Logo

म्याद सकिँदा पनि खानेपानी आयोजना अधुरै

दाङ– घोराही र तुलसीपुरमा खानेपानीको सुविधा पुर्‍याउन थालिएको बबई लिफ्टिङको काम निर्धारित समयमा काम सम्पन्न हुन सकेनन् । खानेपानीका दुई ठूला आयोजनाको म्याद सकिए पनि काम भने पूरा भएको छैन । दाङमा सुरु भएको एक अर्बभन्दा बढीको बबई लिफ्टिङको काम समयमै नसकिएर म्याद थप भएको हो ।

घोराहीमा तीन महिना म्याद थप भएको छ भने तुलसीपुरमा एक वर्षका लागि म्याद थप गरिएको छ । घोराही र तुलसीपुरमा ट्यांकी बनाउनेदेखि पाइपलाइन बिस्तारको काम भइरहेपनि समयमै काम पूरा नहुँदा म्याद थप गर्नुपरेको आयोजनाहरुले जनाएका छन् । बबईबाट दैनिक कम्तिमा दुई करोड लिटर पानी लिफ्टिङ गरी उपभोक्ता माझ पुर्‍याउन थालिएको योजनाको अन्तिम म्याद २०८२ असार मसान्त थियो ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले घोराहीमा र तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तुलसीपुरमा बबईको पानी लिफ्टिङ गरेर उपभोक्तामाझ पुर्‍याउन काम गरिरहेका छन् । दुवै क्षेत्रमा करिब एक करोड लिटरको हाराहारीमा पानी दैनिक रुपमा संकलन गर्ने लक्ष्य अनुरुप सुरु भएको आयोजना समयमै नसकिएको हो । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बबईको पानी लिफ्टिङका लागि भिमेश्वर ड्रिलिङ कम्पनीसँग २०७९ असार २९ गते ठेक्का सम्झौता गरेको थियो ।

२०८२ असार मसान्तसम्म सक्ने गरी ४९ करोड ८५ लाखमा भएको ठेक्काको काम तोकिएको समयमा सकिएन । सुरुको डीपीआरमा ८५ लिटर प्रतिसेकेन्ड पानी भित्र्याउने गरी काम थालिएको पनि पर्याप्तताको आधारमा १२५ लिटर प्रतिसेकेण्ड अर्थात करिब एक करोड लिटरभन्दा बढी पानी दैनिकरुपमा घोराहीमा भित्र्याउने अवस्था देखिएकाले सोही अनुसार काम गर्न म्याद थप गरिएको संस्थाका कोषाध्यक्ष ध्रुव केसीले जानकारी दिए ।

‘मोटर पावर, जेनेरेटर, ट्रान्समिटर, प्रेसर फिल्टरलगायत सबैको पावर बढी चाहिने भएकोले तीन महिना म्याद थपेर काम हुँदैछ’ उनले भने, ‘थप तीन करोड २५ लाख रुपैयाँ छुट्याइएको पनि छ । हालसम्म घोराहीमा बबई लिफ्टिङको भौतिक प्रगति ९१ प्रतिशत भएको छ । यसै महिनाको अन्तसम्म वा दसैं अगाडि नै पानी परीक्षण गर्ने गरी काम भइरहेको छ ।’ मौसमले साथ दिए दसैं अगाडि नै बबईको पानी घोराही झर्ने उनले बताए ।

ओभरहेड ट्यांकी, रिजर्ववेयर साम्पवयर, बोरिङको काम सबै सकिएको र पाइपलाइनको काम पाँच प्रतिशत बाँकी रहेको उल्लेख गर्दै केसीले मोटर आउन बाँकी रहेको तथा ट्रान्सफर्मर र जेनेरेटर जडान गर्न बाँकी रहेको जानकारी दिए । प्रेसर फिल्टर र विद्युत जडानको काम पनि छिट्टै गर्ने तयारी भइरहेको उनले बताए । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको जानकारी दिए ।

एक वर्षभित्रमा पानी ल्याउने लक्ष्य रहेको बताउँदै उनले ठूला संरचनाका काम भइसकेको जानकारी दिए । ‘अब साना काम बाँकी छन् । पाइपलाइनको साना काम, हाउस कनेक्सनको साना–साना काम बाँकी छन् । ठाउँ–ठाउँमा पाइप ज्वाइन्टको काम बाँकी छ’ उनले भने, ‘ठूलो पाइप बिछ्याउने काम, सम्पवेयर बनाउने काम सकियो । ट्यांकी बनाउने काम पनि एउटा मात्रै बाँकी छ ।’ समयमा काम नसकिदा र काम गर्ने क्रममा थप काम पनि माग गरेकाले म्याद थप्नु परेको उनले बताए ।

नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा तुलसीपुरमा पनि खानेपानी आयोजनाको काम भइरहेको हो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबईको पानी लिफ्टिङका लागि धिनेश्वर ड्रिल एण्ड निर्माण सेवा प्रालिसँग २०७९ असारमा ठेक्का सम्झौता गरेको थियो । २०८२ असार मसान्तसम्म सक्ने गरी ५६ करोड ८० लाखमा खरिद सम्झौता भएको काम समयमै नसकिएर थप एक वर्ष म्याद थप भएको छ ।

उक्त ठेक्कामा सरकारको ३८ करोड ८३ लाख र उपभोक्ताको १७ करोड सात लाख रुपैयाँ छ । उपभोक्ताको तर्फबाट अहिले पाँच प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण लिएर काम अघि बढाइएको हो । नगर विकास समितिबाट १४ करोड २२ लाख ऋण लिएको र बाँकी दुई करोड ८४ लाख उपभोक्ताले तिरेका छन् । तुलसीपुरको आयोजनाअन्तर्गत बबईको पानी सुरुमा टरिगाउँ एयरपोर्टस्थित ट्यांकी र तत्कालीन अञ्चल प्रहरी कार्यालय नजिकको ट्यांकीमा ल्याइनेछ । त्यसपछि अन्य सहायक ट्यांकीमा पानी वितरण हुने संस्थाले जनाएको छ ।

तुलसीपुरमा तीन वटा सम्पवेल, त्यसको तीन सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान्ट र ट्यांकी बन्ने ठाउँमा छ वटा मल्टिग्रेड प्रेसर फिल्टर मात्रै नभएर तीनवटा ओभरहेड ट्यांकी, शिखर कोलेनीमा चार सय ५० घनमिटर, मोतीपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० घनमिटर ओभरहेड ट्यांकी, डुम्रिगाउँमा छ सय घनमिटर, चार सय घन मिटरको खर्चवामा र खानेपानी कार्यालय परिसरमा तीन सय घनमिटर क्षमताको अन्डरग्राउन्ड ट्यांकी, शीतलपुरमा पाँच सय घनमिटरको आरभिटी कलेक्सन चेम्बर, दुई स्थानमा तीन सय घनमिटरको इन्टरमिडिएट आरभिटी ट्यांकी र छवटा डिपबोरिङ बनाएर पानी पाइपलाइन मार्फत बजारमा झारिने छ ।

आयोजनामा प्रसारण पाइपलाइन २८.३१ किलोमिटर र पानी वितरण पाइप १२५.७५ किलोमिटर बनाइने छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ११ हजारभन्दा बढी धारा जडान गरेको जनाएको छ भने दैनिक एक करोड लिटर पानी संकलन र वितरण गर्दै आएको छ । बबई लिफ्टिङको आयोजना सम्पन्न भएसँगै कम्तिमा थप दैनिक एक करोड लिटर पानी संकलन हुनेछ । त्यो पानी तुलसीपुरमा आएपछि १५ वर्ष पानीको समस्या नहुने विश्वास लिइएको छ ।

यता पाइपलाइनमार्फत घोराहीको शुक्रबारमा रहेको छ लाख लिटर क्षमताको रिजर्ववयर ट्यांकीमा फिल्टर भएर जम्मा भएको पानी बेसाहीको ट्यांकी र झिगौराको रिजर्ववयर ट्यांकीबाट गुलरियाको ओभरहेड ट्यांकी, घोराही–१४ शिव मन्दिरनेरको ओभरहेड ट्यांकी र घोराही–१५ मा अद्वैत संस्था नजिक रहेको ओभरहेड ट्यांकी, घोराही–१८ ढोडेनीको रिजर्ववयर ट्यांकी र निर्माणा धीन झिगौराको ओभरहेड ट्यांकीमा जम्मा भएर वितरण हुने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

आयोजना सुरु भएपछि घोराही–१४ र १५ मा चार हजारभन्दा बढी नयाँ धारा पनि वितरण हुने बताइएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको भौतिक संरचना दुई हजार ३३५ घनमिटर पानी अट्ने क्षमताको छ । प्रतिसेकेन्ड १३० लिटर पानी सञ्चय गरिने र प्रतिदिन ६० लाख लिटर पानी वितरण गर्ने गरेको संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्