Logo

तागेरा रेड वाइनमा मिसावट , उत्पादन र वितरणमा रोक

तागेरा रेड वाइनमा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने एलोभराको ढुसी परेको जुस र रंग मिसाइ वितरण गर्ने गरेको फेला परेको छ । ललितपुरको गोदावरीस्थित पाम फुड वेभरेज टेक्नोलोजी उद्योगबाट उत्पादित तागेरा रेड वाइनमा ढुसी परेको जुस र प्रयोग गर्न नमिल्ने रंग प्रयोग गरी वितरण गर्ने गरेको फेला परेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार गरेको बजार निरीक्षणका क्रममा यस्तो तथ्य फेला परेको हो । विभागले उपभोक्ताको उजुरीका आधारमा सो उद्योगमा अनुगमन गरेको थियो । विभागका खाद्य निरीक्षण अधिकृत ईश्वर सुवेदीले उपभोक्ताको उजुरीको आधारमा पाम फुड वेभरेज टेक्नोलोजी उद्योगमा गरिएको अनुगमनका क्रममा ढुसी परेको जुस र रंग प्रयोग गरेको फेला परेको बताए । रुद्रप्रसाद गिरी सञ्चालक रहेको सो उद्योगले दुषित वाइन उत्पादन गरी वितरण गर्ने गरेको अनुगमनका क्रममा फेला परेको हो ।
“रेड वाइनमा कुनै पनि रंग प्रयोग गर्न पाइँदैन,” खाद्य अनुसन्धान अधिकृत सुवेदीले भने “उद्योगबाट उत्पादित वाईनमा पर्याप्त मात्रामा रंग मिसावट गरेको देखिकाले वाइन जफत गरेका छौं ।” सो उद्योगले स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने गरी रेड वाइन उत्पादन गरेको भेटिएपछि ७० हजार लिटर जफत गरी उद्योगमा शीलसमेत गरेर वितरणमा रोक लगाएको उनले जानकारी दिए ।
सो उद्योगले स्टेभियाको समेत प्रयोग गरी वाइन गराउने गरेको फेला परेको छ । पुरानो म्याद नाघेर प्याकिङ गरेको अनुगमनका फेला परेको विभागले जानकारी दिएको छ । उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने वाईन उत्पादन गरेकाले खाद्य ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्