Logo

राष्ट्रिय एआई नीति, २०८२

पाँच वर्षभित्र पाँच हजार एआई जनशक्ति, सबै प्रदेशमा एक्सिलेन्स सेन्टर

काठमाडौं– सरकारले आउँदो पाँच वर्षभित्र मुलुकमा पाँच हजार एआई (आर्टिफिसियल इन्टेलिजेन्स) जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।

सबै प्रदेशमा एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने तथा एआई रेडिनेस इन्डेक्समा नेपालको स्थानलाई अघिल्लो ५० औं स्थानभित्र पुर्‍याउने लक्ष्य राख्दै सरकारले ‘राष्ट्रिय एआई नीति, २०८२’ सार्वजनिक गरेको हो ।

एआई नीतिमा यसको उपयोगमार्फत कुल गार्हस्थ्य उत्पादनमा सूचना प्रविधि क्षेत्रको योगदान बढाउने लक्ष्यसमेत राखिएको छ । ‘एआईलाई आर्थिक–सामाजिक क्षेत्रमा अधिकतम उपयोग गरी कुल गार्हस्थ्य उत्पादनमा सूचना प्रविधि क्षेत्रको योगदान थप एक प्रतिशतले वृद्धि गरिनेछ,’ नीतिमा भनिएको छ । एआई प्रविधिमार्फत मानव केन्द्रित, नैतिक र समृद्ध नेपाल निर्माण गर्ने ध्येय राखिएको नीतिमा यसको अधिकतम प्रयोग गरी मुलुकको आर्थिक सामाजिक विकास गर्ने लक्ष्यसमेत राखिएको छ ।

आधारभूत तहका विद्यार्थीदेखि सबै व्यक्तिलाई एआई साक्षर बनाउने तथा दिगो र भरपर्दो एआई इकोसिस्टम निर्माण गरिने नीतिमा उल्लेख छ । यस्तै, एआईको उपयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाइने र एआई गभर्नेन्सलाई प्रभावकारी बनाउने लक्ष्य पनि उल्लेख छ ।

एआई इकोसिस्टमका लागि कानुनी तथा संस्थागत व्यवस्था र पूर्वाधार निर्माण गरिने तथा एआईको क्षेत्रमा अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिई जनशक्ति विकास गरिने नीतिमा भनिएको छ । यसबाहेक समग्र कृषि, उद्योग तथा सेवा क्षेत्रमा एआईको प्रयोग गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गरिने जनाइएको छ । नवप्रवर्तन र उद्यमशीलता अभिवृद्धि मार्फत एआई उद्योगको विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।

सूचना प्रविधि विज्ञ मनोहर भट्टराई नीति समग्रमा राम्रो बनेको र यसको कार्यान्वयनमा सबै पक्षले जोड दिनुपर्ने बताउँछन् । समयअनुसार नीतिनियम परिवर्तन गर्दै गरी समय सान्दर्भिक बनाउँदै जानुपर्नेमा उनको जोड छ । सरकारले एआईको उपयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई स्वचालित, चुस्त र मितव्ययी बनाइने दाबी गरेको छ । यसबाहेक स्टार्टअप र नवप्रवर्तन उद्यमलाई प्रोत्साहन र सहजीकरण गर्न एआई इन्क्युवेसन हबको स्थापना गर्ने तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई एआईको व्यावहारिक ज्ञान प्रदान गर्न छात्रवृत्ति र इन्टर्नसीपको व्यवस्था गर्ने सरकारको लक्ष्य रहेको छ ।

विदेशमा बस्ने नेपाली नागरिकको एआई सम्बन्धी ज्ञानलाई स्वदेशमा उपयोग गर्न ब्रेन–गेन कार्यक्रम सञ्चालन गर्ने, एआईको अधिकतम उपयोग गरी कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, ऊर्जा, यातायात लगायतका क्षेत्रमा उत्पादकत्व र गुणस्तर अभिवृद्धि गरी कुल गार्हस्थ्य उत्पादन बढाउने योजना नीतिले अघि सारेको छ । एआईको प्रयोगमार्फत कृषिजन्य वस्तुको उत्पादन तथा बजार पूर्वानुमान, माटोको अवस्था अनुगमन, रोग तथा कीराहरूको पूर्वानुमान गर्न सकिने जनाइएको छ । यसबाहेक तथ्यांकमा आधारित खेती प्रणाली, बाली तथा रोग अनुगमन, स्मार्ट सिँचाइ तथा किटनाशक औषधिको प्रयोग, पशु स्वास्थ्य रोग अनुगमन, ई–हाटबजार लगायतका कार्यक्रम सञ्चालन गरी कृषि क्षेत्रको व्यावसायीकरण र आधुनिकीकरण गर्ने सरकारको लक्ष्य रहेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिको पहुँचमा समानताको आधारमा नीति सार्वजनिक गरिएको बताए । ‘एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ,’ उनले भने, ‘एआईका उपलब्धिमा सबैले लाभ लिनुपर्छ । नेपाल डिजिटल छलाङको सीमामा उभिएको छ । हाम्रो राष्ट्रिय एआई नीतिले राष्ट्रिय प्राथमिकतासँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको छ ।’’ मन्त्री गुरुङले नैतिकता बिना नवप्रवर्तन जोखिम हो भन्ने मनन् गर्नुपर्ने उल्लेख गर्दै यसलाई पनि एआई नीतिले समेटेको बताए ।

तीन महिनामा एआई नियमन परिषद् बन्ने
सरकारले आउँदो तीन महिनाभित्र एआई नियमन परिषद् गठन गर्ने भएको छ । सञ्चारमन्त्रीको अध्यक्षतामा बन्ने परिषद्मा विभिन्न मन्त्रालयका सचिव तथा दूरसञ्चार प्राधिकरणका अध्यक्ष लगायतका सदस्य रहनेछन् । परिषद्सहित तीन महिनाभित्र राष्ट्रिय एआई केन्द्र, राष्ट्रिय एआई एक्सिलेन्स सेन्टर लगायतका निकाय गठन हुनेछन् । यसलगत्तै नियमनकारी स्यान्डबक्सको समेत व्यवस्था गर्ने नीतिमा उल्लेख छ ।

एआईको विकास र प्रयोगका लागि डाटा सेन्टर र क्लाउड पूर्वाधार निर्माण गर्ने घोषणासहित सरकारले यसमा उच्च कार्यक्षमता कम्प्युटिङसहित विद्युतको आपूर्ति सुनिश्चितता, उच्च गतिको इन्टरनेट लगायतका पूर्वाधारको व्यवस्था गर्ने भएको छ । यसबाहेक एआईमा प्रयोग हुने हार्डवेयर पनि नेपालमै उत्पादन गर्न उद्योग स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । एआईको प्रयोगबाट रोजगारीमा हुन सक्ने कटौतीले पार्ने प्रभाव न्यूनीकरण गर्न संघ, प्रदेश र स्थानीय तहमा रि–स्किलिङ कार्यक्रम सञ्चालन गर्ने तथा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिलाई एआई सम्बन्धी दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने भएको छ ।

स्टार्टअप र नवप्रवर्तन उद्यमलाई प्रोत्साहन र सहजीकरण गर्न एआई इन्क्युवेसन हबको स्थापना गर्ने लगायतका कार्यक्रम नीतिमा उल्लेख गरिएका छन् । एआई प्रणालीको विकास गर्दा स्थानीय भाषाको प्रयोगमा जोड दिने तथा डाटाको खुला आदान प्रदान तथा अन्तर–आबद्धतालाई प्रवद्र्धन गर्ने नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्