नेपाल–भारतबीच पारिवारिक सम्बन्ध : महावाणिज्य दूत «

नेपाल–भारतबीच पारिवारिक सम्बन्ध : महावाणिज्य दूत

भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्य दूत बिसी प्रधानले नेपाल–भारतबीच पारिवारिक सम्बन्ध रहेकाले दुई देशबीच कहिलेकाहिँ आउने विवादलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् ।
नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान गर्न नेपाल–भारत मैत्री विश्व संघ नेपालले प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा गरेको कार्यक्रममा महावाणिज्य दूत प्रधानले दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेकाले यो कहिल्यै पनि नबिग्रिने बताएका हुन् । उनले कहिलेकाहिँ आउने सामान्य विवादलाई आपसी छलफलबाटै समाधान खोज्न सकिने बताए । “एउटै परिवारका सदस्यबीच कहिले काहिँ आउने विवादलाई सामान्य रूपमा लिनुपर्छ,” उनले भने, “दुई मुलुकबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुद बनाउनुपर्छ ।”
महावाणिज्य दूत प्रधानले नेपाल र भारतबीच रोटी बेटी मात्र नभई धार्मिक र ऐतिहासिक सम्बन्धरहेको समेत बताए । उनले दुई देशबीचको सांस्कृतिक सम्बन्ध पनि पुरानै रहेको स्पष्ट पारे । नेपालमा पर्यटकको सम्भावना बढी भएकाले त्यसमा सहकार्य गर्न भारत तयार रहेकोसमेत उनले जानकारी दिए । नेपालमा रेल सेवा, जलविद्युत्, पानी जहाजको विषयमा भइरहेको कामका बारेमा व्याख्या गर्दै उनले राजनीतिक उचारचढावका कारण विकासमा केही ढिलाइ भए पनि अब भने त्यसले त्यसले तिव्रता पाउने विश्वास व्यक्त गरे । उनले भन्सारमा हुने समस्यालाई ध्यानमा राखेर एकीकृत जाँच चौकी ‘आईसीपी’ सञ्चालनमा ल्याइएकाले भन्सार तथा व्यापार सहजीकरणका लागि निकै सहयोग पुगेको दाबी गरे ।
मैत्री संघका वरिष्ठ उपाध्यक्ष पदमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभाका पूर्वसदस्य अनन्त पौडेलले नयाँ वर्षमा दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
उद्योग संघका अध्यक्ष नमराज अर्यालले मकवानपुर उद्योगको करिडोर बन्दै गएका कारण बहुआयामका योजनाका साथ आउने भारतीय उद्योगीलाई स्वागत गर्ने बताए । संघका प्रथम उपाध्यक्ष जनकदीप पराजुलीले संस्थाको भावी नीतिबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्