Logo

चन्द ८६ वर्ष लागेको अवसर पारेर पुस्तकको कभर सार्वजनिक

पूर्व प्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ पुस्तक आउँदै


काठमाडौं– पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथामा आधारित पुस्तक ‘लोकेन्द्रबहादुर चन्द’ चाँडै बजारमा आउने भएको छ । लेखन कुञ्जले प्रकाशन गर्ने यो आत्मकथा पुस्तकको शनिबार आयोजित एक कार्यक्रममा कभर सार्वजनिक गरियो । पूर्व प्रधानमन्त्री चन्द ८६ वर्ष प्रवेश गरेको अवसर पारेर कुञ्जले चन्दकै निजी आवास भक्तपुरको लोकन्थलीमा कभर सार्वजनिक गरेको हो ।

मुलुकको चार पटक प्रधानमन्त्री बनेका चन्दले साहित्यमा सबैभन्दा ठुलो पुरस्कार मदन पुरस्कार पनि प्राप्त गरेका थिए । चन्दका एक दर्जन भन्दा धेरै पुस्तक प्रकाशित भइसकेका छन् । प्रकाशन गृह लेखन कुञ्जले चन्दको यो आत्मकथा आउँदो जेठ भित्रमा प्रकाशन गर्ने जानकारी दिएको छ । कुञ्जका अनुसार आत्मकथा पुस्तकमा पूर्व प्रधानमन्त्री चन्दले जीवन कालमा भोगेका, देखेका सबै विषयवस्तुलाई समेटिएको छ ।

‘पश्चिम पहाडको बैतडीबाट जीवन सुरु गरेका चन्द कसरी मुलुकको चार पटक प्रधानमन्त्री बन्न सक्नुभयो ? उहाँको कार्यकालमा के कस्ता कामहरु भए ? राजनैतिक र साहित्यिक जीवनमा के कस्ता उतार चढाव आए ? लगायतका सबै विषय पुस्तकमा समेटिएका छन्,’ लेखन कुञ्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पूर्व प्रधानमन्त्री चन्द राजनीतिमा पनि सालिन र भद्र नेताका रुपमा चिनिन्छन् । अहिलेको राजनीतिमा अनियमितता, भ्रष्टाचार जस्ता विषयले अधिकांस राजनैतिक नेताहरु विवादमा तानिएका छन् । तर मुलुकमा चार पटक प्रधानमन्त्री बन्दा पनि चन्द कुनै पनि विवादमा अहिलेसम्म तानिएका छैनन् । राजनीति बाहेक साहित्य लेखनमा पनि चन्द उत्तिकै सक्रिय छन् ।

गत २०५४ मा ‘विसर्जन’ नामक पुस्तकका लागि चन्दलाई मदन पुरस्कार प्रदान गरिएको थियो । नेपाली साहित्यको यो सबैभन्दा ठुलो पुरस्कार हो । आत्मकथा पुस्तकको कभर सार्वजनिक कार्यक्रममा छोटो मन्तव्य दिंदै चन्दले लेखन कुञ्जले आत्मकथा प्रकाशित गर्न लागेकामा धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्