भूगोल टाढा हुँदैन

क्षेत्रफलमा सानो मुलुक नेपालका भूगोल टाढा बनाइएका छन् । यदि भूगोललाई टाढा भन्ने हो भने सात समुद्रपारीको अमेरिका जानेको झुत्तो छ । काठमाडौंसँगको दूरीमा प्रदेश नम्बर ७ को दार्चुला केही सय किलोमिटर दूरीमा हुँदैमा त्यो भूगोल टाढा हुँदैन । संसारका जुनसुकै भूगोलमा पनि प्राणीको बसोबास छ । जीवन छ । सुनिन्छ, विदेशतिर मरुभूमिमा पनि विकास भएको छ ।
यसैले भूगोल दुःख होइन । भूगोल टाढा नजिक होइन । भूगोलले त अवसर दिन्छ । भूगोलले जहिले पनि अवसरको खोजी गर्छ । तर, यसमा प्रयत्नको जरुरत भने पक्कै पर्छ । अध्ययन र जागिरको लागि भूगोल टाढा हुँदैन भन्ने प्रमाण नेपालका जनशक्तिको निर्यात र नेपालमा पनि नगण्य भए पनि केही जनशक्तिको आयात भइरहेकोबाट छर्लङ हुन्छ ।
हामीलाई थाहै छ, हिजो काठमाडौंमा पनि गाडी मानिसले काँध हालेर भित्र्याएका हुन् । भूगोल भए पनि कुनै किसिमको कनेक्टिीभिटी नहुँदा त्यो दुर्गम हुन्छ । भूगोलपायक अपायक भन्ने हुदैन । नेपालीहरू पायक परेर अमेरिका, बेलायत पुगेका होइनन् । नजिक भएर मलेसिया, कतारलगायतका देश मामाघर जस्ता बनेका होइनन् । नजिक भएर कोरियामा त्यसै लोभ बढेको होइन । भूगोलमा अवसर भएर नै पुगेका हुन् । त्यसैले दार्चुला, बझाङ, डोटी, बैतडी, डडेलधुरा आफैंमा विशेष भूगोल हुन् जुन अपार सम्भावनाका क्षितिज हुन् । यसलाई उधार्न नसकिएको हो नै तर अब प्रदेश सरकारले पक्कै पहलकदमी लिन्छ ।
हिजो कोलकाताबाट हेर्दा, बेजिङबाट हेर्दा काठमाडौं पनि टाढा थियो । अब केही कनेक्टिीभिटी थपियो अनि यो सुगम बन्यो । पायक बन्यो । यसले अवसरहरू दियो । यसैले पूर्व–पश्चिम महेन्द्र राजमार्ग बन्दा दार्चुलाको धार्चुलासम्म पनि पनि सडकलाई लम्बेतान बनाउन सकिएको भए जाति हुन्थ्यो । जमाना एकल अवसरको छैन, बहु अवसरको हो ।
भूगोललाई कुनै न कुनै कनेक्टिभीटिले जोड्नु पर्छ । रोड, एअर, वाटर वा रोपवे जुुनसुकै भए पनि कनेक्टिभीटी भएमा कोही टाढा र नजिक भनेर अमिलो मान्नु पर्दैन । पक्कै विकास भनेको निरन्तरको प्रयासबाट आउने परिवर्तन हो । एकैपटकमा यो सम्भव छैन । प्रदेश ७ का बन्जर भूगोलमा खासगरी सडक सञ्जाल जोड्ने हो भने यसले अन्य सम्भाव्य लगानी आर्कषण गर्छ । यसैले भूगोललाई धारे हात होइन, यसमा गर्व गर्नुपर्छ ।
राजनीतिक द्वन्द्व, वैदेशिक रोगजार, सडक र सहरवरपर झुम्मिने प्रवृत्तिले उर्वर गाउँ वञ्जर बनेको हो । प्रदेश ७ ले सडक पूर्वाधारमा ध्यान दिएर आधाभन्दा बढी क्षेत्रफल रहेको वन क्षेत्र, थुप्रै भर्जिन नदीमा जलविद्युत् लगायतमा कदम चालेमा परिवर्तन सम्भव छ । अहिले प्रदेशले पाएको भूगोल नै हो । यसमा प्रदेशले गर्व गर्नुपर्छ किनभने भूगोलको प्रकृतिअनुसार जे पनि संभव छ । विगतका केन्द्रीकृत अंकमा कुनै गुनासो नमानि जुन भूगोलमा जे संभावना छ, त्यसमा लागेमा हिजोका ऋणात्मक तथ्यांक उकालो लाग्नेछ ।