बसन्तपुरमा क्याफे कफी डे

नेपालमा आक्रमक रूपमा बजार विस्तार गरिरहेको भारतीय मल्टिनेसनल कफी ब्रान्ड क्याफे कफी डे (सीसीडी)ले एक वर्षको बीचमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बसन्तपुर दरबार स्क्वायर सीसीडीको नयाँ आउटलेट शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । सीसीडीको नेपालमा बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेसनलले एक वर्षअघि ललितपुरको कुमारीपाटीमा पहिलो आउटलेट स्थापना गरेको थियो ।
बसन्तरपुरको आउटलेटको उद्घाटन शुक्रबार विश्व बैंकका नेपाल प्रतिनिधि रशिद रियानले गरेका हुन् । १ करोडभन्दा बढीको लगानीमा सञ्चालनमा आएको यस कफी सपमा कफीका बिभिन्न भेराइटीका अलावा फास्टफुड पनि उपलब्ध हुनेछ । नेपालमा बढ्दै गएको कफी कल्चरलाई लक्षित गरी भविष्यमा नेपालकै सबैभन्दा ठूलो कफी चेन नेटवर्कको रुपमा स्थापित गर्ने लक्ष्यअनुसार सीसीडीको बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेसनलका प्रमुख रवि टिबडेवालले जानकारी दिए । उनले आक्रामक बजारीकरणको कुरा गरिरहँदा काठमाडौंकै दरबारमार्ग र बानेश्वरमा पनि छिट्टै सीसीडीका नयाँ आउटलेटहरु खुल्ने जानकारी गराए । त्यस्तै उपत्यका बाहिर पोखरा, चितवन, बुटबल, धरान, विराटनगर लगायतका सहरहरुमा साथै राजमार्ग लक्षित गरेर पनि आउटलेट स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए ।