Logo

ओझेलमा पाणिनी तपोभूमि

अर्घाखाँची-प्रचार प्रसारको अभावमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको संस्कृत भाषाको व्याकरण रचना भएको अर्घाखाँचीको पाणिनी तपोभूमि ओझेलमा परेको छ । हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए ।
पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव खुशी भई अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता छ । यस क्षेत्रको प्रचार–प्रसार गर्न सके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिन्छ । यसको प्रचार प्रसारका लागि विश्व भाषासँग सम्बन्धित सबै लाग्नुपर्ने स्थानीय शिक्षक पुस्कर पोख्रेल बताउँछन् । विश्वकै प्राचीन भाषा उत्पत्तिस्थल प्रचार–प्रसार हुन नसक्दा पछि परेको उनी बताउँछन् ।
अर्घाखाँचीको पूर्वमा रहेको पाणिनी गाउँपालिका–१ मा तपोभूमि पर्दछ । त्यस तपोभूमिमाथि डाँडाबाट उत्तर फर्कंदा हिमालयका हिम शृङ्खला, दक्षिणतर्फ तराईका फाँट अनि कालिज, चित्तललगायतका पंछीहरू देख्न सकिन्छ छ । अर्घाखाँचीको पोखराथोक र पाल्पाको तीनगिरेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । उक्त क्षेत्र पाणिनीले तपस्या गरेको र व्याकरण उत्पत्ति भएकोे भन्ने विभिन्न प्रमाण भएको संस्कृतविज्ञ बताउँछन् ।
हाल सो ठाउँमा एउटा पोखरी निर्माण गरिएको छ । त्यहाँका मन्दिर, पौवा जीर्ण हुने अवस्थामा छन् । मठमन्दिर बनाउनका लागि प्रदेश ५ का जिल्ला पाल्पा, गुल्मी, कपिलवस्तु, रूपन्देही, नवलपरासी, अर्घाखाँचीलगायत भारतीय नागरिकले सहयोग गरेका छन् । पाणिनी तपोभूमिमा हरेक वर्ष जेठ महिनामा ठूलो मेला लाग्ने गर्छ ।
पाणिनी तपोभूमि संरक्षणका लागि पाणिनी गाउँपालिकाले ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए । उनले प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । पालिका र प्रदेशको २८ लाख ५० हजारले पाणिनी तपोभूमिमा खानेपानीको समस्या समाधान गर्ने गौतमले बताए । ८ सय मिटर तल बतासेबाट खानेपानी लिफ्टिङ गर्ने र आउँदो वर्षमा तपोभूमि संरक्षणमा गाउँपालिकाको ध्यान जाने अध्यक्ष गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्