नेपालको पाठ्यक्रमले सिक्ने र अभ्यास गर्ने बानीलाई कहिल्यै प्रोत्साहन गरेन

नर्वेबाट सार्वजनिक प्रशासनमा एमफिल गरेका नरोत्तम अर्याल उच्च शिक्षाको क्षेत्रमा सक्रिय युवा हुन् । हाल किंग्स कलेजका कार्यकारी निर्देशक तथा प्रिन्सिपल रहेका उनी नेपालको शैक्षिक प्रणाली बढी घोकन्ते भएका कारण विद्यार्थीमा व्यावहारिक ज्ञानको कमी भएको बताउँछन् । नेपालजस्तो अल्पविकसित मुलुकमा उद्यमशीलतासम्बन्धी शिक्षा देश विकासको एक मात्र विकल्प रहेको बताउने उनी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूमार्फत नेपालमा उद्यमशीलताको विकासका लागि लागिपरेका छन् । महेन्द्र विद्याभूषण तथा सन् २०१३ को म्यानेजर एवार्डबाट पुरस्कृत अर्यालसँग दैनिक करिब १ सय युवा वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया जाने गरेको परिप्रेक्ष्यमा नेपालमा उद्यमशीलताको पढाइ तथा नेपालको शिक्षाको स्तरवृद्धिका लागि गर्नुपर्ने कार्यका बारेमा कारोबारले गरेको कुराकानीको सार:
विभिन्न विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर अध्यापन गराइरहेका कलेजहरूको संख्या नेपालमा हाल बढिरहेको अवस्थामा पनि बर्सेनि उल्लेख्य संख्यामा विद्यार्थीहरू पढ्नकै लागि विदेश गइरहेका छन् । यसको कारण के होला ? कसरी यो प्रवृत्तिलाई कम गर्न सकिन्छ ?
पहिलो कुरा त के भने विद्यार्थीहरू पढ्नका लागि बाहिरिनुलाई समस्याकै रूपमा लिनुपर्ने अवस्था म मान्दिनँ । फरक शैक्षिक परिवेशमा गएर अध्ययन गरेका हाम्रा विद्यार्थी भाइबहिनीहरूमा विश्वव्यापी दृष्टिकोण, फरक बुझाइ र व्यापक सांस्कृतिक तथा भौगोलिक बुझाइको विकास हुने गर्छ भने विश्वव्यापीकरणको आजको दिनमा हामीले उनीहरूलाई देशभित्रै पढ भनेर लाद्न पनि मिल्दैन । खुला विश्व मञ्चमा नेपाली विद्यार्थीहरू पनि अरूभन्दा कम छैनन् भनेर प्रमाणित गर्ने अवसरका रूपमा पनि यसलाई हेर्नु जरुरी छ । आजको पुस्ताले परिवर्तनको चाहना राख्नु स्वाभाविक पनि हो भने अर्कातर्फ मैले अघि पनि भनेँ, हामी आजको दिनमा पनि प्रतिशत, श्रेणी, परीक्षा तथा अंकभन्दा माथि उठ्न सकिरहेका छैनौ । उता विश्वले हरेक विद्यार्थीको पृथक्ता, उसको विशेष क्षमता र उसले ल्याउन सक्ने नयाँपनमा जोड दिइरहेको छ । त्यसैले नेपाली विद्यार्थीहरूले विदेशी शैक्षिक संस्थामा अध्ययन गरेर आफूलाई परिष्कृत गर्न खोज्नु सकारात्मक कुरा हो । यहाँ मूल समस्या विद्यार्थीहरू बाहिरिनु होइन, बरु बाहिरिएकाहरूलाई आफ्नै देशमा फिर्ता ल्याउन नसक्नुचाहिँ समस्या हो । यसका लागि राज्यले उपयुक्त वातावरण तयार गर्नु जरुरी छ । उनीहरूको ज्ञान, सीप र अनुभवको सम्मान गर्दै उनीहरूलाई काम गर्ने उपयुक्त परिस्थितिको निर्माण गर्नु जरुरी छ ।
यस्तै, पछिल्लो समयमा उल्लेख्य संख्यामा कलेजहरूले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमै पाठ्यक्रम सञ्चालन गरेका छन् । यो प्रथा किन मौलाइरहेको होला ?
हामी सबैलाई थाहा छ कि हाम्रो शैक्षिक प्रणाली अझै पनि परम्परागत ढर्रामा चलिरहेको छ, जसले घोकन्ते शिक्षा र परिणाममा सकेसम्म बढी अंक भन्ने मान्यतालाई प्रश्रय दिइरहेको छ । हाम्रो पाठ्यक्रमले सिक्ने र अभ्यास गर्ने बानीलाई कहिल्यै प्रोत्साहन गरेन । यसैगरी हाम्रो देशको उच्च शिक्षा प्रणालीले राजनीतिक भेष धारणा गरेको तथ्य पनि हामीबाट लुक्न सकेको छैन । स्पष्ट रूपमा देख्न सकिन्छ कि विद्यार्थीहरूले चाहना गरेका र पाइरहेका शिक्षामा विशाल अन्तर छ, तर आजको पुस्ता यथास्थिति मान्ने पक्षमा छैनन् । उनीहरू विश्वव्यापी एक्सपोजर, आधुनिक करिकुलम, वैज्ञानिक मूल्यांकन र सुधारिएको सिकाइ विधि खोजिरहेका छन्, जसका कारण उनीहरूको चासो तथा रुचि अन्तर्राष्ट्रिय डिग्रीप्रति रहेको छ । त्यसो त उच्च चेतना, सूचना प्रविधि तथा इन्टरनेटका कारण आजका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू, तिनीहरूको स्थान तथा ख्याति, सम्बन्धन र विश्वसनीयतालगायतको तुलना आफंै गर्न सक्छन् । आजका विद्यार्थीहरूले आफूलाई परिष्कृत गरी विश्वव्यापी शिक्षा हासिल गरी ग्लोबल सिटिजन्स बन्न चाहिरहेका छन्, जसका कारण पनि नेपालमा विदेशी डिग्री प्रदान गर्ने कलेजहरूको संख्या बढ्न गएको हो ।
तर, विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर अध्यापन गराउने कलेजहरूले विद्यार्थी तथा राष्ट्रलाई कसरी लाभ दिन्छन् ?
सबैभन्दा प्रमुख फाइदा भनेको यस्ता कलेजको उपस्थितिका कारण नेपाली विद्यार्थीहरूले पढ्नैका लागि मात्र देश छाडेर जानु पर्दैन । आफ्नै घरमा बसेरै उनीहरूले संसारका विभिन्न ख्यातिप्राप्त विश्वविद्यालयको कोर्स पढ्न र डिग्री हासिल गर्न पाउँछन्, जसका कारण नेपाली विद्यार्थीको क्षमतामा सुधार आई कुनै पनि राष्ट्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको सिर्जना हुन सक्छ । हामीले विदेशी विश्वविद्यालयको सम्बन्धनमा पढाइरहेको कोर्सले केही न केही रूपमा यहाँको पाठ्यक्रममा पनि सुधार ल्याउन घचघचाउँछ जस्तो लाग्छ । राष्ट्रलाई हुने फाइदाको कुरा गर्ने हो भने यस्ता कलेजका कारण नेपाली विद्यार्थीहरूले विदेश जाँदा र विदेशका विश्वविद्यालयहरूलाई तिर्ने शूल्कलगायत गरी बर्सेनि करोडांै रुपैयाँ जोगिएको छ ।
नेपालको शिक्षालाई विश्वव्यापी स्तरमा स्वीकार्य बनाउन के गर्नुपर्ला ?
विश्वव्यापी स्तरमा मान्यताप्राप्त निकायहरूसँगको सम्मानले हामीलाई विश्वब्यापी पहिचान दिलाउँछ । खासमा हामीसँग विश्वव्यापी लक्ष्य लिने आँटको खाँचो छ, जसका लागि हामीले पूर्वाधारमा लगानी, विश्वव्यापी रूपमा मान्यताप्राप्त शिक्षकको विकास, गुणस्तरीय अनुसन्धानमा लगानी, सञ्चालनमा निष्ठा एवं नैतिकता, समाज सान्दर्भिक पाठ्यक्रमको विकास र उद्योगहरूसँगको सहकार्य लगायत गर्न जरुरी छ ।
स्वदेश तथा विदेशमा औपचारिक शैक्षिक डिग्री हासिल नगरेका कैयौ मानिसले उद्योग, व्यापार तथा उद्यमशीलताको क्षेत्रमा निकै ठूलो सफलता हासिल गरिरहेका छन् । नेपालमा पनि उद्योगी बनाउने प्रकारका शिक्षा दिइने भन्ने विज्ञापन देखिन्छ । पढाएर उद्योगी बनाउन सकिन्छ ?
पक्कै पनि औपचारिक पठनपाठनबिना नै पनि कैयांै सफल उद्योगी तथा उद्यमी भएका छन् । तथापि एउटा शैक्षिक संस्थाका रूपमा हामीलाई के विश्वास छ भने औपचारिक अध्ययनले अवसरका धेरै बाटाहरू खोल्न सक्छ, जस्तो कि फन्डिङ, नेटवर्किङ र सपोर्ट सिस्टम, जसले उद्यमीहरूलाई आफ्नो व्यवसायको प्रवद्र्धन तथा विस्तारमा निकै ठूलो सहयोग पु¥याउन सक्छ । यी र यस्ता अन्य विविध अवसरहरूमाथि औपचारिक शिक्षा हासिल नगरेकाहरूको पहुँच नहुन सक्छ । तपाईंले भनेझैँ राज्यका तर्फबाट त्यति ठूलो लगानी हुँदा पनि यस क्षेत्रमा खासै सुधार हुन सकेको छैन । यसको सबैभन्दा ठूलो दोषी भनेको हाम्रो करिकुलम नै हो । दुर्भाग्यवश आधुनिक तथा सुदृढ पाठ्यक्रमको अभावमा हाम्रो शैक्षिक क्षेत्र औद्योगिक ढाँचामा सञ्चालन हुने गरेको छ, जसको एक मात्र उद्देश्य हरेक वर्ष उद्यमशील सोचबिनाका ग्राजुएटहरूको उत्पादन गर्नु हो ।
पछिल्लो समय निजी क्षेत्रको लगानीसँगै शिक्षाको गुणस्तर बढे पनि चर्को शूल्कका कारण शिक्षा आमनागरिकको पहुँचभन्दा बाहिर गएको छ । यसलाई कसरी सन्तुलित गर्न सकिएला ?
वास्तवमा शिक्षामा निजी क्षेत्रबाट लगानी आउनु निकै राम्रो कुरा हो । तथापि न्यून शूल्कमा गुणस्तरीय शिक्षा हासिल गर्नु भनेको अधिकांश नेपालीका लागि अझै पनि सपनाझैँ छ । तर, एकातिर निजी क्षेत्रको आक्रामक लगानी आउनु अर्कातिर सरकारी क्षेत्र उदासीन हुनुले समस्यालाई थप चर्काएको छ । न्यून शूल्कमा समग्र गुणस्तर बढाउनका लागि सम्बन्धित निकायको लगानी तथा अन्य प्रक्रियाहरूमा सहभागिता बढ्नु जरूरी छ । यसका लागि मलाई लाग्छ, पब्लिक प्राइभेट साझेदारी मोडलमा जानु जरुरी छ, जसअन्तर्गत सरकार तथा निजी क्षेत्रले समान लगानी गरी शुल्क र गुणस्तरको सवालमा उत्तिकै उत्तरदायित्व पूरा गर्न सक्छन् ।
शिक्षा व्यवसाय हो वा सेवा ?
मलाई लाग्छ, यसलाई विभिन्न दृष्टिकोणबाट हेर्नुपर्छ । कुनै पनि संस्था सञ्चालन हुनका लागि आर्थिक स्रोतको आवश्यकता पर्छ । सरकारी शैक्षिक संस्थाहरू हामीले तिरेको करबाट चल्छन् भने निजी संस्थाहरू आफूलाई अस्तित्वमा राख्नका लागि स्रोत जुटाउन बाध्य हुन्छन्; तसर्थ चाहे त्यो कलेज होस् वा अस्पताल, यदि निजी क्षेत्रद्वारा सञ्चालित संस्था हो भने सेवा हासिल गर्ने व्यक्तिहरूबाट शुल्क उठाएर आफ्नो सञ्चालनलाई कायम राख्ने हो ।
किंग्समा हामी कलेजलाई सञ्चालनमा राख्न, शिक्षाको गुणस्तरलाई सुधार गर्न, विद्यार्थीको हितलाई सघाउन र वृद्धिको गतिलाई बढाउन स्रोतको सिर्जना गर्ने गरेका छौ ।
नेपालको सर्वाङ्गीण विकासका लागि कस्तो शिक्षाको आवश्यकता छ ?
समाधानको सीप र रचनात्मकतालाई प्रवद्र्धन गर्ने किसिमको प्राविधिक पाठ्यक्रममा ध्यान दिनु जरुरी छ । हाम्रो शिक्षा विद्यार्थीहरूलाई स्थानीय समस्या पहिचान गर्न र सोका लागि इनोभेटिभ समाधान निकाल्न सक्षम बनाउने खालको हुनुपर्छ, जसका लागि हाम्रा विश्वविद्यालय तथा कलेजहरूले ज्ञानको सिर्जनामा लगानी गर्नुपर्छ । यतिले मात्र पुग्दैन । अनियन्त्रित गलत अभ्यासहरूलाई नियन्त्रण गर्ने तथा समग्र शैक्षिक क्षेत्रको अवस्थाको अनुगमन गर्ने स्वतन्त्र संस्थाको खाँचो छ ।
आजको दिनमा किंग्स कलेजको मुख्य ध्यान केमा केन्द्रित रहेको छ ? देशको अग्रणी शैक्षिक संस्थाका रूपमा कलेजले खासगरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यलाई कसरी सुधार गरेर लगिरहेको छ ?
शैक्षिक संस्थाका रूपमा हाम्रो कलेजको एकमात्र एजेन्डा छ, शिक्षा र उद्यमशीलताद्वारा समाज र राष्ट्रको रूपान्तरण । यसो भनिरहँदा राष्ट्रको समग्र शैक्षिक प्रणालीमै महत्वपूर्ण सुधार गरिनुपर्ने आवश्यकतालाई पनि हामीले मध्यनजर गरेका छौ । यहाँको शैक्षिक प्रणाली आज पनि अवैज्ञानिक मूल्यांकन, कक्षाकोठामा सीमित अध्ययन–अध्यापन, व्यावहारिक अभ्यासको अभाव, शिक्षककेन्द्रित शिक्षण विधि र परम्परागत पाठ्यक्रममा निर्भर रहेको छ । त्यसो त लामो समयदेखि हामीले हाम्रो शैक्षिक प्रणालीमा रहेका कमी–कमजोरीबारे टीकाटिप्पणी गर्रिरहेउ , तर सुधारको दिशामा आफूलाई अग्रसर गराउन चुकायौ ।
यहाँ किंग्समा रहेर हामीले हाम्रो तर्फ र क्षमताबाट शिक्षण प्रणालीमा प्रचलित मूल्य–मान्यता एवं मापदण्डलाई चुनौती दिने काम गरिरहेका छौ ।
आइन्सटाइनले भनेका छन्, एउटै काम एकै तरिकाले बारम्बार गरिरहेर फरक–फरक परिणामको आशा गर्नु मुर्खता हो । सोहीअनुसार हामीले पनि हाम्रो शिक्षण दर्शन र परम्परागत शैक्षिक विधिलाई परिवर्तन नगरी गुणस्तरीय शिक्षाको सपना देख्नु हाम्रो मुर्खता हुन जान्छ ।
विद्यार्थीहरूले सिकेको कुरालाई ज्ञानको स्तरमा सीमित राख्दासम्म र जानेको कुरालाई व्यवहारमा लागू नगर्दासम्म अर्थपूर्ण सिकाइ हुन सक्दैन भन्ने हाम्रो बुझाइ हो । सिकाइ कक्षाकोठा, पुस्तक–पुस्तिका एवं परीक्षा मात्रै होइन, हाम्रो लागि सिकाइ भनेको त वास्तविक जीवनका समस्याहरूको समाधानको खोजी तथा इनोभेसनको विकास हो । प्रगतिशील शिक्षा दर्शनद्वारा मार्गनिर्देशित भएर सिकाइ सामाजिक सिर्जना हो र कक्षाकोठाको चार भित्ताभन्दा बाहिरको सामाजिक यथार्थतासँग विद्यार्थी तथा उनीहरूको ज्ञान नगाँसिँदासम्म उत्कृष्ट सिकाइ हुन सक्दैन भन्ने हाम्रो मान्यता रहिआएको छ ।
सो हासिल गर्नका लागि हामीलाई वास्तवमै बलियो शैक्षिक संरचनाको आवश्यकता थियो, जसका कारण हामीले अमेरिकाको मान्यताप्राप्त वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन हासिल गरेका हांै । सम्बन्धन प्राप्तिसँगै हामीले विद्यार्थीहरूमा विश्लेषणमा आधारित सोच्ने क्षमताको विकास गरी उनीहरूलाई समस्याको रचनात्मक समाधान गर्न सिकाउने खालको चुनौतीपूर्ण पाठ्यक्रमको कार्यान्वयन गरिरहेका छांै । अनुसन्धानमा आधारित पठनपाठन तथा थप आधुनिक तथा वैज्ञानिक मूल्यांकनमा जोड दिँदै गुणस्तरीय शिक्षाका लागि विश्वस्तरमा तयार गरिएको मापदण्डलाई हामीले पूर्ण रूपमा पालना गरिरहेका छांै । यसै कारण हाम्रा विद्यार्थीहरूमा रचनात्मक, विश्लेषणात्मक र साझेदारीमा काम गर्ने क्षमताको विकास भएको हामीले पाएका छौ ।
कलेजले उद्यमशीलताको विकासमा पनि निकै जोड दिइरहेको छ । के देशको आजको आवश्यकता उद्यमशीलताको विकास नै हो ?
हामीले त्यसो भन्न खोजेका होइनांै । सम्पूर्ण राष्ट्रको विकासका लागि सबै क्षेत्र उत्तिकै सशक्त हुनु जरुरी छ । तर, तपार्इंले सूक्ष्म रूपमा हेर्नुहुन्छ भने उद्यमशीलता भनेकै समस्याको सहज, कम खर्चिलो तथा रचनात्मक समाधानको खोजी हो । यस दृष्टिकोणबाट हेर्ने हो भने त्यस्ता निकै कम क्षेत्र होलान्, जहाँ उद्यमशीलताको उपस्थिति नहोस् । मलाई लाग्छ, हामीले ‘उद्यमशीलता’ शब्दलाई अलि व्यापारिक रूपमा बुझयौ । त्यसैले हामी आजकाल सामाजिक उद्यमशीलता पनि भन्न थालेका छौ । चाहे त्यो व्यापारको क्षेत्र होस् वा सामाजिक क्षेत्र नै किन नहोस्, हामीले उद्यमशीलताको प्रवद्र्धन सबै क्षेत्रमा गर्नुपर्छ भनेका हौ । किनकि उद्यमशीलता भनेको कुनै पनि समस्यामा दिगो तथा रचनात्मक समाधान र यथास्थितिमा नयाँपन ल्याउने कला हो । उद्यमशीलताको क्षेत्रमा विकास गर्न सकियो भने यसको सकारात्मक प्रभाव अन्य सबै क्षेत्रमा स्वाभाविक रूपमा देख्न सकिन्छ ।
देशमा लगानीको वातावरण कमजोर भएको हालको अवस्थामा तपाईंहरूले भने उद्यमशीलतामा जोड दिइराख्नुभएको छ । कतै यसले समस्यालाई थप बल्झाउने पो हो कि ?
दीर्घकालसम्मको राजनीतिक गतिरोध, भौतिक पूर्वाधारको अभाव, ऊर्जा तथा अन्य विविध तŒवहरूले नेपालको लगानीको क्षेत्रलाई कमजोर बनाएको कुरामा म पनि सहमत छु । तर, यिनै समस्याहरू सम्झेर बसिरहने हो भने हामी कतै पुग्न सक्दैनांै । त्यसो त मैले भनेँ नि, उद्यमशीलता भनेकै रचनात्मक समाधानको खोजी हो । जति धेरै समस्या त्यति धेरै समाधानको आवश्यकता । र अर्को कुरा, उद्यमशीलताको जननी भनेकै प्रचलित समस्याहरू हुन् । त्यसकारण उद्यमीहरूले कति धेरै लगानी गरे होइन कि कति होसियारीपूर्वक लगानी गरे भन्ने हो । उद्यमीहरूले ल्याउने नयाँपन अर्थात् इनोभेसन नै उद्यमशीलताको सार हो । यदि अहिले देशमा व्यापार र लगानीको अवस्था प्रतिकूल छ भने अहिले नै उत्कृष्ट समय हो— हामीले उद्यमशीलताको सक्दो प्रवद्र्धन गर्ने ।
बिजनेश स्कुलका रूपमा तपाईंहरूले देश विकासका लागि कस्तो स्वरूपको उद्यमशीलताको कल्पना गरिरहनुभएको छ ?
हामीलाई थाहा छ, नेपाल स्रोत–साधनले सम्पन्न भए पनि सामाजिक–आर्थिक चुनौतीहरूले ग्रसित छ । यति धेरै सम्भावना हुँदाहुँदै पनि बेरोजगारीको समस्या विकराल छ । अर्कातिर चालू अधिकांश व्यवसायहरू सामाजिक हित तथा सामाजिक एवं आर्थिक समस्याको समाधान खोज्नभन्दा पनि नाफा बढाउन तल्लीन छन् । तसर्थ, हामीले किंग्समा कल्पना गरेको नेपालका लागि उत्कृष्ट उद्यमशीलताको नमुना भनेको मार्केट सोलुसनद्वारा समाजको आवश्यकतालाई पूर्ति गर्न सक्ने बिजनेस मोडल हो । यसले उद्यमी, लगानीकर्ता, समाज र सम्बन्धित सबै सरोकारवालाका लागि विन विनको अवस्था सिर्जना गर्न सक्छ भने यसले हाम्रो वैदेशिक सहायताप्रतिको निर्भरता कम गर्छ । प्रोफेसर मोहम्मद युनुसले प्रतिपादन गरेको यो मोडल हाम्रै छिमेकी राष्ट्र बंगलादेशमा पनि सफल साबित भइसकेको छ । यस्तै खाले उद्यमशीलतालाई नेपालमा प्रवद्र्धन गर्नका लागि हामीले किंग्स कलेजमा युनुस सामाजिक उद्यमशीलता केन्द्रको पनि स्थापना गरेका छांै ।