चौधरी फाउन्डेसनद्वारा ३ विद्यालयमा डिजिटल क्लासरुमको अवधारणा लागू «

चौधरी फाउन्डेसनद्वारा ३ विद्यालयमा डिजिटल क्लासरुमको अवधारणा लागू

चौधरी फाउन्डेसनले तीनवटा विद्यालयमा ‘डिजिटल क्लासरुम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । सूचना प्रविधिमा आधारित विश्वव्यापी अध्ययन-अध्यापनको पहुँचमा नेपाली बालबालिका पनि पुग्न सकून् भन्ने सोंचका साथ यो अवधारणा कार्यान्वयनमा ल्याइएको हो ।
पहिलो चरणमा नवलपुरका दुई र सिन्धुपाल्चोकको एक विद्यालय डिजिटल क्लासरुम परियोजनाका लागि छनोट भएका छन् । जसमा नवलपुर देवचुली नगरपालिकास्थित शान्तिसिर्जना आधारभूत विद्यालय र कावासोती नगरपालिकास्थित कालिका आधारभूत विद्यालय छन् । सिन्धुपाल्चोकको महाकाली माध्यमिक विद्यालय, गिरानचौर छ ।
चौधरी फाउन्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले नवलपुरका दुई विद्यालयमा स्थापित डिजिटल क्लासरुमको शनिबार छुट्टाछुट्टै कार्यक्रमकाबीच उद्घाटन गरे ।
यस परियोजनाअन्र्तगत पहिलो चरणमा प्रत्येक विद्यालयले सातवटा ल्यापटप, चारवटा डेक्सटप, ३२ इन्चको एउटा एलजी टेलिभिजन र प्रोजेक्टर प्राप्त गरेका छन् । डिजिटल क्लासरुमको विस्तारमा पनि फाउन्डेसनले सहयोग गर्नेछ ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चौधरीले विश्वमा अहिले साक्षरताको परिभाषा परिवर्तन भएको भन्दै कम्प्युटर शिक्षा र अंग्रेजी भाषाको ज्ञान भएको व्यक्तिलाई मात्रै साक्षर मान्ने प्रचलन विकास भएको बताए । विश्वव्यापी यस्तो वातावरणमा नेपाली बालबालिकाको भविष्य सुरक्षित बनाइदिन कम्प्युटर, इन्टरनेटका माध्यमद्वारा डिजिटल क्लासरूमहरू स्थापना गर्नुको विकल्प नरहेको उनले बताए ।
“डिजिटल क्लासरुममार्फत् मात्रै हामीले हाम्रा विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन सम्भव हुनेछ,” अध्यक्ष चौधरीले भने, “शिक्षाको गुणस्तर सुधार्न यो अभियानलाई द्रुतगतिमा राष्ट्रव्यापी बनाउन आवश्यक छ । यसका लागि सरकार, निजी क्षेत्र र फाउन्डेसनहरूबीचमा सहकार्यको खाँचो छ ।”
सरकारी विद्यालयबाट यस अभियान सुरु गरिएको जानकारी दिँदै अध्यक्ष चौधरीले अवसरबाट बञ्चित रहेका बालबालिका समक्ष प्रस्तुत गरिएका यस्ता कार्यक्रम प्रभावकारी सावित हुने विश्वास पनि व्यक्त गरे ।
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपाली बालबालिकालाई अन्तर्राष्ट्रिय शैक्षिक वातावरण प्रदान गर्ने लक्ष्यमा चौधरी ग्रुपको प्रारम्भिक पाइला भएको टिप्पणी गरे ।
डिजिटल क्लासरुम सञ्चालन गर्न फाउन्डेसनले सूचना प्रविधिमा दख्खल भएका शिक्षकलाई तालिम पनि दिएको छ ।
सिन्धुपाल्चोकको विद्यालयमा निकट भविष्यमै डिजिटल क्लासरुम उद्घाटन गर्ने कार्यक्रम छ ।
डिजिटल क्लासरुम सञ्चालन गरिएका विद्यालयसहित पाँच विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था समेत मिलाइएको छ । विदेशबाट ‘वाटर फिल्ट्रेसन सिस्टम’ आयात गरी अन्तर्राष्ट्रिय मापदण्डमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको हो । अध्यक्ष चौधरीले यी सबै परियोजनाको उद्घाटन गरी शुद्ध खानेपानी प्रणाली समेत विद्यालयहरूलाई हस्तान्तरण गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्