हेलम्बु जोड्ने बेलिब्रिज सम्पन्न «

हेलम्बु जोड्ने बेलिब्रिज सम्पन्न

दिपेन्द्र घले

सिन्धुपाल्चोक-गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची बाढीले पूर्णक्षति गराएको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु जोड्ने बेलिब्रिजको उद्घाटन गरेका छन् । गत १६ र १७ साउनमा मेलम्ची बाढीले चनौटे बजारमा रहेको रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालको रूपमा रहेको बेलिब्रिजको निर्माण कार्य सकिए लगत्तै गृहमन्त्री खाणले उद्घाटन गरेका हुन् ।
दुई महिना बढी समय लगाएर निर्माण गरिएको पुल उद्घाटनलगतै सडक विभागलाई हस्तान्तरण गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । “४८.७७ मिटर लम्बाइ र चार दशमलव २० मिटर चौडाइ रहेको पुल शनिबार उद्घाटन गरेर हस्तान्तरण गरिएको छ,” उनले भने, “पुलको भारवाहन क्षमता २४ टनसम्म रहेकाले यो पुल बलियो र भरपर्दो छ ।” पुल सञ्चालनमा आएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केध्याङ, सेर्माथाङ, पाल्चोक र नाकोतेलगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने शेर्पाले बताए ।
बाढीले पुल बगाएपछि खोला तर्न र सामान लान ल्याउन कठिन हुने गरेको स्थानीय सरोज तामाङले बेलिब्रिज पुनर्निर्माणले निकै सहज बनाएको बताए । बाढीपछि ह्युमपाइप राखेर बनाएको पुलको उनलाई भर लाग्दैन थियो । “पक्की पुल बनेकोले खाद्यान्नलगायत अन्य आवश्यक सामान ढुवानी गर्न अब समस्या भोग्नु नपर्ने देखिन्छ,” उनले भने, “बिरामी हुँदा काठमाडौंलगायत अरु ठाउँमा जान र अन्य आवश्यक काममा दौडधुप गर्न अब सजिलो हुने भयो ।” बेलिब्रिज निर्माण भएपछि उनले बाढीले ध्वस्त बनाएका अन्य संरचना पनि चाँडै बन्ने अपेक्षासमेत गरेका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भीरखर्क जोड्ने पुल निर्माणको काम नेपाली सेनालाई जिम्मा दिएको थियो । अर्थ मन्त्रालयको ९० लाख ५३ हजार रुपैयाँ लागतको बेलिब्रिज नेपाली सेनाले निर्माण सम्पन्न गरेको हो । बेलिब्रिज पुनर्निर्माणमा नेपाली सेनाका प्रविधिकसहितको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्