Logo

आजदेखि भृकुटीमण्डपमा तेस्रो चेम्बर एक्स्पो

राजधानीको भृकुटीमण्डमा (बिहीबार) आजदेखि नेपाल चेम्बर एक्स्पो–२०१७ सुरु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सले बुधबार पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको छ । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तेस्रो संस्करणका रूपमा मेला हुन लागेको जानकारी दिँदै यसपटक प्रस्तुत मेलामा दक्षिण कोरियाले पार्टनर मुलुकको हैसियतमा सहभागिता जनाउने र थाइल्यान्ड फोकस मुलुकका रूपमा सहभागी रहने बताए ।
एक्सपोमा नेपालसहित कोरिया, थाइल्यान्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठवटा मुलुकहरूको सहभागिता रहनेछ । मेलामा कुल २ सय २५ वटा स्टल रहने जनाइएको छ । पत्रकार सम्मेलनमा नेपाल चेम्बर एक्स्पो–२०१७ का संयोजक राष्ट्र भूषण चाकुबजीले मेलामा कोरियाको २३ र थाइल्यान्डका १५ वटा स्टल रहनेछन् । पाँंच दिनसम्म चल्ने मेलामा करिब ३ लाखभन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मेला मंसिर १८ गते सोमबारसम्म चल्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्