घरजग्गा व्यवसायीद्वारा जग्गा प्लटिङमा लगाइएको रोक हटाउन माग «

घरजग्गा व्यवसायीद्वारा जग्गा प्लटिङमा लगाइएको रोक हटाउन माग

सरकारले प्लटिङमा रोक लगाएसँगै तथा बजेटमार्फत कडाइ गरिएसँगै घरजग्गा व्यावसाय ओरालो लागिरहेका बेला काठमाडौंमा घरजग्गा मेलाको सातौं संस्करण सुरु भएको छ ।
नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा घरजग्गा मेला सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धाीरत समयभन्दा दुई घण्टा ढिला उपस्थित भइ मेला उद्घाटन गरे । मेलामा घरजग्गा व्यावसायीहरुले छुटका विभिन्न अफर ल्याएका छन् । सिभिल होम्स्ले ३७ लाखमा अपार्टमेन्ट बिक्रीको योजना ल्याएको छ भने अन्य कम्पनीहरुले ग्राहकलाई आकर्षक छुटमा घरजग्गा उपलब्ध गराउने बताएका छन् । पाँच दिने मेलामा घरजग्गा व्यावसायीका अलावा बैंक तथा वित्तीय संस्था र निर्माण कम्पनीहरुले पनि स्टल राखेका छन् । आयोजक नेपाल जग्गा तथा आवास विकास संघले मेलाको उद्घाटनका अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालसहित पाँच मन्त्रीलाई बोलाएकामा सबै अनुपस्थित भए । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल र विभिन्न मन्त्रालयका नौ सचिव पनि जग्गा व्यावसायीहरुको निम्ता मान्न गएनन् । कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले जग्गाको प्लटिङमा लगाइएको रोकका कारण व्यावसायीहरु मर्कामा परेको भन्दै रोकावट फुकुवा गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।
संघका महासचिव श्रेष्ठले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गा व्यावसायलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिलाइ सहुलियतपूर्णरुपमा कर्जा प्रवाहको व्यवस्था मिलाइदिन पनि आग्रह गरे ।
तर, जवाफमा प्रधानमन्त्री ओलीले व्यावसायीहरुको एकतर्फी कुरा सुनेर सरकारले निर्णय नलिने स्पष्ट पारे । उनले व्यावसायीहरुसँग इन्ट्रेस्ट बाझिने पक्षको पनि कुरा सुनेर मिलन विन्दु खोज्ने भन्दै सरकारको निर्णय व्यावसायीले मान्नुपर्ने बताए ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गएको वर्षको साउन २६ गते कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएकामा सरकारले आगामी आर्थिक वर्षको बजेटमा घरजग्गा व्यावसायमा थप कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्