१७ लाखको कल्भर्ट सात दिनमा बन्यो ९ दिनपछि भत्कियो

सधैं सुशासनका भाषण गरेर नथाक्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले योजना सम्पन्न नगरिकन रकम निकासा गरिदिएको खुलासा भएको छ । मोरङको उर्लाबारी–१ मेचेडाँगीमा निर्माण भएको कल्भर्ट निर्माण सम्पन्न नभई गत असार २४ गते आएको बाढीले भत्कायो । असार ७ गते सम्झौता भएर १५ गते निर्माण सम्पन्न भएको कल्भर्ट गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाएको स्थानीयको भनाइ छ ।
मेचेडाँगीबाट १ नम्बर वडा कार्यालय जाने सडकको विकासे पैनीमा निर्माण भएको कल्भर्ट यति बेला दुवैतर्फको सडकसँग सम्पर्कविहीन बनेको छ । उपमेयर लक्ष्मीदेवी भण्डारीले कल्भर्टको अनुगमन गरेर रकम निकासा रोक्ने प्रयास गरे पनि मेयर फागोसँग निकट निर्माण कम्पनी भएकाले निकासा नरोकिएको बताइएको छ ।
मध्य वर्खायाममा कल्भर्ट निर्माण नगर्ने स्थानीय बासिन्दाको अनुरोधलाई बेवास्ता गर्दै नगरपालिकाले काम सुरु गरेको स्थानीय नरेन्द्र पौडेलले बताउनु भयो । उनले भने, ‘बर्खामास काम गर्न सकिन्न । छिनको छिनमा बाढी आउँछ । विगतमा पनि बाढीले कल्भर्ट बगाएपछि नगरले यो वर्ष बिग्रेको कल्भर्ट निर्माण योजना भनेर कल्भर्ट निर्माणको ठेक्का लगाएको हो । कल्भर्ट निर्माण गर्दा ठेकदारले जमीन मुनि ४ फिट पनि आरसीसी नगरेको स्थानीयको भनाइ छ । कल्भर्ट जमिनमाथि टक्रक्क राखिएको छ । दुई सुताका रड लगाएर कल्भर्टको पङ्खा जोडिएको छ । स्थानीयले भने ठेकदारसँग हामीले राम्रो काम गरिदिनु भनेर याचना ग¥यौं । तर, हामीलाई उल्टो थर्काए ।’
कल्भर्ट १७ लाख ३५ हजार ६५९ रुपैयाँ ६२ पैसामा अग्नि एण्ड सन्स निर्माण सेवा प्रालि कन्काई ३ झापाले निर्माण गरेको हो । नगरको आयोजना बोर्डमा उल्लेख भएअनुसार २०७८ को असार ७ गते योजनाको सम्झौता भएको हो । सात दिन अर्थात असार १५ गते योजना सम्पन्न भएको थियो । योजना सम्पन्न भएको ९ दिनपछि असार २४ गते राति आएको बाढीले कल्भर्ट भत्काएको छ ।कल्भर्र्टको दुवै तर्फको सडकको भाग बगेपछि अहिले सो सडक अबरुद्ध भएको छ ।
सात दिनमा कल्भर्ट बनाए पनि निर्माण कम्पनीले नगरबाट पैसा लगेको नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताए । भण्डारीका अनुसार जति काम भएको छ । त्यतिको मात्र पैसा दिइएको हो । बाँकी काम गर्न असोज मसान्तसम्म म्याद थपि पैसा दिइएको उहाँले बताए । तर, नगरपालिका स्रोतका अनुसार ३० हजार रुपैयाँ मात्र ठेकदारले लान बाँकी छ । कल्भर्ट निर्माण सम्पन्न गर्न अझै ३ लाख बढी रकम आवश्यक पर्ने स्थानीय बासिन्दाको भनाइ छ ।
उता सोही वडाको हिले डाँगीमा निर्माण भएको अर्को कल्भर्ट निर्माण सम्पन्न नहुँदै भत्किएको छ । मध्यवर्खामा छिटोछिटो काम गर्दै बजेट सक्ने परिपाटीले उर्लाबारीका अधिकांश योजना सम्पन्न हुन नसकेको उप प्रमुख भण्डारीले बताउनु भयो । उनले भने, “धेरैजसो योजनाको म्याद असोज मसान्तसम्म थपिएको छ । अनुगमन गरेर भएको कामको मात्र पैसा दिएका छौं उनले भने । गत आर्थिक वर्षमा नगरको गौरवको आयोजना भनेर घोषणा गरिएका दुईवटै आयोजनाको काम सुरुसम्म हुन सकेन । नगरमा जताततै नीतिगत भ्रष्चार छ ।’ अनि मेयर भन्छन्, ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिने छैन ? काम नै सम्पन्न नगरि अग्रिम पैसा भुक्तान दिनु भ्रष्टाचार हो कि होइन मेयर साव ?’