भ्याट, कर दिवस तथा करसम्बन्धी चुनावी बहस

आज १ मंसिर २०७४, मूल्य अभिवृद्धि कर एक्काइसौं वर्ष प्रवेश गरेको दिन । आज छैटौं राष्ट्रिय कर दिवस पनि । आजै हो, संघीय नेपालमा पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने महिनाको पहिलो दिन ।
मूल्य अभिवृद्धि कर
नेपालको कर प्रणालीमा आमूल सुधार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि कर लागू गर्न वि. सं. २०५० भदौदेखि तयारी कार्य सुरु गरिएको थियो र यससम्बन्धी विस्तृत तयारी गरिएपछि यस करलाई मंसिर १, २०५४ देखि लागू गरिएको थियो । यो कर लागू भएको सुरुका केही वर्षमा मंसिर १ गते मूल्य अभिवृद्धि करको जन्म दिवस मनाइयो । यो कर कार्यान्वयनसम्बन्धी समीक्षा गर्न कर पाँचौ वर्षमा पुगेको उपलक्ष्यमा २०५८ मंसिर महिनाको पहिलो साता त भव्य कार्यक्रम गरिएको थियो, जसलाई तत्कालीन अर्थ राज्यमन्त्री भरतकुमार शाह, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी तथा रवीन्द्रनाथ शर्मा, डा. रूप ज्योति, अर्थसचिव डा. विमल कोइरालालगायतका विभिन्न महानुभावले सम्बोधन गर्नुभएको थियो भने मैले मूल्य अभिवृद्धि करको तर्जुमा, तयारी तथा कार्यान्वयनसम्बन्धी प्रस्तुति गरेको थिएँ । सो अवसरमा आन्तरिक राजस्व विभागले ‘मूल्य अभिवृद्धि कर कार्यान्वयनका चार वर्ष’ शीर्षकको पुस्तक नै प्रकाशित गरेको थियो ।
कर दिवस
नेपालको कर प्रणालीमा मूल्य अभिवृद्धि करको अहं भूमिकालाई मध्यनजर गरी नेपाल सरकार, अर्थमन्त्रालय, आन्तरिक राजस्व विभागले वि. सं. २०६९ देखि नेपालमा मूल्य अभिवृद्धि कर लागू गरिएको दिन मार्ग १ गतेलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ । यस दिन करसम्बन्धी जनचेतना जगाउने र सबभन्दा बढी कर तिर्ने, करसम्बन्धी औपचारितकताहरू राम्रोसँग पालना गर्नेे, कर प्रणाली तथा कर प्रशासनको विकासमा सघाउने, कर प्रणालीलाई राम्रोसँग कार्यान्वयन गर्न मद्दत गर्ने करदाता, कर प्रशासक, कर विज्ञ तथा कर व्यवसायीहरूलाई सम्मान गरिन्छ । मैले पनि मूल्य अभिवृद्धि करको तर्जुमा तथा कार्यान्वयनमा महŒवपूर्ण भूमिका निर्वाह गरेबापत तेस्रो राष्ट्रिय कर दिवस–२०७१ र नेपालको कर सुधारमा ठूलो योगदान दिएबापत पाँचौ राष्ट्रिय कर दिवस–२०७३ का अवसरमा सम्मानित हुने अवसर पाएको थिएँ । कर दिवसका उपलक्ष्यमा आन्तरिक राजस्व विभागले नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सलगायतका विभिन्न संस्थासँग साताभर विभिन्न किसिमका करसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
कर दिवससम्वन्धी अन्तर्राष्ट्रिय प्रचलन
मुलुकको विकासका लागि अति आवश्यक पर्ने राजस्व परिचालन गर्ने सबैभन्दा महŒवपूर्ण स्रोत कर भएको र मुलुकको वित्तीय नीति कार्यान्वयन गर्ने महŒवपूर्ण अस्त्र पनि कर नै भएकाले यसका बारेमा मुलुकका बासिन्दा तथा गैरबासिन्दा सबैलाई राम्रो जानकारी हुनु जरुरी छ । त्यसलाई विचार गरेर करसम्बन्धी जनचेतना बढाउन हाल विभिन्न देशमा अन्य कुराका साथै वर्षको कुनै एक दिनलाई कर दिवसका रूपमा मनाउने प्रचलन बढ्दो छ । यस सन्दर्भमा पश्चिम अफ्रिकी मुलुक लाइबेरियाले पनि ‘एउटा असल करदाता, राष्ट्रनिर्माता’ भन्ने नारासहित जुलाई १ तारिखलाई यही सन् २०१७ देखि ‘करदाता सराहना दिवस’ (ट्याक्सपेयर एप्रिसियसन डे) का रूपमा मनाउन थालेको छ । लाइबेरियाका उपराष्ट्रपति जोसेफ एन बोकाईलगायत विभिन्न उच्च राजनीतिज्ञ, नीति–निर्माता, कूटनीतिज्ञ, करदाता, कर प्रशासक तथा कर विज्ञको ठूलो उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, करदातालाई सम्मान गर्ने गीतहरू, प्रवचन तथा करदातालाई सम्मान गर्ने कार्यहरू गरिएका थिए । सन् २०११ को शान्ति नोवेल पुरस्कार विजेता राष्ट्रपति म्याडम एलेन जोन्सन सिरलिफले सन् २०१७ को जुलाई १८ तारिखका दिन राष्ट्रिय राजस्व संगोष्ठी सञ्चालन गर्दै मुलुकमा कर तिर्ने संस्कारको राम्रो विकास गर्न र विभिन्न मन्त्री, राजनीतिज्ञ, न्यायाधीश तथा उच्च प्रशासकहरूले नमुना बन्नुपर्ने बताएकी थिइन् । लाइबेरियाको कर प्रशासनलाई उच्च ओहदामा रहेका सबैले कानुनअनुसार तिर्नुपर्ने कर तिरेको छ÷छैन जाँच गर्न निर्देशन दिएकी थिइन् ।
यो कुरा नेपाललगायत विश्वका सबै मुलुकका लागि त्यत्तिकै सान्दर्भिक छ । मुलुकको कर प्रणालीलाई सही तथा प्रभावकारी रूपमा लागू गर्न उद्योगी, व्यापारी तथा व्यावसायी मात्र नभई जुनसुकै स्रोतबाट आय आर्जन गर्ने जो–सुकैले पनि कानुनअनुसार तिर्नुपर्ने कर तिर्नुपर्छ । यसका लागि मुलुक सञ्चालन गर्ने महŒवपूर्ण ओहदामा रहेकाहरू नमुना बन्नुपर्छ । यसरी समाजका सबै वर्ग तथा तप्काले आफ्नो कर तिर्ने क्षमताअनुसार योगदान दिएमा कर प्रणाली समान हुन्छ र सामाजिक न्याय प्राप्त हुन्छ । यसैगरी कर प्रणालीलाई आर्थिक विकासको बाधक होइन, उत्प्रेरक हुने किसिमले लागू गरिनुपर्छ । त्यसका लागि कर प्रणाली आर्थिक तथा प्रशासनिक हिसाबले सक्षम हुनुपर्छ । त्यस सन्दर्भमा सही किसिमको करको छनौट गरी त्यसको उपयुक्त किसिमको संरचना तथा सञ्चालन प्रक्रिया तय गरी त्यसलाई प्रभावकारी रूपमा लागू गर्नुपर्छ ।
चुनावको सन्दर्भमा करको बहस
मुलुक सञ्चालनमा करको महŒवपूर्ण भूमिकालाई मध्यनजर गरेर चुनावको समयमा कर ठूलो बहसको विषय बन्ने गरेको छ । चुनावको मुखमा राष्ट्रपतिका उम्मेदवार वा राजनीतिक दलका प्रमुख वा प्रतिनिधिहरूले विभिन्न कार्यहरू गर्ने आश्वासन दिन्छन् तर ती कार्यहरू गर्न स्रोत कसरी जुटाउने भनेर उपायहरू दिँदैनन् । यसैले हालैका वर्षहरूमा चुनावपूर्व राष्ट्रपतिका उम्मेदवार वा विभिन्न राजनीतिक दलका प्रमुख वा प्रतिनिधिलाई कर सुधारसम्बन्धी विभिन्न प्रश्न सोधेर तिनीहरूको कर सुधार सम्बन्धी अवधारणालाई चुनावअगाडि मतदातासमक्ष राख्ने प्रचलन छ । यसैगरी चुनावअगाडि राष्ट्रपतिका उम्मेदवार वा राजनीतिक दलका प्रमुख आदिका लागि गरिने राष्ट्रिय बहसको समयमा पनि कर सुधारसम्बन्धी प्रश्नहरू पनि सोधिने गरिन्छन् ।
उदाहरणका लागि फिलिपिन्सको २०१६ को राष्ट्रपतिको चुनावमा ट्याक्स म्यानेजमेन्ट एसोसिएसन अफ द फिलिपिन्सले ‘चुनाव कर नीति सर्वेक्षण–२०१६’ तयार गरी राष्ट्रपतिका सबै उम्मेदारलाई भर्न लगाएको थियो । सो सर्वेक्षण राष्ट्रपतिका सबै उम्मेदवारले भरेका थिए र त्यसलाई विश्लेषण गरेर तिनीहरूको कर सुधारसम्बन्धी अवधारणा मतदातालाई जानकारी गराउन विभिन्न माध्यमद्वारा सार्वजनिक गरिएको थियो ।
यसैगरी लाइबेरियाको २०१७ को राष्ट्रपतिको चुनाव पूर्व लाइबेरियन इन्स्टिच्युट अफ ट्याक्स प्राक्टिसनरले ‘नेसनल इलेक्सन ट्याक्स सर्भे–२०१७’ तयार गरेको थियो । सर्वेक्षणमा व्यापक कर सुधारदेखि मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, आयकर, कर प्रशासन, राजस्व परिचालन लगायतका विभिन्न प्रश्न सोधिएका थिए, जसलाई राष्ट्रपतिका उम्मेदवारहरूलाई भर्न लगाइएको थियो । त्यस सर्वेक्षणका बारेमा राजनीतिक दलका वित्त विषयका जानकारलाई राम्रो जनाकारी दिनुका साथै सर्वेक्षण भर्नेसम्बन्धी जानकारी पनि दिइएको थियो । यस अभ्यासको उद्देश्य कर सुधार सम्बन्धमा विभिन्न राजनीतिज्ञ तथा विज्ञहरूबीच सहमति कायम गराउनु रहेको थियो र चुनावमा विजयी हुनेलाई नयाँ सरकार गठन गरिएपछि कर सुधार सम्बन्धमा पहिलो १०० दिनमा, मध्यम अवधिमा तथा दीर्घकालमा के–कस्तो नीति अपनाउने भनेर गृहकार्य गर्न सहज होस् भन्ने थियोे ।
नेपालमा अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव हुँदैछ । यस सन्दर्भमा फिलिपिन्स तथा लाइबेरियामा चुनावको सन्दर्भमा गरिएको कर सुधारसम्बन्धी राजनीतिज्ञहरूको अवधारणा मतदातासमक्ष राख्न लगाउने उक्त अनुसारको अभ्यास गरिनु सान्दर्भिक छ । चुनावको अवसरमा विभिन्न राजनीतिक दहरूले मतदातालाई विभिन्न किसिमका उधारो सपना बाँड्ने मात्र होइन, त्यसलाई व्यवहारमा उतार्न आवश्यक पर्ने साधनको जोहो गर्ने उपाय पनि प्रस्तुत गर्नुपर्छ । यस सन्दर्भमा राजनीतिक वृत्तमा व्यापक किसिमको कर सुधारसम्बन्धी छलफल हुनुपर्छ र सहमति कायम गरिनुपर्छ ।
आज राष्ट्रिय कर दिवस । कर सम्बन्धमा विभिन्न किसिमले योगदान दिने व्यक्तिलाई सम्मानित गर्ने दिन तथा करसम्बन्धी जनचेतना जगाउने दिन । कर राष्ट्रिय अर्थतन्त्रको महŒवपूर्ण अभिन्न अंग हो । यसलाई सही किसिमले तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्छ । त्यसमा सबैको सहभागिता चाहिन्छ र राजनीतिक दृष्टिकोण स्पष्ट हुनुपर्छ । नेपालमा केन्द्र तथा प्रदेशस्तरको चुनाव हुँदैछ । यतिखेर चुनावी मैदानमा उत्रेका राजनीतिक दल वा व्यक्तिले मुलुकको विकासका लागि कोरा नारा मात्र नदिई त्यसलाई साकार पार्न आवश्यक राजस्व कसरी परिचालन गर्ने भनेर मतदातासमक्ष स्पष्ट धारणा राख्नुपर्छ र मतदाताले अन्य कुराका साथै यस पक्षलाई समेत मनन गरेर आफ्ना प्रतिनिधि छान्नुपर्छ । यस किसिमको असल अभ्यासको क्रमशः विकास गर्दै जानुपर्छ ।