विद्यालय बन्द गर्नुको विकल्प छैन
कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियण्ट नेपालमा पनि देखापरिसकेको छ । दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण मासिक ११ हजारसम्म पुग्ने प्रक्षेपण गरेको छ । छिमेकी देश भारतमा बढ्दो क्रममा रहेको कोरोना संक्रमणको नेपालमा पनि प्रभाव देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको संक्रमण युवा र बालबालिकामा बढी देखिएको छ । विद्यालय र कलेजमा अध्ययन गर्ने विद्यार्थीमा समेत कोरोना संक्रमण देखिन थालेपछि अहिले शैक्षिक संस्थाहरू कोरोना संक्रमणको उच्चजोखिममा छन् । स्वास्थ्य मन्त्रालयले विद्यालयहरू बन्द गर्न सिफारिस गरे पनि शिक्षा मन्त्रालयले भने अहिले दुई चरणमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ । संस्थागत विद्यालयले विद्यालय बन्द गर्न नहुने बताइरहेका छन् । सरकारले पनि विद्यालय बन्द गर्न निजी विद्यालयहरूलाई निर्देशन दिन नसकेर अभिभावकलाई विद्यालयमा बालबालिका नपठाउन अपिलमात्रै गरेको छ । सामुदायिक विद्यालय भने स्थानीय तहको सरकारको निर्णयको पर्खाइमा छन् । कतिपय सामुदायिक विद्यालय गत वर्ष कोरोना संक्रमित राख्नका लागि आइसोलेसन सेन्टरसमेत बनाइएको थियो । त्यसको नोक्सानीको भर्पाइ सरकारले अझै नगरेको गुनासा आएका छन् । कोरोनाको उच्चजोखिममा रहेका शैक्षिक संस्थाहरू कसरी सञ्चालन हँुदैछ ? विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कारोबारकर्मीहरूले गरेको कुराकानीको सार :
विद्यार्थीलाई बिदा दिने तयारीमा छौं
हरेन्द्र कुर्मी
प्रधानाध्यापक, त्रिजुद्ध मावि, वीरगन्ज
गतवर्ष कोरोना संक्रमण उच्चविन्दुमा पुगेपछि हाम्रो विद्यालय कोरोना संक्रमित राख्ने आइसोलेसन सेन्टर बनाइयो । त्यसपछि कोरोनाको अवस्था सामान्य भएपछि निर्मलीकरण गरेर विद्यालय सञ्चालनमा ल्यायौं । हामीले पहिले पनि जुन अवस्थामा विद्यालय सञ्चालन गरिरहेका थियौं त्यसरी नै सञ्चालन गरिरहेका छौं । तर, अब जोखिम झन बढ्दै गएको छ । अझ योभन्दा विद्यार्थी संक्रमणको जोखिममा पर्ने अवस्था पनि छ । नेपाल सरकारको केही निर्णय आएको छैन । कोरोनाविरुद्धको खोप (भ्याक्सिन) पनि चलिरहेको छ । अग्रपंक्तिमा शिक्षक पनि खटिएका थिए । तर, शिक्षकहरूले कोरोनाविरुद्धको खोप लगाउन पाएनन् । विद्यालयमा सावधानी अपनाउनका लागि साबुन पानीले हात धुने, सेनिटाइजिङ मेसिनसमेत राखिएको छ । अब विद्यालय खोल्ने र नखोल्ने भन्ने विषयमा हामी मन्त्रालयको निर्णयको पर्खाइमा छौं । शिक्षा मन्त्रालयले दुई सिफ्टमा कक्षा सञ्चालन गर्नु भनेको छ । दुई सिफ्ट त हाम्रो पहिलेदेखि नै चलिरहेको छ । विद्यालयमा भीड उस्तै हुन्छ । कटौती गर्न सकिँदैन । दुईलाई चार सिफ्ट त गर्न सकिँदैन । भौतिक पूर्वाधार र जनशक्ति पनि छैन । कक्षा कोठा पनि अभाव छ । शिक्षाको गुणस्तर पनि दिनुपर्ने हुन्छ । यो सबै सम्भव छैन । कोरोना भाइरस फैलिन नदिन विद्यालय बन्द गर्नुको विकल्प छैन । अब एक सातासम्म पर्खिन्छु । सरकारको निर्देशन आएन भने मानसिक रूपमा कक्षा ५ सम्मका विद्यार्थीलाई बिदा दिने तयारीमा छु । स्थानीय तहले आर्थिक सहयोग गरेर जनशक्ति उपलब्ध गराई दिए सञ्चालनमा केही सहजता आउला । सामुदायिक विद्यालयले विगतको कोरोना कालमा भोगेको अवस्था अहिले पनि ताजा नै छ । विद्यालयमा धेरै नोक्सानी भयो । त्यसको भर्पाइ कतै भएन । वीरगन्ज महानगरपालिका र संघीय र प्रदेश सरकारले पनि केही गरेन । शिक्षक कर्मचारी पनि कोरोना संक्रमित भए म आफै पनि कोरोनाको शिकार भएँ । त्यसैले अब विद्यालय बन्द गर्नुको अर्को विकल्प केही छैन ।
‘हटस्पट’ हुन लागेको वीरगन्जमा सामान्य अवस्थामै विद्यालय चलेका छन्
विनोद मेहेता
प्रधानाध्यापक, नृसिंह मावि, वीरगन्ज
कोरोना भाइरस संक्रमणको समस्या हेर्दा विचित्रको अवस्था छ । विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न भनिए पनि त्यो अवस्था छैन । विद्यालयमा विद्यार्थीको चाप छ । सरकारले दुई सिफ्टमा कक्षा सञ्चालन गर्न भने पनि विद्यालयमा शिक्षकहरूले समय दिनसक्ने अवस्था छैन । यसअघि कोरोना महामारीको संकटमा शिक्षा मन्त्रालयले बनाएको एउटा कार्यविधि पनि आयो । त्यो कार्यविधि अनुसार कुनै पनि विद्यालयमा प्रभावकारी कार्यान्वयन भएन । कार्यविधि अनुसार शिक्षण सिकाइ सबैको पहुँचमा पुग्न सकेन । त्यसैले त्यो कार्यविधि कार्यान्वयन सम्भव भएन । अहिले फेरि कोरोना महामारीको उच्च जोखिम छ । सरकारले १४ वटा जिल्लालाई कोरोना संक्रमणको उच्चजोखिममा राखेको छ । विद्यालयलाई अन्तिम परीक्षा नजिक आएकाले परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । एकातिर कोरोना संक्रमणको जोखिम अर्कोतर्फ विद्यार्थीको भविष्यसँग जोडिएको विषय पनि भएकाले चुनौती आइपरेको छ । जीवन र भविष्यको कुरा छ । यसको ठोस निर्णय लिने कुरा नेपाल सरकार र स्थानीय सरकार कै हो । महानगरपालिकाको कुरा बुभ्mदा परीक्षा लिएर विद्यालय बन्द गर्ने भनेको छ । वैशाख २० गतेसम्ममा विद्यालयको परीक्षा सम्पन्न गर्ने भनेको छ । तर, त्यो समयसम्म फेरि संक्रमण फैलियो र अवस्था भयावह होला भन्ने अर्को चिन्ता छ । इमान्दारिपूर्वक भन्दा अहिले कोरोनाको हटस्पट हुन लागेको वीरगन्जमा सामान्य अवस्थामा नै विद्यालय सञ्चालनमा छन् । विद्यालयमा सामाजिक, भौतिक दूरी, मास्क, सेनिटाइजर, साबुनपानीले हात धुने कुरा खासै प्रभावकारी देखिएको छैन । त्यसैले अब विद्यालय बन्द गर्दा नै उचित होला । जीवन रह्यो भने बाँकी ढिलो चाँडो प्राप्त गर्न सकिएला, जीवन नै नरहे अन्य कुराको के अर्थ रह्यो र ! यो अवस्थालाई हेरेर स्वास्थ्य मन्त्रालयले पनि आफ्नो अध्ययन प्रस्तुत गरेको छ । एउटा ठोस निर्णय लिनुपर्ने आवश्यकता देखिन्छ । प्रस्तुति ः निरज पीठाकोटे
महानगरको निर्णय पर्खेर बसेका छौं
खेमराज भट्टराई
प्रधानाध्यापक, पोखरिया उच्च मावि, विराटनगर
विराटनगरमा कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै गएको छ । केही महिना शून्यमा झरेको थियो संक्रमण । तर, पछिल्लो समय संक्रमणको दर बढ्दा अभिभावक र विद्यार्थीमा त्रास फैलिएको छ । केही विद्यालयका शिक्षकमा पनि कोभिड भेटिएको छ । जसले गर्दा झनै जोखिम बढेको हामीले महसुस गरेका छौं । यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्नु उचित होइन भनेर अभिभावकहरूबाटै सुझाव आउन थालेको छ । अहिलेसम्म हामीले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिरहेका छौं । सरकारले नै मोरङलाई कोभिडबाट अतिप्रभावित जिल्लाको सूचीमा राखिसकेको छ । मोरङको सबैभन्दा बढी संक्रमित विराटनगरमै छन् । जसले गर्दा विराटनगर कोरोनाको हर्ट स्पट बन्दै गएको छ । विद्यालय बन्द गर्ने नगर्ने भनेर हामी महानगरापालिकाको निर्णय पर्खिरहेका छौं । महानगरले पक्कै पनि केही दिनमा विद्यालय बन्दको निर्णय गर्नेछ । हामीले भोलिदेखि नै एक साताका लागि अध्ययन बिदा दिने तयारीमा जुटेका छौं । एक सातापछि परीक्षा सञ्चालन गर्ने तयारी गरेका छौं । परीक्षा सञ्चालन गर्दा जोखिम त्यति हुँदैन । किन भनेर भौतिक दूरी कायम गर्न सकिन्छ । बरु एक सातामा सक्ने परीक्षालाई दुई सातासम्म लम्ब्याउन सकिन्छ । विद्यार्थीहरूको भीडभाड नगरिकन परीक्षा सञ्चालन गर्ने तयारीमा छौं । संघीय सरकारले स्थानीय सरकारलाई कोभिडको जोखिम हेरेर विद्यालय बन्द गर्ने अधिकार दिएको छ । त्यही भएर महानगरले स्थानीय सरोकारवालासँग छलफल गरिरहेको छ । शुक्रबार पनि विभिन्न सरोकारवालासँग छलफल भएको थियो । छलफलमा सहभागी सबैले विद्यालय बन्द गर्न सुझाव दिएका छन् । स्वास्थ्यभन्दा पढाइ ठूलो होइन । अहिलेको अवस्थामा परीक्षाको स्वास्थ्य सुरक्षाप्रति विद्यालय गम्भीर छ । सबै किसिमका स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षासम्म चाहिँं सञ्चालन गर्ने कि भन्नेमा हामी छौं । प्रस्तुति ः मीनकुमार नवोदित
संक्रमण बढ्दै गए शैक्षिक सत्र अन्त्य गर्नु नै उपयुक्त
प्रकाश आचार्य
प्रधानाध्यापक, आदर्श माध्यमिक विद्यालय, बाँके
यतिबेला कोरोनाको दोस्रो श्रृंखला बढदोक्रममा देखिएको छ । यो स्थितिमा विद्यालय बन्द हुने अवस्था आउने हो भने हाम्रोमा त अनलाइन कक्षाबाहेक अरु विकल्प देखिँदैन र अनलाइन पनि माथिल्लो कक्षामा मात्रै सम्भव छ । हामी कहाँको स्थितिमा कक्षा आठदेखि माथिमात्रै अनलाइन कक्षा सम्चालन गर्न सम्भव छ । अन्य सबै विद्यालयको अवस्था त्यस्तो छैन । त्यसले गर्दा अहिलेको अवस्थासम्म जे जति पठनपाठन भएको छ । पाठ्यक्रमभित्र तोकिएका विषयवस्तुलाई आधार मानेर परीक्षा लिन सक्ने अवस्था बन्छ भने कुनै समय मिलाएर परीक्षा लिने र शैक्षिक सत्रको अन्त्य गर्नुबाहेक अरु विकल्प देखिँदैन । हाम्रो विद्यालयको स्थिति के छ भने करिब करिब ८० प्रतिशत कोर्स पूरा भइसकेको छ । हामीले भर्खरै एउटा परिक्षा पनि सञ्चालन गरिसकेका छांै । यदि विद्यालय बन्दै हुने अवस्था आयो भने हामीले त्यसैलाई नै फाइनल परीक्षाको रूपमा लिएर नतिजा अगाडि बढाउन सक्ने अवस्था छ ।
अरु विद्यालयको हकमा विकल्पको रुपमा अनलाइन कक्षा सञ्चालन गर्न सक्नेले त अनलाइन कक्षा सञ्चालन गर्नसक्ने भए । तर दूरदराजका विद्यालयमा अनलाइन कक्षाको पनि सम्भावना नभएको हुनाले रेडियो, टिभीलगायतका वैकल्पिक उपाए अपनाउन सकिन्छ । जुन यसभन्दा अगाडि पनि सञ्चालन भएका थिए । त्यसलाई निरन्तरता दिएर शैक्षिक सत्र पूरा गर्न सकिएला । हामीले यसभन्दा अघि नगरपालिकाका अन्य विद्यालयमा पनि त्यस्तो अभ्यास गरेका छौं र बाँकेका केही पालिकामा एउटा अभ्यास के भा छ भने विद्यार्थीको घर टोलमै गएर गृहकार्य दिने, चेकअप गर्ने एउटा त्यो प्रकृया अनि हामीले समुदायमै गएर पढाउने विधि अपनाएका छांै । फरक फरक टोलमा जाँदा एउटा टोलको बच्चा अर्को टोलकासँंग मिसिँदैन त्यसो गर्दा कोरोना एक ठाउँबाट अर्को ठाउँमा सर्ने सम्भावना पनि कम हुन्छ भनेर हामीले टोलटोलमा दिनहरू तय गरेर टोल पढाइ पनि सञ्चालन गरेका थियौं । त्यसरी सञ्चालन गर्दा पनि हामीले कोर्सलाई अलि अगाडि बढाउन सकेका हांै । अहिलेको विषम परिस्थितिमा समुदायमै गएर पढाउनुपर्ने एउटा त्यो विधि पनि हुनसक्छ । विद्याथीहरूलाई रोल नम्बरका आधारमा होमवर्क दिनका लागि समय निश्चित गरेर बोलाउने र त्यही हिसाबले चेकअप गर्ने विधि पनि केही विद्यालयले गरेका थिए । तर, हामीले त्यसो गरेनौ समुदायमै गयौ । यसरी कोर्स अघि बढाउन सम्भव भएको हो । यो कुरामा विद्यार्थीलाई पठाउन अभिभावक कत्तिको इच्छुक हुनुहुन्छ त्यसमा पनि भर पर्ने गर्दछ । अर्को हामीले विद्यालयभित्रै बार छुट्याएर विद्यार्थीलाई बोलाउने र उनीहरूलाई छोटो समय पढाउने पनि गरेका थियौं । जस्तै सुरुवातमा हामीले २० मिनेटको मात्रै समय राखेका थियौ त्यसमा मुख्यमुख्य कुरामा विद्यार्थीहरूलाई फोकस गरेर केही चिज दिने र बाँकी चाहिँ विद्यार्थीले घरमै गृहकार्य बढी गरून भन्नका लागि होमवर्कमै फोकस गर्ने कार्य गरेका थियांै । र यो गर्दा खेरि हामीले अनलाइन कक्षा, समुदायमा शिक्षण गर्ने कुरा र विद्यालयभित्र सानो समूहमा बोलाएर अध्यापन गर्ने कुरा जस्ता यी सबै विधिलाई पनि सँंगसँंगै लगेका थियांै । त्यसले हामीलाई कोर्स अघि बढाउन सजिलो हुनुका साथै विद्यार्थीहरूलाई सुरक्षित राख्न सकिएको थियो । यी विधिबाट शिक्षण सिकाइ अहिलेको अवस्थामा पनि गर्न सकिन्छ ।
यो अवस्था सधै आउने हुँदैन । यो वर्ष संसारभरि नै कोभिडले महामारीको रूप लिएको हुनाले यो विषम परिस्थिति हो यस्तो अवस्थामा अभिभावकहरू आफ्ना बालबालिकाप्रति सचेत रहने र उहाँहरूले नै बालबालिकालाई कोर्समा भएका कुराहरू के कति सकिन्छ अथवा आफ्नो छिमेकी अथवा आफ्नै घरमा अध्यापन गराउन सकिने व्यक्ति भए उहाँहरूबाट वा छिमेकमा कोही अध्यापन गराउन सक्ने व्यक्ति छ भने उसको सहयोग लिएर भए पनि अभिभावक सचेत भएरै बच्चाको पठन पाठनलाई अघि बढाउनु पर्छ र शैक्षिक गुणस्तर र उनीहरूको चाहिँ पठन पाठनको स्तरलाई कायम राख्नु पर्दछ ।
प्रस्तुति ः लक्ष्मण ढुंगाना
दश दिन विद्यालय बन्द गर्नुपर्छ
तेजस्वि बराल
प्रध्यानाध्यापक, अम्मरसिंह नमुना मावि, पोखरा
पछिल्लो समय भारतमा दैनिक एक लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण देखा पर्दा त्यसको प्रभाव नेपालका धेरै ठाउँमा परेको छ । हाम्रो विद्यालयको कुरा गर्दा यस वर्ष एसईई दिने करिब ३ सय विद्यार्थीसहित विद्यालयमा २ हजार ८ सय जना विद्यार्थी छन् । कोरोना संक्रमण दर बढेकाले अहिलेको अवस्थामा न्यूनतम सातदेखि १० दिनका लागि विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन पाठन बन्द गराई वैकल्पिक अनलाइन कक्षा सञ्चालन गर्दा कोरोनाबाट बच्न र बचाउन सहयोग पुग्ला भन्ने छ । काठमाडौंलगायतका केही ठाउँमा विद्यालय बन्द गराई वैकल्पिक शिक्षा पठनपाठन गर्ने निर्णय आएकाले अब पोखरामा पनि कोरोना संक्रमण बढेकाले केही समयका लागि बन्द गर्नु उचित लाग्छ । केही समयअघि हामीले कोरोनाको समयमा अनलाइनबाट कक्षा सञ्चालन गर्दा करिब ८५ प्रतिशत विद्यार्थीको उपस्थिति थियो ।
जनस्वास्थ्यविद्ले पनि कोरोना भाइरसको नयाँ भेरियन्टबाट नेपालमा बालबालिका पनि प्रभावित हुन थालेकाले संक्रमण विद्यालयबाट समुदायसम्म पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको कुरालाई नेपाल सरकारले समयमै यसलाई बुझ्नु प¥यो । शिक्षा मन्त्रालयले सरोकारवालासँग गरेको बैठकमा शिक्षक, अभिभावक र निजी विद्यालयका संगठनहरूले विद्यालय पूर्णरूपमा बन्द गर्न नहुने धारणा राख्नु कसैले बन्द गर्नुपर्छ भन्नु दोधारे कुराले जनतालाई अन्योलमा पार्न हुँदैन । जुनसुकै निकायबाट एउटै निर्णय आउनु प¥यो हामी विद्यालय सञ्चालकले के कसरी गर्ने भन्ने विषय अन्योल पार्न हँुदैन । साच्चै कुरा गर्नु पर्दा पोखराका केही विद्यालयका विद्यार्थी एवं शिक्षकमा समेत हाल कोरोना संक्रमण फैलिन थालेको छ । अब यसलाई समयमै रोकथामको उपाय अपनाइएन भने यसले भोलि गम्भीर असर पार्नसक्छ । हाम्रो विद्यालयमा समेत केही व्यक्तिलाई कोरोना देखिएकाले उनीहरूलाई घरमै बस्न सल्लाह दिँदै विद्यालय सञ्चालनको क्रममा आवश्यक स्वास्थ्य मापदण्ड मास्क, सेनिटाइजर पटकपटक साबुन पानीले हात धुनेजस्ता कुरालाई हामीले पालना गराउन खोजेका छौं तर ठूलो संख्यामा हुने हँुदा केही कठिन हुँदो रैछ ।
प्रस्तुति : दीननाथ बराल