ऐतिहासिक दरबार निर्माणका लागि महोत्सव «

ऐतिहासिक दरबार निर्माणका लागि महोत्सव

स्याङ्जाको स्यालबास स्थित ऐतिहासिक दरबार निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ । हात्तीस्थान फाउन्डेसन समिटले १५, १६ र १७ पुसमा स्याङ्जा गल्याङकोटदेखि १३ किलोमिटर उत्तरमा रहेक स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान–तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो ।
करिब साढे सात सय वर्ष पहिले उक्त स्थानमा १४ कोठाको तीन तले तामेकोट दरबार रहेको इतिहास छ । अझै पनि दरबार र ऐतिहासिक ढुङ्गाका अवशेष रहेको उक्त ठाउँमा आलम नामका राजा रहेको कथन छ ।
राजा यौनलिप्त भएर राज्य प्रति बेफिक्री भएपछि रानी बेगमले उनलाई नजरबन्द गरेर सेनापति अर्थमसँग मिलेर राज्य सञ्चालन गरेको कथन रहेको फाउन्डेसनका अध्यक्ष शिवशंकर बस्यालले बताए ।
पछि भयकोट, चन्द्रकोट र पैयुकोट गरी तीन भुरे राज्यले संयुक्त हमला गरेर तामेकोट राज्य नियन्त्रणमा लिएको लोककथा स्थानीयमाझ प्रचलनमा छ । उक्त ऐतिहासिक दरबार पुनर्निर्माणका लागि फाउन्डेसनको पहलमा महोत्सव गर्न लागिएको बस्यालले जानकारी दिए ।
१० करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहले सहयोग प्रतिवद्धता गरेकोमा केन्द्र सरकारसँग पनि पहल भइरहेको जानकारी फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्