Logo

व्यवसायको माग पूरा गर्न दबाब

कैलाली उद्योग वाणिज्य संघको यही वैशाख २२ गते हुन गइरहेको निर्वाचनमा नक्कली सदस्य थपिएको भन्दै मतदाताहरुले विरोध गरेका छन् । बुधबार उद्योग वाणिज्य संघ, कैलालीका मतदाताहरुले प्रदेश नं.७ को मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै चुनाव अगाबै नक्कली सदस्यका बारेमा छिनोफानो नभए उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
उद्योग वाणिज्य संघको निर्वाचनको पूर्वसन्ध्यामा आएर नक्कली सदस्य थप्ने र चुनाव जित्ने प्रतिस्पर्धाले करिब ९ हजार सदस्यमध्ये नयाँ र पुराना गरी ४ हजार २ सयभदा बढी नक्कली सदस्य थपिएको भन्दै व्यवसायहरु आन्दोलनमा उत्रेका हुन् ।
गत वर्ष चैत १३ र १४ गते मात्रै कैलाली उद्योग वाणिज्य संघमा १ हजार २ सयभन्दा बढी गैरव्यवसायीहरु संघको सदस्य थपेको नक्कली सदस्य संघर्ष समितिका संयोजक जयराज न्यौपानेले बताए । ती सदस्यहरुको उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य कार्यालय र आन्तरिक कार्यालयमा समेत दर्ता नरहेको र एउटै व्यक्तिले उद्योग वाणिज्य संघको खातामा ९ लाख र ६ लाख गरी १५ लाख रुपैयाँ बराबरको चेक कैलाली उद्योग वाणिज्य संघको खातामा जम्मा गरि संघको सदस्यता प्राप्त गराएको जानकारी दिए । वास्तविक सदस्यहरुले हालसम्म नवीकरणका लागि दिएको कार्ड समेत उपलब्ध हुन सकेको छैन ।
नक्कली सदस्यता वितरण उद्योग वाणिज्य संघको विद्यानविपरीत छ । संघमा सदस्यता प्राप्तका लागि उद्योग भएको स्थानको वडा कार्यालयद्वारा सिफारिस, घरेलु तथा साना उद्योग कार्यालयको सिफारिस, वाणिज्य कार्यालयमा पठाउने र त्यहाँबाट इजाजतपत्र लिई आन्तरिक राजस्व कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान छ ।
०७४ साल चैत २३ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा वास्तविक व्यावसायिक समूहले दिएको उजुरीको छानबिन भइरहेको अवस्थामा स्वयं संस्था र वास्तविक व्यवसायीको हितविपरीत कैलाली उद्योग वाणिज्य संघले घोषणा गरेको निर्वाचनको मिति खारेजी गरिनुपर्ने संघर्ष समितिका अध्यक्ष जयराज न्यौपाने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्