भरतपुरमा कर संकलन अभियान

भरतपुर महानगरपालिकाले कर संकलन गर्न ७ वटा टोली परिचालन गरेको छ । नगर कार्यपालिका सदस्य संयोजक, सम्बन्धित वडाका सदस्य, नगरप्रहरी र कर्मचारीसहित खटिएको टोलीले व्यवसायीलाई करको दायरामा ल्याउन पहल गरिरहेको छ ।
चालु आर्थिक वर्षलाई लक्षित गरी पुस २४ गते अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन प्रमाणीकरण भएलगत्तै टोली नगर क्षेत्रमा खटिएको हो । महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा ९३ वटा व्यवसाय करका नयाँ शीर्षक थप गरेको छ । विगतमा १ सय १५ वटा व्यवसाय कर शीर्षकलाई हाल बढाएर २ सय ८ बनाइएको छ । यस्तै श्रेणी समेत विगतभन्दा बढाइएको छ । करको दर अघिल्ला वर्षको तुलनामा ५ देखि २ हजार प्रतिशतसम्म वृद्धि गरेको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले निर्धारण भएको कर कार्यान्वयनको चरणमा रहेको बताइन् । “अब हामी कार्यान्वयनको चरणमा जाँदै छौं”, सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “उद्योगी, व्यवसायीले करका मापदण्ड सहर्ष स्वीकारेका छन् । छिटफुट गुनासा छन् । करको श्रेणी वर्गीकरणबारे केही गुनासा छन्, ती मिलाउन गृहकार्य भइरहेका छन् ।”
यसअघि चैत १३ गते उद्योग वाणिज्य संघ चितवनले महानगरको नगरपरिषद्बाट व्यवसायिक करमा अप्रत्यासित वृद्धी भएको भन्दै ध्यानाकर्षण गराएको थियो । “ठूला व्यवसाय, ठूला होटल, मेडिकल कलेज, सुपरमार्केट जस्ता बढी आर्थिक कारोबार हुने क्षेत्रलाई लक्षित गरी ठूलो स्केलमा कर बढेको छ,” मेयर दाहालले भनिन्, “तर, जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा त्यति धेरै कर वृद्धि भएको छैन ।” उनले आर्थिक वर्ष सकिन ३ महिनामात्रै रहेको अवस्थामा करको दरहरु संसोधन हुन नसक्ने संकेत गरिन् ।
भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले विकासलाई गति दिन करका दर सर्वपक्षीय छलफलबाटै तय गरेको दाबी गरिन् । भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ कै परिधिभित्र रहेर जनप्रतिनिधि, उद्योगी, व्यवसायीकै रायका आधारमा कर निर्धारण भएको बताए । “व्यवसाय कर, सेवामा लाग्ने कर पुँजीगत लगानी, आर्थिक कारोबारका आधारमानै हुने ऐनमा व्यवस्था छ”, उनले भने, “श्रेणी वर्गीकरण भएन र कर तिर्दैनौं भन्न मिल्दैन । स्थानीयस्तरमै पुगेर राजस्व परिचालन टिमले उवासंघ, उद्योग संघ, जनप्रतिनिधिको रोहबरमा कुन श्रेणीको भन्ने पहिचान हुन्छ ।”
करका दर संशोधन हुन सामान्यतया नगरसभा बस्नुपर्ने हुन्छ । जसका लागि यो वर्ष करको दर पुनरावलोकन हुने सम्भावना छैन । भारी मात्रामा कर वृद्धि भएको गुनासो आएपछि महानगरले सुझाव लिनका लागि ७ सदस्यीय कार्यदल बनाएको थियो ।
गत वर्ष २३ करोड ९८ लाख आन्तरिक आम्दानी गर्न सफल भएको नगरपालिकाले यो वर्ष ६३ करोड आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको छ । यस्तै ७ करोड राजश्व बाँडफाडबाट संकलन हुने अनुमान छ । यो वर्ष व्यवसाय करबाट १० करोड संकलन हुने जनाइएको छ । आगामी वर्ष १ अर्ब आन्तरिक आम्दानी हुने अपेक्षा रहेको जोशीले बताए । महानगरको पत्रकार सम्मेलनमा सहभागि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले करको दर निर्धारण गर्दा श्रेणीबारे स्पष्ट मापदण्ड हुनुपर्ने बताए । “कुनै पनि निर्णय लालमोहर हुँदैनन् । त्रुटि भएको छ”, उनले भने, “श्रेणी छुट्टाएर कर तोकिएको छ । तर, कुन श्रेणीको कुन भन्ने एकिन छैन ।” उनले संघ मातहतका वस्तुगत संघले धेरै प्रतिशत कर वृद्धि भएकाले संशोधन गर्न दबाब दिएको बताए ।
चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले महानगरले तय गरेको करको दरप्रति कुनै गुनासो नरहेको बताए । “पहिला कर तिरौँ र महानगर बनाउन लागौँ”, उनले भने, “श्रेणीजन्य विभाजनमा केही त्रुटी छन् भने सच्याउनुपर्छ, तर विवाद नगरौं ।” उद्योग वाणिज्य संघ प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतमले विना दर्ता सञ्चालनमा रहेका व्यवसायलाई समेत करको दायरामा ल्याउनुपर्ने सुझाव दिए । भरतपुर महानगरमा विगतमा १० हजार भन्दा बढी व्यवसायीले व्यवसाय कर तिर्दै आएका थिए । करको दायरा बढेसँगै विगतको तुलनामा दोब्बर व्यवसायी करको दायरामा आउने महानगरको दाबी छ ।
–विप्लव काफ्ले