नीतिगत सुधार भए दोहोरो अंकको आर्थिक वृद्धि सम्भव

देशमा तीनै तहका निर्वाचन सम्पन्न भई अहिले केन्द्र, प्रदेश र स्थानीय तहमा बेग्लाबेग्लै सरकार गठन भएका छन् । संघीयतापछि देशमा आर्थिक क्रियाकलापहरू पनि बढेका छन् । एकातर्फ संघीय सरकारसँगै थपिएको करले नागरिकमा आक्रोश छ भने अर्कातर्फ देशमा स्रोतसाधनको सीमितताले गर्दा अपेक्षाकृत रूपमा लाभ हासिल भएको छैन । सरकारले चालू वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फीति कायम गर्ने घोषणा गरेको छ । लामो समयको प्रतीक्षापछि दुइतिहाई बहुमतप्राप्त सरकारको मुख्य एजेन्डा नै आर्थिक समृद्धि भएकाले निजी क्षेत्रमा केही उत्साह पनि थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपालमा अहिले उपयुक्त समय भएको बताएका छन् । के नेपालमा लगानीका लागि अहिलेको समय उपयुक्त हो ? दोहोरो आर्थिक वृद्धिका लागि कत्तिको सम्भावना छ र वर्तमान चुनौती के छन् भन्ने सम्बन्धमा प्रस्तुत छ कारोबार दैनिकले आयोजना गरेको ‘कारोबार इकोनोमिक कन्क्लेभ २०१८’ मा निजी क्षेत्रका प्रतिनिधिहरूले राखेका विचारको सार :
दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न चुनौती छ
भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
सरकारले चालू आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृृद्धि र ६.५ प्रतिशतको मुद्रास्फीति कायम राख्ने लक्ष्य राखेको छ । यो आर्थिक वृद्धिको जगमा अर्थतन्त्र गतिशील हुँदै एउटा आर्थिक आधार तयार हुने, विकास र समृद्धिको यात्रा तय हुने विश्वास सरकारले लिएको छ । लामो समयको संक्रमणकालपछि अहिले हामीले दुइतिहाइ बहुमतप्राप्त स्थायी सरकार पाएका छौँ । दुईतिहाइ बहुमत प्राप्त सरकार गठन हुनु नै एउटा सकारात्मक कुरा हो ।
अहिलेको सरकारले मुख्य एजेन्डा आर्थिक समृद्धि लिएको छ । आर्थिक विकासमा दक्षिण एसिया अहिले उदीयमान भएर आएको छ । नेपाल पनि आर्थिक समृद्धिको मुख्य एजेन्डा लिएर अगाडि बढेको अहिलेको अवस्थामा दोहोरो आर्थिक वृद्धिको सम्भावना छ । दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न उत्पादनमूलक क्षेत्रको योगदान बढाउनुपर्छ । कुनै समय कुल गार्हस्थ्य उत्पादनमा झन्डै १६ प्रतिशतसम्म योगदान दिएको यो क्षेत्र अहिले ५ प्रतिशतमा खुच्चिएको छ । उत्पादनमूलक क्षेत्रबाट योगदान बढाउन सकिने पर्याप्त आधारहरू पनि छन् । त्यस्तैगरी जलविद्युत् क्षेत्र अर्काे सम्भावना भएको क्षेत्र हो । दुई/तीन वर्षयता देशमा विद्युत् कटौतीको समस्या त्यति भोग्नुपरेको छैन । यो एउटा समृद्धिका लागि प्लस प्वाइन्ट हो । त्यसैगरी अर्काे कुरा, श्रमिक र रोजगारदाता कम्पनीबीचको सम्बन्धमा निकै सुधार आएको छ । १०/१२ वर्षअगाडिको तुलनामा अहिले श्रमसम्बन्ध निकै सुधार भएको छ । सबैतर्फबाट सुधारको संकेत देखिएको छ । नेपाल तुलनात्मक रूपले लाभ हासिल गर्र्न सकिने देश हो; जसमध्ये कृषि, पर्यटन, जलविद्युत्, उत्पादनमूलक क्षेत्रबाट अर्थतन्त्रमा योगदान बढाउन सकिन्छ । यदि हामी साँच्चिकै आर्थिक समृद्धि र विकासको एजेन्डा लिएर अगाडि बढ्यौँ र सोही तरिकाले फ्यासिलिएट गर्न सके दोहोरो अंकको आर्थिक वृद्धि सम्भव छ । यसका लागि सरकार र निजी क्षेत्रको सहकार्यलाई अझ बढाएर लैजानु जरुरी छ ।
हामीसँग दोहोरो अंकको आर्थिक वृद्धिका लागि सम्भावना छन्, तर त्यसका लागि चुनौती पनि उत्तिकै छ । अहिलेको व्यवस्थामा नीतिगत सुधार नभई यो दोहोरो अंकको वृद्धि भने निकै चुनौतीपूर्ण छ । दोहोरो अंकको आर्थिक वृद्धिका लागि ठूलो वैदेशिक लगानी आवश्यक पर्छ, त्यसका लागि लगानीमैत्री वातावरण बनाउनुपर्छ । देश संघीयतामा गएपछि कर प्रणालीमा देखिएको समस्या लगानीका लागि ठूलो चुनौती बनेको छ । सरकारले यसलाई उचित सम्बोधन गरी लगानीकर्तालाई आकर्षित गर्ने खालका प्याकेज ल्याउनु जरुरी छ ।
नीतिगत सुधारबिना सम्भव छैन
हरिभक्त शर्मा
अध्यक्ष, नेपाल उद्योग परिसंघ
नेपाल उद्योगधन्दा खोल्न र व्यवसाय गर्नका लागि ‘भर्जिन मार्केट’ हो । यहाँ लगानीका लागि सबै क्षेत्र खुला गरिएका छन् । सरकारले स्वदेशी–विदेशी सबै लगानीकर्तालाई लगानी ल्याउन आग्रह गरेको छ । लामो समयपछि हामीले दुईतिहाइ बहुमतप्राप्त स्थायी सरकार पाएका छौँ । आर्थिक समृद्धि र विकासका लागि आशालाग्दो संकेत हो । जनताले दिएको ‘म्यान्डेड’ पूरा गर्न सरकार गम्भीर देखिएको पनि छ । तर, अर्कातर्फ हामीले कस्तो अनुगमनकारी नीति लिएका छौँ ? के यही व्यवस्थाबाट हामीले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सकिएला त भन्ने मुख्य सवाल हो । अहिलेको शैक्षिण गुणस्तरमा व्यापक सुधार ल्याउनु जरुरी छ । पूर्वाधारमा लगानी बढाउनु उत्तिकै जरुरी छ । बैंकहरूमा सधैंजसो तरलता अभावको अवस्था देखिएकाले लगानीयोग्य रकम निकै कम हुँदा आर्थिक विकासमा धेरै रकम जान सकेको छैन ।
हामीसँग भएका सीमित स्रोतसाधनको प्रयोग पनि सही तरिकाले हुन सकेको छैन । देशभित्रको पुँजी निकै सीमित छ । त्यसैले हामीले हाम्रो अर्थतन्त्रलाई सुधारको गतिमा लैजान र आर्थिक गतिवधि बढाउन प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भिœयाउनु जरुरी छ । स्वदेशी लगानीको अवस्था र लगानीकर्ताको मनोबलका आधारमा विदेशी लगानी आउने हो । पहिले देशभित्रका लगानीकर्तालाई ढुक्क भएर लगानी गर्ने वातावरण भयो भने विदेशी लगानीकर्ता आउन कुनै कठिनाइ हुन्न । यसका साथै अहिलेको अनुगमन र नियमन प्रद्धतिमा सुधार गर्नुपर्छ । म फार्मास्युटिकल क्षेत्रको प्रतिनिधित्व गर्छु । यो क्षेत्र भनेको पछिल्ला प्रविधिहरूलाई आत्मसात् गरेर अगाडि जानुपर्ने क्षेत्र हो । तर, यहाँ नीतिगत व्यवस्था पुरानो प्रवृत्तिको छ । लगानीकर्ताको मनोबल बढाउने, देशमा लगानी भिœयाउन आकर्षित गर्ने र भएका उद्योगहरूमा पनि लगानी बढाउन प्रेरित गर्ने भनेको नीतिगत व्यवस्था नै हो । त्यसैले पुराना ऐन–कानुनको सुधार गरी समयसापेक्ष बनाउनु जरुरी छ । दुईतिहाइको बलियो सरकार भएकाले प्रतिबद्धताहरू कार्यान्वयन हुनेमा निजी क्षेत्र आशावादी छ । अहिलेको सरकारले काम गर्न चाहेमा यो एउटा अभूतपूर्व मौका पनि हो ।
सरकारले मोटिभेट गर्नुपर्छ
डा. पार्थ जे साह
अर्थशास्त्री
पहिलो कुरा हामी को हौं र हामी के गर्दै छौ भन्ने कुरा मुख्य हो । भारत कसरी सफल भयो भन्ने प्रसंगमा पहिलो कुरा बजारलाई प्रभावकारी ढंगले प्रयोग गर्नु हो । भएको बजारलाई प्रतिस्पर्धी बनाई लिब्रलाइजेसनमा अगाडि बढेको हो । अर्काे कुरा, भारतले बजार सिर्जना गरेको हो । २००० भन्दा पहिले सरकारले लगानीमा एउटा मात्रै टेलिकम कम्पनी थियो । त्यसपछि निजी क्षेत्रलाई टेलिकम बजार खुला गरियो । अहिले विश्वकै सबैभन्दा सफल टेलिकम बजार हुनुका साथै सेवा सुविधा पनि गुणस्तरीय र कम शुल्कमा उपलब्ध छन् । त्यस्तै गरी हवाई सेवामा पनि एयर इन्डिया मात्रै थियो । पछि निजी क्षेत्रलाई बजार खुला गरेपछि प्रतिस्पर्धा बढेको हो ।
भारतले नयाँ बजार सिर्जना गरेर अहिले धेरै क्षेत्रमा लाभ हासिल गरेको छ । टेलिकम, बैंकिङ, एयरलाइन्स, बिमा, फाइनान्स यी सबै क्षेत्र सिर्जना गरिएका बजार हुन् । भारतले स्ट्रिट भेन्डर ल पास गरेको छ । यो एउटा गरिबका लागि खुला गरिएको बजार हो । पछाडि परेको वर्ग पनि आर्थिक रूपमा सहभागिता बनाउन यस्तो नीतिले निकै सहज पुरायो । आर्थिक गतिविधिहरू देशमा बढाउनु जरुरी छ । आर्थिक गतिविधि बढाउन सरकारले मोटिभेट गर्नुपर्छ ।
उद्यमशीलता बढाउनु जरुरी
अम्बिका श्रेष्ठ
व्यवसायी
आर्थिक गतिविधि बढाउने उद्देश्यसँगसँगै उद्यमी कसरी बनाउने भन्ने सम्बन्धमा सोच्नु जरुरी हुन्छ । उद्यमी बन्ने व्यक्तिले जोखिम मोल्न पनि सक्नुपर्छ । कारोबार दैनिकले गरेको यस प्रकारको कन्क्लेभले अवश्य पनि उद्यमशील बन्ने प्रेरणा दिनेछ । लगानीकर्ताका साथै सरकारलाई पनि आवश्यक सुझाव प्रस्तुत गर्नेछ । जो व्यक्ति उद्यमशील बन्न चाहन्छ, त्यसका लागि आवश्यकता के हो भन्ने सम्बन्धमा ध्यान दिन सकिएको छैन ।
जबसम्म देशमा उद्यम गर्नुपर्छ भन्ने बानीको विकास हुँदैन तबसम्म अरूको देशबाट आयात गरेर ट्रेडिङ गरेर मात्रै केही हुँदैन । व्यापारघाटा दिन–प्रतिदिन बढ्दै गएको छ । यसको एउटा प्रमुख कारण हामी उद्यमशीलतामा ध्यान नदिएको कारणले हो । के कारणले गर्दा उद्यम गर्न खोजेको व्यक्तिहरू अगाडि बढ्न सकेका छैनन् ? के–कस्ता अवरोधहरू छन् भन्ने सम्बन्धमा ध्यान दिनु जरुरी छ । देशमा केही गर्छु भन्ने युवाहरूलाई सकेसम्म देशमै राख्ने नीति सरकारले लिनुपर्छ ।