ढकतराजु र मिटर परीक्षण उद्योग वाणिज्य संघमा

बुधवार दिउँसो करिब साढे १ बजेको थियो, टनटलापुर घाममा कसैले हातमा ढकतराजु बोकेका थिए भने कोही हातमा मिटर बोकेर उद्योग वाणिज्य संघतर्फ गइरहेका थिए । उनीहरू कुनै आन्दोलनमा नभइ दाङ उद्योग वाणिज्य संघको आयोजनामा नापतौल शिविरमा आफूले प्रयोग गर्ने सामग्री परीक्षण लैजाँदै थिए ।
आफूले प्रयोग गर्दै आएका सामग्री आफ्नै स्थानमा परीक्षण गराउन पाउँदा सहज महसुस भएको व्यवसायीहरूले अनुभव सुनाए ।
व्यवसायी विनोदकुमार विश्वकर्माले आफ्नै ठाउँमा ढकतराजु परीक्षण गराउन पाउँदा सहज भएको बताए । “ढकतराजु परीक्षण गराउन नेपालगञ्ज जानुपर्ने बध्यता थियो तर, शिविरमै परीक्षण गराउन पाउदा सहज भयो,” विश्वकर्माले भने । नेपालगञ्ज जानु पर्दा समयसँगै आर्थिक रूपमा समेत बढी खर्च हुने गर्दछ । जिल्लामा नै यसप्रकारको सेवा पाएपछि व्यवसायीहरूको खर्चसमेत कम भएको छ । परीक्षणका लागि नेपालगञ्ज जानुपर्दा २ दिनसम्म लाग्ने गरेको व्यवसायीहरू बताउँछन् । तर, जिल्लामा केही घण्टामा नै परीक्षण गराउन पाएको विश्वकर्माले बताए । उनले यस प्रकारको शिविर जिल्लामा वर्षमा कम्तीमा १ पटक सञ्चालन गरिनुपर्ने बताए । वर्षमा १ पटक शिविर सञ्चालन गरेमा व्यवसायीहरू जरिवाना तिर्नबाट बच्नेसमेत उनले बताए ।
व्यवसायीलाई सहज सेवा दिनका लागि उद्योग वाणिज्य संघले शिविरको आयोजना गरेको दाङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुशील पोख्रेलले बताए । “हामीले व्यवसायीहरूलाई सहज सेवा दिने उद्देश्यले यस प्रकारको शिविरको आयोजना गरेका हौं,’ कोषाध्यक्ष पोख्रेलले भने । शिविर सञ्चालनका सबै खर्च उद्योग वाणिज्य संघले नै गर्ने उनको भनाइ छ । शिविरमा व्यवसायीहरूले आफ्ना सामाग्रीको चेकजाँच गराउदा थप शुल्क तिर्नुनपर्ने कोषाध्यक्ष पोख्रेलले बताए ।
व्यवसायीहरूको हक हितका लागि स्थापना भएको संस्थाले व्यवसायीहरूलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण वनाउन लागिपर्ने उनको भनाइ छ । उद्योग वाणिज्य संघले हरेक २ वर्षमा यस प्रकारको शिविर सञ्चालन गर्ने गरेको पोख्रेलले बताए । शिविर शनिबारसम्म सञ्चालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । शिविरवाट करिव ५ हजार व्यवसायीहरूले सेवा लिने अपेक्षा छ । शिविरमा सुनचाँदी व्यवसायी, गल्ला व्यवसायी, मिल व्यवसायी, काँचो कपडा व्यवसायी, हार्डवेयर व्यवसायीलगायतले सेवा लिने उनको भनाइ छ । समयमै ढक, तराजु, तथा मिटर परीक्षण नगराउदा व्यवसायीहरूले जरीवना तिर्नु पर्ने वाध्यता रहेको अध्यक्ष भुसालले बताए ।
“शिविर सञ्चालन गर्नेका लागि पटकपटक पहल गरे पनि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयमा जनशक्तिको समस्याले गर्दा समयमै काम हुन सकेको छैन,” अध्यक्ष भुसालले भने । नापतौल कार्यालय सबै स्थानीय तहमा नभए जिल्लामा आवश्यक रहेको उनको भनाइ रहेको छ । शिविर सञ्चालन गर्नका लागि नापतौल कार्यालय नेपालगञ्जबाट ३ सदस्यीय टोली जिल्ला आएको छ ।
–अमरराज आचार्य