Logo

वित्त आयोगमा पौडेल, समावेशीमा सुवेदी

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पूर्वसचिव बालानन्द पौडेलको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषद्को आइतबारको बैठकले पौडेललाई वित्त आयोग अध्यक्षमा सिफारिस गरेको हो । पुस मसान्तभित्रै आयोग गठन गर्ने बताएको सरकारले एकसाता ढिला गरी विभिन्न आयोगमा अध्यक्षको नियुक्ति गरेको हो । पौडेल यसअघि नै स्थानीय राज्य पुनर्संरचना आयोगका अध्यक्ष भएर काम गरिसकेका छन् । आयोगले एक वर्षदेखि सचिवालय गठन गरेर काम गर्दै आए पनि आयोगमा पदाधिकारी नियुक्त नहुँदा आयोगका काम कारबाही अघि बढ्न सकेका थिएनन् । जसका कारणले स्थानीय र प्रादेशिक संरचनाको निर्माण, समन्वय, राजस्व तथा करका विषयमा विवादहरू चुलिँदै आएका थिए । बैठकले वित्त आयोगको अध्यक्षका दावेदार रहेका डा. शान्तराज सुवेदीलाई भने समावेशी आयोगको अध्यक्षमा सिफारिस गरेको छ । सुवेदी अर्थसचिव भइसकेका छन् । उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि सचिव भएका थिए भने पहिलो संघीय बजेटका सुत्राधार समेत हुन् । यसैगरी मधेशी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई अध्यक्षका लागि सिफारिस गरिएको छ । सिफारिस गरिएका सबै अध्यक्षहरूले संसदीय सुनुवाईको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्