उद्योगका कारण स्वास्थ्यमा असर «

उद्योगका कारण स्वास्थ्यमा असर

नेपालगन्ज-नेपालगन्ज उपमहानगरको वडा नम्बर १ धम्बोझी र वडा नम्बर १२ बेलासपुरको बीचमा पर्ने ओम प्लाइउड उद्योगले प्रयोग गर्दै आएका रसायनहरूका कारण आसपासका बासिन्दाको स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरू देखिन थालेका छन् ।
सो प्लाइउड उद्योगले प्रयोग गर्ने फर्मालिन, फेबिकोलजस्ता रसायन तथा धुवाँ र ध्वनि प्रदूषणका कारण सो क्षेत्र वरिपरि बसोबास गर्नेहरूको मानव स्वास्थ्यमा प्रतिकूल असर पुराइरहेको छ । सो रसायनका कारण आँखा पोल्ने, श्वास प्रश्वासलगायत समस्या बढ्दै गएको बताउँदै स्थानीय बासिन्दाले उक्त उद्योग त्यहाँबाट हटाउन माग गरेका छन् ।
उद्योगले स्वास्थ्यमा पुराएको असरका सम्बन्धमा विभिन्न निकायमा जानकारी गराउँदा समेत सुनुवाइ नभएको जनाउँदै उनीहरूले सो उद्योग बन्द नगरे आन्दोलन गरेर उद्योगमा तालाबन्दी गर्ने चेतावनीसमेत सो क्षेत्रका बासिन्दाले दिएका छन् ।
विषाक्त धुवाँ, ध्वनि र जथाभावी रसायनको प्रयोग रोक्न तथा बोइलर मेसिन हटाउन माग गर्दै उनीहरूले जिल्ला प्रशासन लगायतका धेरै निकायलाई जानकारी पनि गराएका छन् ।
उद्योग बन्द गर्नुपर्ने वा हटाउनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले ३५ जनाको हस्ताक्षरसहितको निवेदन उपमहानगर, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, राष्ट्रिय मानव अधिकार आयोग, मन्त्रालय, विभागलगायतमा पठाएका छन् ।
उद्योगका कारण स्वास्थ्यमा गम्भीरखाले समस्या देखिन थालेकाले स्वस्थ रूपमा बाँच्न पाउने अधिकारको रक्षा गरिदिन माग गर्दै विभिन्न निकायको ध्यानाकर्षण गराइएको नेपालगन्ज १ का स्थानीय राधेश्याम गुप्ताले बताए ।
उनले प्रतिवाद गर्दा उद्योग सञ्चालकले डर, धम्की दिइरहेको जनाउँदै स्थानीयवासीको गुनासोको कतैबाट पनि सुनुवाई नभएको बताए । उद्योग नजिकै शान्ति विद्या निकेतन सञ्चालनमा छ । त्यहाँ अध्ययनरत बालबालिका पनि प्रत्यक्ष प्रभावित भएको स्थानीय बासिन्दा बताउँछन् । विषाक्त धुवाँका कारण बालबालिकाको आँखा पीरो हुने, पोल्ने र खोकी लाग्ने तथा श्वास प्रश्वासमा पनि समस्या आउने गरेको सो विद्यालयमा शिक्षक राज कुमारले बताएका छन् । विषाक्त धुवाँ सहन नसकेर बालबालिकाले स्कुल आउन नमान्दा विद्यार्थी संख्या पनि घट्दै गएको उनको भनाई छ ।
भेरी अञ्चल अस्पतालका चिकित्सक डा. राजन पाण्डेले फर्मालिन र फेबिकोलले स्वास्थ्यमा गम्भीर असर पुराउने बताए । उनका अनुसार सोही कारणले आँखा रातो हुन्छ, छालाको एलर्जी हुन्छ र श्वास प्रश्वासको समस्या निम्तिन्छ ।
फर्मालिन र फेबिकोलले कलेजोमा सीधा असर गर्ने जनाउँदै डा. पाण्डेले स्नायु प्रणालीमा पनि असर पुराएर स्मरण शक्ति समेतलाई कमजोर बनाउन सक्ने बताए ।
दुवै वडा कार्यालयले सो उद्योगलाई कारवाही प्रक्रिया अगाडि बढाइदिन नगर प्रमुख डा. धवलशमशेर राणालाई सिफारिस गरे पनि उपमहानगरले कुनै कदम चालेको छैन । नेपालगन्ज १ का वडाध्यक्ष प्रमोद रिजालले २६ वैशाख र १२ का वडाअध्यक्ष बुद्धिसागर सुवेदीले २८ वैशाखमा उद्योगमाथि कारबाही सिफारिस गरेका थिए ।
यसैबीच सो उद्योगका सञ्चालक प्रमोद जालानले दुई दशकदेखि सञ्चालित आफ्नो उद्योगले अहिले आएर मानव स्वास्थ्यमा असर पुराएको कुरा सुन्दा आश्चर्यमा परिरहेको बताएका छन् ।
“मेरो उद्योग मापदण्डअनुसार नै चलिरहेको छ, उद्योगबाट त्यस्तो विषादी निस्कन्थ्यो भने मेरा कर्मचारीले कसरी काम गर्न सक्थे होला,” उनले भने, “बरु उल्टै मेरो उद्योग वरिपरिको जग्गा अतिक्रमणमा परेको छ ।” उद्योग चलाउँदा आफूलाई अनावश्यक रूपमा सताउने गरिएको जालानको गुनासो छ ।
१७ फागुन २०६८ मा साविक इन्द्रपुर–९ स्थित एसएम प्लाइउड उद्योगमा पानी तताउने बोइलर मेसिन बिस्फोट हुँदा दुई जनाको ज्यान गएको थियो । उक्त घटनापछि धम्बोझी र बेलासपुरका बासिन्दा त्रसित देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्