कतार छाडेर भैरहवामा कैंची चलाउन रमाएका तैयब

भैरहवा– तैयब अलि पेसाले कपाल काट्ने काम सैलुन गर्छन् । ३२ वर्ष देखि यो पेसा गरेका उनले पुख्र्यौली पेसाका रुपमा यो पेसालाई उनले अहिले पनि अँगालेका छन् । उनको बुवाको भैरहवा बर्मेलीटोलमा नेपाल हेयर कटिंग सञ्चालनमा थियो । बाबासँग सानै उमेरदेखि पसल जाने गरेका उनले बिस्तारै कपाल काट्न सिकेका थिए ।
बुबाको उमेर ४४ वर्ष हुँदा अल्सरका कारण निधन भयो । त्यतिबेला उनको उमेर ११ वर्ष मात्रै थियो, अहिले ५० वर्षका छन् तैयब । ‘बुबाको निधनपछि एक वर्षसम्म जसोतसो नेपाल हेयर कटिङ सञ्चालन भयो । त्यसपछि भने सधैँका लागि बन्द भयो’ उनले भने, ‘बुबा सँगसँगै आउँदा मैले कैंची चलाउन सिकिसकेको थिएँ, काम सिकाउँदै गर्दा बुबाको निधन भयो तर मैले पेसा छाडिन, हामीलाई आफ्नो पसल चलाउन गाह्रो भया, पछि पसल नै बन्द गर्न बाध्य भइयो ।’
त्यसपछि उनी रोजगारीका क्रममा नेपालका विभिन्न स्थानमा गएको बताउँछन् । काठमाडौंको पाँचतारे हायातमा २ वर्ष काम गरेको स्मरण गर्दै तैयबले भने, ‘करिब ८ वर्ष नेपाल र भारतको दिल्ली, बम्बई, लखनउलगायतमा कपाल काट्ने काम गरें । नेपाल र भारत पछि मैले सन् २००५ मा कतारमा जाने मौका पाएँ ।’ ६ महिना काम गरेपछि आफैंले सैलुन ७ हजार रियालमा खरीद गरी एकजना कामदार समेत राखेर व्यवसाय सुरु गर्दा मासिक ९० हजारसम्म बचत गरेको उनी स्मरण गर्छन् ।
१० वर्ष कतारमा बसेका उनी प्रत्येक ६ महिनामा भैरहवा आउने जाने गरेका थिए । सन् २०१७ मा घर बिदामा आएका उनी त्यसपछि फर्केर कतार जान चाहेनन् । आफ्नै देशमा केही गरौं भन्ने सोच आयो र कतारमा सञ्चालनमा रहेको हेयर कटिङ पसल त्यसै छाडे । नेपालमै केही गरूँ भन्ने हुटहुटी थियो, एक दुई वर्ष त्यसै बित्यो, पछि कोरोना सुरु भयो, केही गर्न पाएनन् । कोरोना कम भएपछि ३ वर्ष अघि भैरहवा मैत्रीपथमा अनइच युनिसेक्स सैलुन ९ लाख खर्च गरी सञ्चालनमा ल्याएको उनी बताउँछन् ।
‘अहिले व्यापार छैन । कपाल काट्ने युवा कोही खाडी त कोही युरोप दिनहुँ गइरहेका छन्’ उनले भने, ‘अहिले मलाई कतारमा राम्रो चलेको व्यवसाय छाडेर नेपालमै केही गर्छु भनेर कतार नजाने निर्णय जिन्दगीको ठूलो भुल र गल्ती गरेको महसुस भएको छ’ उनले भने । उनले राम्रो काम गरीरहेका साथीभाइलाई नेपालमै केही गर्छु भन्ने सोच छ भने तत्काल त्यहाको काम छाडेर नआउन आग्रह गरेका छन् ।
कतार हुँदा मासिक ९० हजार बचत गर्ने उनि अहिले यहा आएर ऋणको भार थपिएको बताउँछन् । ‘पसलको आम्दानीले घरभाडा र दुई कामदारको तलब मुस्किलले पुग्ने गरेको उनी बताउँछन् । अहिले पसल आउने जाने मात्र भइरहेको छ’ उनी भन्छन् । उनी सिद्धार्थनगर नगरपालिका–८ बसडिलवा, शिव मन्दिर क्षेत्रमा श्रीमती, ३ छोरी र एक छोराका साथ बस्दै आएका छन् ।