‘नीतिगत समस्याले उद्योग विकासमा समस्या’

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष किशोरकुमार प्रधानले राज्यले दीर्घकालीन महत्वका योजनालाई अघि नबढाउँदा सिंगो अर्थतन्त्र विकासमा नै समस्या परेको बताएका छन् । शनिबार प्यूठान उद्योग वाणिज्य संघको २० औं साधारणसभामा बोल्दै उनले अल्पकालीन योजनालाई मात्रै राज्यले प्राथमिकतामा राख्दा व्यापारघाटा जस्ता समस्या निरन्तर भोग्दै आउनुपर्ने समस्या रहेको बताए ।
उद्योग व्यवसायको सम्भावना प्रचुर रहेको औल्याउँदै उनले लगानी मैत्री वातावरणको सिर्जना र त्यसखालको वातावरण राज्य तवरबाट सिर्जना हुनुपर्ने आवश्यक रहेको औंल्याए । “उद्योग विकासका स्रोत र सम्भावना प्रसस्त छन्,” कार्यवहाक अध्यक्ष प्रधानले भने, “यी स्रोतको उचित संवद्र्धनका लागि राज्यले नीतिगत व्यवस्था गरी अगाडी बढ्न जरुरी छ ।” कर प्रणाली, लगानी मैत्री वातावरण, लगानी सुरक्षालगायत विषयमा राज्यले नीतिगत सुधार ल्याउन आवश्यक रहेको उनको सुझाव थियो । प्रादेशिक स्तरमा रहेका संभावना र स्रोतलाई व्यवस्थापन गर्दै उत्पादन तथा आयमूलक क्षेत्रमा राज्यसँग साझेदारी अगाडि बढाउन निजी क्षेत्र तयार रहेको बताए ।
महासंघले सातवटै प्रदेशको दिगो आर्थिक विकासमा सहयोग पु¥याउन सक्ने संभावनालाई केन्द्रित गर्दै राज्यसँगको साझेदारीतालाई अगाडी बढाउन पहल गर्ने योजनामा रहेको उनले जानकारी दिए । “महासंघको अगुवाइमा स्थानीय तवरमा उद्योग विकासका संभावनाका विषयमा बहसहरू सञ्चालन भइरहेका छन्,” प्रधानले भने, “त्यहाँको आर्थिक सुधारका योजनाको छनौट गर्दै राज्यसँगको साझेदारिताका लागि अगाडि बढ्ने योजनामा छौं ।”
कार्यक्रममा प्रदेश नम्वर ५का प्रदेश सभा सदस्य कृष्णध्वज खड्काले राजनैतिक उद्देश्य पूरा भएकाले अब आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने विकल्प नरहेको बताए । “राज्य आर्थिक समृद्धिको बाटोमा अगाडि बढिसक्यो । त्यसको नेतृत्व निजी क्षेत्रले लिनु जरुरी छ,” उनले भने । निजी क्षेत्रसँगको साझेदारीसँगै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने राज्यको धारणा तय भइसकेकाले लगानीका लागि जोखिम मोल्न उनको व्यवसायीलाई आग्रह थियो ।