झन् जीर्ण बन्यो कर्णाली राजमार्ग «

झन् जीर्ण बन्यो कर्णाली राजमार्ग

वर्षायाम सुरु हुनासाथ कर्णाली राजमार्ग अवरुद्ध हुँदा हरेक वर्ष यात्रुले सास्ती खेप्नु पर्छ । वर्षौंदेखि एउटै ठाउँमा पहिरो खसिरहने, पहिरो पन्छाउन ढिलाइ र सडकको स्तरोन्नति नहुँदा समस्या हुने गरेको हो ।
कर्णाली राजमार्ग बनेको एकदशक बितेको छ । कर्णाली राजमार्ग ओटासिल भएको पनि २ वर्ष भयो । ठाउँठाउँमा ओटासिल उप्किएर अहिले कर्णाली राजमार्ग जीर्ण अवस्थामा पुगेको छ । कर्णाली राजमार्गको विभिन्न ठाउँमा रहेका खोला पुल नबन्दा पहिरो खसिरहने र रागमार्गको अवस्था झनै जीर्ण बन्दै गएको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले बताए । “कर्णाली राजमार्गमा गरिएको ओटासिल सबै उप्किएर हिलाम्मे सडक बनेको छ,” उनले भने, “कर्णाली राजमार्गमै गाडी चलाउन समस्या भएको छ ।”

जथाभावी सडक खन्दा राजमार्ग बिग्रियो
कर्णाली रामजार्गका विभिन्न स्थानमा स्थानीय तहका सरकारले आफ्नो इच्छाअनुसार सडक खन्दा कर्णाली राजमार्गको अवस्था जीर्ण बनेको र कर्णाली राजमार्ग बिग्रिएको हो । कर्णाली राजमार्गको कालिकोटको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाले राजमार्गको माथिबाट डोजर प्रयोग गरेर सडक खनेका कारण ठाउँठाउँमा पहिरो आएकाले राजमार्ग जीर्ण बनेको हो ।
कर्णाली राजमार्गअन्तर्गतको खाँडाचक्र नगरपालिकाको सुनारखोला, ताडीको क्याम्पस रोड, दाँहाको मोल्फा र पिलीमा राजमार्गमाथिबाट डोजर प्रयोग गरेर स्थानीय सरकारले सडक खनेकाले राजमार्गमा सधैं पहिरो जाने गरेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधव अधिकारीले बताए । “स्थानीय सरकारले जथाभावी डोजर प्रयोग गरेर ठाउँठाउँमा सडक खनेका छन्,” उनले भने, “जसका कारण कर्णाली राजमार्ग जीर्ण बन्दै गएको छ ।”

राजमार्गमा घर बनाउनेले सडक बिगारे
कर्णाली राजमार्गको छेउछाउमा घर बनाउनेले डोजरको प्रयोग गरेर राजमार्गको छेउमा निर्माण सामग्री र माटोलगायतका कच्चा पदार्थ राख्दा पनि राजमार्ग जीर्ण बनाको हो । राजमार्गको खाँडाचक्र नगरपालिकाका मान्म, मोल्फा, पिली, दाहाँ, तिलागुफा नगरपालिकाको गाल्जे, नाग्मलगायतका बजार छेउमा घर बनाउनेले कर्णाली राजमार्ग बिगारेका हुन् ।
कर्णाली राजमार्गको छेउछाउमा घर बनाउनेले राजमार्गमा ढुंगा माटोलगायतका कच्चा पदार्थ फ्याँक्ने सरसफाइ नगर्ने कारणले पनि कर्णाली राजमार्गको अवस्था जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख अधिकारीले बताए । “कर्णाली राजमार्गमा घर बनाउनेले राजमार्ग बिगार्ने गरेका छन्,” उनले भने, “सडकमा कच्चा पदार्थ फाल्ने र सफा नगर्ने कारणले पनि राजमार्ग बिग्रिएको छ ।”

अझै बनेनन् पुल
कर्णाली राजमार्गअन्तर्गतका विभिन्न खोलामा दर्जनौं पक्की पुल नबन्दा वर्षायाममा बाढीका कारण यातायातका साधन चल्न समस्या हुने गरेको छ । पुल निर्माणको जिम्मा लिएका ठेकेदार निर्माण कम्पनीको लापबाहीका कारण पुल अलपत्र परेका हुन् ।
दैलेख र कालिकोटको सिमानामा रहेको किट्टुभीरनजिक ४ करोड ५१ लाख लागतको घट्टेखोला पुल निर्माणका लागि २०६९ सालमा सम्झौता भए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणकार्य अलपत्र अवस्थामा छ । त्यस्तै, कालिकोटको घट्टेखोला, बिहानी खोला, दैखोला खल्नागाडको पक्की निर्माण नहँुदा समस्या उस्तै छ ।

नाग्म–गमगढी सडकको अवस्था उस्तै
अविरल वर्षाका कारण नाग्म–गमगढी सडक अवरुद्ध भएको एक महिना बितेको छ । एक महिना बित्दा पनि अवरुद्ध सडक खुलाउन अहिलेसम्म प्रयास भएको छैन । नाग्म–गमगढी सडक खण्डको खत्याड गाउँपालिकाको पैंखु पानीदेखि निगाली बोटसम्म दर्जनौं स्थानमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो । जुम्ला गोठीज्युउलादेखि मुगुको गम्थासम्मको सडकमा पनि ठाउँठाउँमा पहिरो गएका कारण अवरुद्ध भएको हो ।
त्यस्तै मुगु सदरमुकाम गमगढीदेखि धैन धुलाचौर सडक खण्डअन्तर्गत रारा कच्ची बाटोसम्मको १७ किमि सडकमा समेत ठाउँठाउँमा पहिरो खस्दा यातायातका साधन चल्न सकेका छैनन् । वर्षाले अवरुद्ध भएको सडक खण्डमा वर्षा रोकिना साथ खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधव अधिकारीले बताए । “नाग्म–गमगढी सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारणले राजमार्ग अवरुद्ध भएको एक महिना हुन लाग्यो,” उनले भने, “निरन्तर वर्षा भएका कारण राजमार्ग खुल्न सकेको छैन । वर्षा रोकिना साथ राजमार्ग खुलाउने तयारी छ ।”

प्रतिक्रिया दिनुहोस्