रिय अपांग अनुसन्धान तथा विकास केन्द्र नेपालको आपक्ति, सर्वोच्चमा मुद्दा दायर गर्दै

राष्ट्रिय अपांग अनुसन्धान तथा विकास केन्द्र नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको समानुपातिक सूचीमा अपांग, पिछडावर्ग, दलित, महिला, र सिमान्तकृत समुदायलाई सहभागी नगराएकोमा आपक्ति जनाएको छ ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर निर्वाचनको समानुपातिक सूचीमा सहभागी नगराएकोमा सर्वोच्च अदालतमा रिट दर्ता गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अपांग अनुसन्धान तथा विकास केन्द्र नेपालका अध्यक्ष नीलकण्ठ पौडेलले आगामी निर्वाचनका लागि समानुपातिक सूचीमा अपांग पिछडावर्ग, दलित, महिलालगायतलाई सहभागी नगराएको बताएका छन् । समानुपातिक सूचीमा अपांग तथा महिलाहरूको सहभागिता कम रहेको उनको दाबी थियो । उनले सो विषयमा सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको सुनाए ।
अपांग तथा असहायहरूलाई पाखा लगाएर प्रतिनिधिसभाको निर्वाचन गर्न लागिएको भन्दै उनले आपक्ति जनाए । उनले भने, ‘अपांग, सिमान्तकृत समुदायलाई अनिवार्य रुपमा सहभागिता गराउन २०६८ सालमा सर्वोच्चले निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो तर पनि हामीलाई समेटिएन । समानुपातिक व्यवस्था हाम्रो लागि बनेको व्यवस्था हो तर यसमा हामीलाई बाहिर राखिएको छ ।’
उनले पत्रकार सम्मेलनपश्चात् विभिन्न राजनीतिक दलहरूसँग भेटवार्ता गर्ने पनि जानकारी दिए । अपांगहरूलाई नै बाहिर राखेपछि निर्वाचनको औचित्य नरहने उनले टिप्पणी गरे । उनले सूचीमा आफूहरूको नाम नअटाएपनि निर्वाचनमा सहभागिता जनाउने स्प्ष्ट पारे ।
काठमाडौं–२ बाट उम्मेदवारी दिएकी भगवती ढकालले स्वास्थ्य, शिक्षा, रोजगार र देशको भौगोलिक विकासको लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारिन् । देशको कला संस्कृतिको संरक्षण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उनले सुनाइन् । उनले वैदेशिक रोजगारीको अन्त्य गरी स्वदेशमै रोजगारी श्रृजना गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
काठमाडौं–२ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका मधुसूधन पुडासैनीले अपांग, महिला तथा सिमान्तकृत समुदायलाई समानुपातिक सूचीमा नराखेर राज्यले नै बल मिच्याई गरेको टिप्पणी गरे । उनले भने,‘संविधानले तोकिदिएको विषयमा पनि यस्तो खालको बल मिच्याई भएको छ ।’
आफूले चुनाव जितेमा गणतन्त्रपश्चात नेपालको संसदीय पद्धतीमा भएको विकृती र भाडभैलो हटाउने बताए । समग्र देशको विषयलाई लिएर कृषि, पर्यटन र जलश्रोतबाट मुलुकलाई लाभ दिलाउने बारे आफूले ध्यान दिन चाहेको उनले स्पष्ट पारे ।
त्यस्तै, हाम्रो पार्टी नेपालका अध्यक्ष गोबिन्द बोहोराले राज्यले नै संविधानमा भएका अधिकार प्रयोगबाट रोकेको भन्दै अपांग, असहायहरूलाई शीर्ष नेताहरूको घर घेर्न सुझाव दिएका छन् ।
उनले भने,‘राज्यले नै अधिकारबाट बन्चित गरेपछि अपांगहरूको संघर्ष कतै नपुगेको हुन सक्छ, त्यसमा ध्यान दिन आग्रह गर्छु ।’ उनले न्यायको लागि सर्वोच्च मात्र नभएर अन्तराष्ट्रिय अदालत र संयुक्त राष्ट्रसंघमा समेत जान सुझाए ।
आगामी चुनाव विदेशीका लागि मात्रै हो भन्दै आक्रोसित हुँदै उनले भने,‘अपांगहरूको समस्या नसुनेर राज्य के गर्न खोजेको छ ?’ बोहोराले सबै असहाय मिलेर मुख्य नेतृत्व विरुद्ध आन्दोलनको घोषणा गर्नुपर्नेमा जोड दिए ।
उनले राज्यले समानुपातिक सुचीमा उनीहरूको नाम नराखेर अनागरिक बनाएको समेत टिप्पणी गरे ।
केन्द्रीय सदस्य तथा कलाकार भीम केसी लगायतको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमको सञ्चालन रतनबहादुर चलाउनेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्