अनलाइनमा भान्छा «

अनलाइनमा भान्छा

युवाहरूमा आएको नयाँ सोच र प्रविधिको प्रयोगबाट हुने अनलाइन बजारले हालैका दिनमा जीवनशैलीमा धेरै परिवर्तन ल्याएको देख्न सकिन्छ । सहरी व्यस्ततासँगै सहज रूपमा बजारमा पाइने सेवा घरसम्म आइपुग्ने प्रविधिप्रति आकर्षण बढ्नु स्वभाविक नै हो ।
प्रविधिको उचित प्रयोगले जीवनशैली परीर्वतन भएसँगै पछिल्लो समय अनलाइन बजारले मानिसका हरेक आवश्यकता पूरा गरिरहेको छ । त्यसैले यसप्रति युवाहरूको क्रेज पनि बढ्दै गइरहेको छ । चाहे लगाउने लुगा होस् वा खानेकुरा नै, अब ग्राहकहरू अनलाइनमार्फत् त्यसको परिपूर्ति गर्न लागिरहेको देखिन्छ ।
नेपाली धोबीडटकम, सारथी, खाली सिसिडटकम, दराजडटकम जस्ता अनलाइनको माध्यमबाट समाजमा रहेको समस्याको सामाधानलाई नयाँ सोचका साथ उद्यमशीलतामा बदल्ने युवाको संख्या पनि पछिल्ला वर्षहरूमा बढिरहेको छ ।
चाहे घरमा होस् वा अफिसमा, भोक लागेको बेलामा रेष्टुराँ वा होटलसम्म पुग्न नभ्याउने वा अर्डर गरेको खाजा छिटो र मिठो होस् भनेर धारणा राख्नेहरूको व्यस्त कामकाजीहरूको लागि अनलाइन फास्टफुड डेलिभरी गर्नेहरू पनि धेरै भइसकेका छन् ।
‘भोक लाग्यो’का सस्थांपक अभिषेक गुरुङका अनुसार अनलाइन खानाको बजारलाई व्यवस्थित गर्न सरकारले अनलाइन उद्यमीहरूको लागि एउटा राम्रो अवसर दिन जरुरी देखिन्छ । यसका साथ–साथै अभिभावकहरूले पनि डिग्रि गर्न र सर्टिफिकेट लिने शिक्षामा मात्र ध्यान नदिई व्यवहारिक शिक्षामा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । पछिल्लो समय डिग्री लिने र बाहिर जाने प्रवृत्ति बढ्दै गइरहेको छ ।
यसलाई कम गर्न पनि नेपालमा नै यस्ता उद्यमशीलतको प्रबद्र्धन गर्न आवश्यक रहेको उनको तर्क छ । “पछिल्लो समय युवामा भएको नयाँ सोचको उद्यमशिलताको बजारमा निकै माग रहेको छ, तर नयाँ काम गर्न चाहने युवाहरूलाई बजारमा कस्तो किसिमको समस्या रहेको छ, त्यो बुझ्नु जरुरी देखीन्छ,” उनी भन्छन्, “जुन काम गरिन्छ, त्यसमा एउटा उद्देश्यका साथ लिएर अघि बढ्यो भने पक्कै पनि सफलतामा पुग्न सकिन्छ ।”

फुडमाण्डु
अनलाइन र कलिङ फास्टफुड सेवामा पहिलो सेवाको रूपमा पनि मान्न सकिने फुडमाण्डुका संस्थापक मनोहर अधिकारी आठ वर्षको अवधिमा यस संस्थाले ग्राहकको मन जित्न सफल भइसकेको बताउँछन् । हाल ३०० को हाराहारीमा रेष्टुराहरूसँग आवद्ध रहेको फुडमाण्डुले ग्राहकको सेवा परिपूर्ति गरिरहेको छ । साथै ९० जनालाई रोजगारी पनि सिर्जना गरिरहेको छ ।
सहरी क्षेत्रको व्यस्तालाई मध्यनजर गरेर नै करिब आठ वर्षपहिला स्थापाना भएको यस संस्थाले हालको दिनमा आफ्नो छुट्टै ब्रान्ड बनाइसकेको छ । बिहान ११ः३० देखि साँझ ८ः ३० सम्म ग्राहकको सेवामा लाग्ने यस संस्थालाई आजको दिनमा फर्केर हेर्दा एक सफल उद्यमशिलताको उदाहरण पनि भन्दा हुन्छ । आज खाजाको लागि एक दर्जन अनलाइन र कलिङ फुड अर्डर गर्न संस्था स्थापना भइसकेका छन् र यिनीहरूको बजार निकै राम्रो पनि रहेको छ । टिफिन बक्स, भोक लाग्यो, पिज्जा कटरजस्ता संस्थाले पनि बजार र ग्राहकको राम्रो प्रतिकृया पाइरहेका छन् ।
अर्डरको संख्याको रुपबाट हेर्ने हो भने मःम अर्डर बढी भएको पाइन्छ । राजधानीमा मात्र मःमको व्यापार दैनिक १५ करोड, मासिक पाँच अर्ब र वार्षिक छ अर्बको हुने अनुमान छ । यसैगरी अनलाइनमा पनि मःमकै माग बढी आउने गरेको फुडमाण्डुका ब्रान्ड म्यानेजर श्यामरत्न मालीले बताएका छन् । यसैगरी फुडमाण्डुमा खाजा अर्डर गर्न चाहने व्यक्तिले एप, कल र अनलाइनबाट अर्डर गर्न सक्छन् । यसकासाथै आफूलाई मनपर्ने रेष्टुराँ र मेनु हेरी खाजा अर्डर गर्ने सुविधा फुडमाण्डुले ग्राहकलाई दिएको छ । यस्ता संस्था उद्यमशीलमा मात्र अघि बढिरहेको छैन । यसले स्वदेशमै बेरोजगार युवाहरूलाई पनि रोजगारीको सिर्जना गराएको छ ।
अफिसको समयमा सरीमा पहरी फुडमाण्डुबाट खाजा अर्डर गर्छिन् । उनले यसो गरेको १ वर्ष भइसकेको छ । “कहिलेकाही परिवारसँग हुँदा पनि घरमै खाजा अर्डर गर्न गरेको छु,” उनी भन्छिन्, “रेष्टुराकै मूल्य पर्ने र आफूलाई मनपर्ने रेष्टुराँबाट पनि खाजा अर्डर गर्न मिल्ने भएकाले म फुडमाण्डुबाट नै खाजा अर्डर गरिरहेकी हुन्छु ।”

भोक लाग्यो
हामीमध्ये धेरै व्यक्तिले खाजा खाने समय होस् वा खाना खाने समय नै किन नहोस् भोक लाग्यो त पक्कै पनि भनेकै हुन्छौं । भोक लाग्योको स्थापना पनि यहीबाट सुरु भएको हो । तपाईं हामीकै समस्यालाई उद्यमको रुपमा बदलेका छन्, दुई युवाहरूले आइटीमा ब्याचलर गरेका अभिषेक गुरुङ र मार्केटिङमा ब्याचलर गरेका सीजे उजेले । नेपालमा पहिलो राति फुड डेलिभरी गर्ने संस्थाको रुपमा भोक लाग्योलाई लिन सकिन्छ ।
यसको स्थापनाको कथा पनि निकै रमाइलो रहेको छ । अभिषेक गुरुङका अनुसार एक वर्षअघि रातीको समयमा उनलाई भोक लागिरहेको थियो । फ्रिजमा खाना खोज्दा उनको साथी र उनले पाएनन् । रातीको समय भएकोले बाहिर पसलहरू पनि खुल्ने कुरा भएन । त्यसैले यहीबाट उनीहरूले भोक लाग्योलाई आफ्नो मात्र नभई समाजकै समस्याको रुपमा अनुभूति गरी यही समस्यालाई उद्यममा परीणत गरे । “तर सुरुमा बजार कस्तो रहला भन्ने दोधारमा रहेको थियो, उनी भन्छन्, तर केही महिनामा यसको राम्रो प्रतिकृया पाएपछि भने यसलाई सफल व्यवसायको रुपमा एक कदम अघि बढ्ने हौसला पनि मिलेको छ ।”
भोक लाग्यो नामैले परिचित भएको अभिषेक गुरुङले बताएका छन् । “हामीले समस्यालाई नै नाम दियांै र नामले नै बजारमा हामीलाई परिचित गराएको छ । ग्राहकहरूले उपत्यका बाहिर धरान, विराटनगर र अन्य क्षेत्रबाट यसको शाखा विस्तारको लागि पनि ल्याउनुपर्ने मागले अझ कार्यमा हौसला मिलेको छ,” उनले भने, “सुरुका दिनमा हामीले राति आठ बजेदेखि चार बजेसम्म राति अर्डर लिने काम ग¥यौं । विशेषगरी विद्यार्थी र रातीको समयमा काम गर्ने र साँझ घर फर्कने व्यक्तिहरूले खाजा अर्डर गर्थे । हाल हामीले दिउँसोको समयमा पनि खाजा अर्डर गरिरहेका छौं ।”
यसको साथै भोक लाग्योको आफ्नै भान्छाकोठाबाट तयार गरिएको खाजामा ग्राहकको स्वास्थ्यलाई पनि निकै ध्यान दिएको पाइन्छ । जसमा उनीहरू घरमा तयार गर्न जसरी नै अर्गानिक खाजा ग्राहकको ढोकासम्म पु¥याउने गरिरहेको बताउँछन् । एक वर्षको अवधिमा ग्राहकको संख्या बढिरहेका उनले बताए ।
अभिषेक गुरुङका अनुसार सफल उद्यमी बन्नको लागि युवाहरूलाई समाजमा वा बजारमा कस्तो किसिमको समस्या रहेको छ बुझेर त्यहि समस्यालाई समाधान दिने उद्यम गर्दा सफल हुन्छ ।
सरकारले पनि यस्ता क्षेत्रमा युवालाई प्रेरणा गरेमा वैदेशिक रोजगार जाने युवामा केही कमी आउने उनले बताएका छन् । यसका साथ–साथै युवाहरू आफ्नै देशमा उद्यमशील हुन सक्छन् । तर बजार निकै ठूलो हुँदा हुँदै पनि हालको समस्या भनेको ई–सेवा एवं स्वाइप मेसिनको प्रयोग नहुनु रहेको उनीहरू बताउँछन् ।

पिज्जा कटर
पिज्जा कटरको स्थापना भएको तीन वर्ष भइसकेको छ । यो अवधिमा पिज्जा कटरले आफ्नो ग्राहकको मन जित्न सफल भएको छ । पिज्जा कटरका सञ्चालक शैलेन्द्र घिमिरेका अनुसार पछिल्लो समय व्यस्तताका साथसाथै अनलाइन एवं फोनको माध्यमबाट खाजा अर्डर गर्न ग्राहकको संख्या बढ्दै गइरहेको छ ।
ग्राहकको स्वास्थ्य र शुद्ध खाजामा विशेष ध्यान दिने र सेवामा निरन्तर काम गर्दा ग्राहकको संख्या बढ्ने उनले बताए । जावलाखेल, वसन्तपुर, बानेश्वर, पुतलीसडक, चुच्चेपाटि, लाजिम्पाट, नक्साललगायत हाल नौ वटा शाखा विस्तार गरिसकेको यस पिज्जा कटरले उपत्यका बाहिर हेटौंडामा पनि शाखा स्थापना गरिसकेको छ ।
फाष्टफुडको रुपमा र खाजाको रुपमा पिज्जालाई ग्राहकले लिने गरेको उनको अनुभव छ । “विशेषगरी १२ बजेदेखि ७ बजेसम्म हामी काममा बढी व्यस्त हुन्छौं,” उनी भन्छन्, “हामीसँग हाल ६०–७० जना स्टाफहरू रहेका छन् ।”
घिमिरेका अनुसार हाल डेलिभरीमा १५ प्रतिशत रहेको छ भने ८५ प्रतिशत ग्राहकहरू प्रत्यक्ष रुपमा आउने गरेका छन् । विशेषगरी युवाहरूमा अरुको कामको नक्कल गरेर हैन, आफूमा भएको उद्यमशीलतालाई नै अघि बढाएमा सफलता हासिल गर्न सकिने उनको अनुभव छ ।
-रिना खत्री

 

प्रतिक्रिया दिनुहोस्