Logo

नेटवर्किङको आवरणमा ठगी

गैरकानुनी नेटवर्किङ व्यवसायबाट सर्वसाधारण ठग्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले आइबोस ग्लोबल मार्केटिङ प्रालीको नामबाट अबैध नेटवर्किङ धन्दा सञ्चालन गर्ने गिरोहलाई व्यूरोले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार पक्राउ पर्नेहरूमा उक्त अबैध कम्पनीका सञ्चालक काभ्रेका ३५ वर्षीय राजकुमार दंगाल तथा सदस्यता बनाउने दोलखाका नारायण सिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, तिर्सना सुनुवार, पूर्णबहादुर श्रेष्ठ, रविन नेपाली र सोलुखुम्बुका प्रदीप राई छन् । चाबहिलको चुच्चेपाटी स्थित कार्यालयमा छापा मारी व्यूरोको टोलीले ६६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जना मूख्य अभियुक्त भएको खुलेको छ । हिरासतमा लिइएका ५९ जनालाई भने सोधपुछ गरी छाडिएको छ ।
ब्यूरोका एसपी जीवनकुमार श्रेष्ठका अनुसार यो गिरोहले पिरामिड शैलीमा सर्वसाधारणलाई सदस्यता बाँडेर मोटो रकम ठग्ने गरेको खुलेको छ ।पक्राउ परेका सातैजना विरुद्ध ठगी अभियोगमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको व्यूरोले जनाएको छ । यसअघि पनि काठमाडौंमा नेटवर्किङ गिरोह सक्रिय हुने गरेको थियो । तर ब्यूरोले त्यस विरुद्ध कारबाहीलाई सक्रिय बनाएपछि नेटवर्किङमा संलग्न गिरोहले शैली परिवर्तन गरी अनलाइन मार्फत सदस्यता बनाउन थालेका हुन् । अनलाइनबाट नेटवर्किङ धन्दा चलाउने गिरोहको संख्या बढेका कारण अनुसन्धानमा केही कठिनाई भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्