Logo

दुवै देशमा नेपाल–भारत सेन्टरकोे स्थापना

काठमाडौं-नेपालमा र भारतका दुवै चेम्बरमा ‘भारत–नेपाल सेन्टर’कोे स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष हरिभक्त शर्मा र पीएचडी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सेन्टरको स्टेरिङ कमिटिमा पीएचडी चेम्बरका तर्फबाट पूर्वराजदूत केभी राजन तथा नेपालका तर्फबाट परिसंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समितिका संयोजक निर्वाण चौधरीले नेतृत्व गर्नेछन् । पूर्वाधार, जलस्रोत, साना तथा घरेलु उद्योग, रेल्वे, पर्यटन, कृषि आदिमा दुई मुलुकबीच आर्थिक सदृढीकरण गर्ने समितीको लक्ष्य छ । भारत–नेपाल केन्द्रको उद्देश्यहरूमा आगामी दिनका योजना र कार्यदिशा तय गर्ने, आवश्यकताअनुसार उपसमिति गठन गर्ने, दुबै समितिको कार्य स्पष्ट किटान गर्ने, दुवै मुलुकमा आर्थिक सम्बन्धमा कार्यक्रम गर्ने र कम्तीमा वर्षमा एउटा ‘मेगा’ कार्यक्रम गर्ने योजना छ ।
कार्यक्रममा परिसंघ प्रबुद्ध परिषद् (थिंकट्यांक) का संयोजक शम्भुराम सिम्खडाद्वारा लिखित ‘नेपाल, भारत, चीनः २१ औँ सताब्दीमा सम्बन्ध विस्तार’ विषयक अग्रेजी पुस्तकको विमोचन गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले त्रिपक्षीय आर्थिक सम्बन्ध सुदृढ एवं विस्तार गर्न यो पुस्तक उपयोगी हुने बताएका छन् । कार्यक्रममा ‘समृद्धिको मार्गचित्रको कार्यान्वयनः अन्तर्राष्ट्रिय समुदायको भूमिका’ विषयक कार्यक्रमले समेत मुलुकले अंगिकार गरेको तीव्र र दिगो विकासको लक्ष्य हाँसिल गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोग, सद्भावले समृद्धिको मार्गमा नेपाललाई थप ऊर्जा प्रदान गर्ने अर्थमन्त्री खतिवडाले बताएका छन् । निजी क्षेत्र र अन्तर्राष्ट्रिय व्यापारिक तथा औद्योगिक समुदायबीचमा भएको समझदारीबाट समेत मुलुकमा थप लगानी आउने सन्देश प्रवाह हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
परिसंघ अध्यक्ष शर्माले नेपालमा धेरै पूराना ऐनहरूको संशोधन आवश्यक भएको र मुलुकमा स्थायित्व भइसकेको हुँदा आर्थिक वृद्धि हुने अपेक्षा राखेका छन् । लगानी अभिवृद्धि गर्न कर्णाली प्रदेशमा दश वर्षको आयकर छुटको व्यवस्था सराहनीय रहेको बताउँदै संघीय प्रणालीअन्तर्गत प्रदेश र स्थानीय निकाय बलियो हुँदै गएमा यसबाट समृद्धिको फल प्राप्त हुने अपेक्षा रहेको बताए । मुलुकमा हाल रहेको १५ प्रतिशत घरेलु बचत र ४५ प्रतिशत लगानी आवश्यकताको खाडल पूर्ति गर्न पनि हाम्रा नीति र विदेशीलाई लगानी गर्न आमूल परिवर्तनको खाँचो रहेको बताए ।
पीएचडी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले नेपालले समृद्धिका लागि लिएको नारा समृद्ध नेपाल सुखी नेपाली र भारतमा भारत सरकारले लिएको समान नाराले समेत दुई मुलुक समृद्धिको मार्गमा लम्किरहेको बेलामा दुई व्यापारिक÷औद्योगिक प्रतिनिधिमूलक संस्थाबीच भएको यो समझदारीपत्र हस्ताक्षरको सवल र सफल कार्यान्वयनमा दुवै पक्ष गम्भीर रहेको बताएका छन् ।
नेपालका पूर्वराजदूत तथा पीएचडी चेम्बर अफ कमर्शका स्टेरिङ कमिटिका संयोजक केभी राजनले दुई मुलुकबीच आर्थिक सम्बन्ध सुदृढको अपार सम्भावनालाई प्रयोग गरी त्यसको प्रतिफल जनतासम्म पु¥याउने अहिलेको वास्तविकता रहेको बताए । सो अवसरमा नेपालका लागि भारतीय राजदूत तथा कार्यक्रमका विशेष अतिथि मञ्जीव सिंह पुरीले दुई मुलुकबीच खास गरी प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्षको भारत भ्रमणपश्चात् विभिन्न क्षेत्रहरूमा क्रमिक कार्यान्वयनको कार्य भइरहेको र पर्यटन, कनेक्टीभिटी, विद्युत् प्रसारणमा आशातीत उपलब्धि हाँसिल गर्न दुबै मुलुक प्रयत्नशील रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्