पर्यटन पूर्वाधार र हाम्रा प्रवद्र्धन अभियान

मुलुकको पर्यटन उद्योगले सन् २०१७ मा नेपाल आउने पर्यटकको संख्या कुल १० लाख पुरा उने लक्ष्य राखेको थियो, तर अध्यागमन विभागको प्रकाशित २०१७ को पर्यटक तथ्यांकअनुसार ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ । यो आँकडा अत्यन्तै सकारात्मक हो । बाढीपहिरोजस्ता भयावह प्राकृतिक प्रकोप र मुलुकको नयाँ राजनीतिक संरचनामा सम्पन्न तीनै तहको निर्वाचन आदिका बाबजुद पनि निजी क्षेत्रले प्रवद्र्धनमा लगाएको लगानी फलदायी नै ठहरिएको देखिन्छ । बरु सरकारको पर्यटन पूर्वाधारको विकासतर्फ देखिएको मन्द तथा सुस्त मानसिकता कारणले पर्यटन पूर्वाधारको विकासका क्षेत्रमा हालसम्म कुनै उल्लेख्य उपलब्धि हुन सकेको छैन ।
मुलुकमा विभिन्न क्षेत्रमा झैँ पर्यटन क्षेत्रमा पनि जुन दु्रतताको अपेक्षा गरिएको थियो, त्यो सम्भव भएन । अब हामी एउटा नयाँ युगको सँघारमा छौं । आर्थिक क्रान्तिका लागि उद्यमीहरू तम्तयार रहेको अवस्था छ । झन्डै ६ दशकसम्म हुन नसकेको काम अब पाँच वर्षभित्रै सम्पन्न गरिने सरकारको प्रतिबद्धताले हामी नेपालीहरूमा आशा मात्रै पलाएको छैन, हामीमा नयाँ जोस, जाँगर र हौसला पनि उर्लेको छ । इमानदारी र राष्ट्रप्रतिको बफादारीले हामीलाई हाम्रो लक्ष्य प्राप्तिमा महत्वपूर्ण ऊर्जा प्रदान गर्दै जानेछ भन्ने विश्वास गर्न सकिने अवस्थामा हामी छौ ।
पर्यटन मुलुकको आर्थिक विकासमा एउटा सुनको फुल पार्ने हाँसजस्तै हो । यस क्षेत्रले मेचीदेखी महाकालीसम्मका तमाम युवा उद्यमी तथा व्यवसायीहरूलाई आ–आफ्नो गाउँ, नगर र प्रदेशमा कला, संस्कृति र पर्यटकीय महत्वका ऐतिहासिक एवं पुरातात्विक भौतिक सम्पदाहरूको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनतर्फ उत्प्रेरित गरेको छ । उनीहरू सरकारसँग हातेमालो गर्दै नयाँ पूर्वाधारको निर्माणमा जुट्ने अनेकौँ संकेत देखिन थालेका छन् । स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारबीचको सही समन्वयबाट नेपाल पर्यटनको विश्व मानचित्रमा सबैभन्दा उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुन सक्ने बलियो आधार खडा भएको छ । निजी क्षेत्रका पर्यटन सम्बद्ध संघ–संस्थाहरूको सक्रियतामा नेपाल भ्रमणमा आउने सम्भाव्य पर्यटकहरूका लागि नौला उत्पादनसहितको विशिष्ट प्याकेजहरूको बजारीकरणसँगसँगै हाम्रो पर्यटनले अब नयाँ काँचुली फेर्ने सुनिश्चित छ ।
नेपाल एसोसिएसन अफ टुर अफ ट्राभल एजेन्ट्स (नाट्टा) को नवनिर्वाचित कार्य समितिले सन् २०१८ को पहिलो ६ महिनाको प्रवद्र्धन कार्यक्रम तालिका तयार पारी त्यसमा काम पनि सुरु गरिसकेको छ । नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै सम्पन्न गरिने ती पर्यटन प्रवद्र्धन कार्यक्रमहरूमा यही अप्रिल १७ देखि मार्च २५ सम्म मित्रराष्ट्र चीनका चार व्यावसायिक सहर बेइजिङ, सांघाई, सेनजेन र चेङ्दुमा सेल्स मिसनको आयोजना गर्ने, अप्रिल १९ देखि २१ सम्म बंगालादेशको ढाकामा हुने बीटीटीएफमा सहभागी हुने र मे–जुनमा मलेसिया तथा सिंगापुरमा नेपाल पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू गरिने लक्ष्य राखेको छ । त्यसरी नै हान, टान, सोट्टो एवं नाटोले पनि विभिन्न पर्यटक उद्गम मुलुकहरूमा प्रवद्र्धनका कार्यक्रमहरू आयोजना गर्ने भएका छन् । स्मरण रहोस्, सन् २०१७ मा १ लाख ४ हजार ६ सय ६४ चिनिँया पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१७ लाई त चीनले नेपाल पर्यटन प्रवद्र्धन वर्ष नै घोषणा गरेको थियो । त्यसै क्रममा चीनको पर्यटन प्रशासन (सीएनटीए) ले विश्व पर्यटन दिवसभन्दा एक साताअघि पाटन दरबार स्क्वायरमा बालबालिकाहरूका निम्ति चित्रकला प्रतियोगिता पनि आयोजना गरेको थियो । सन् २०१८ मा हवाई मार्गबाट नेपाल आउने चिनियाँ पर्यटकको संख्या १ लाख ५० हजार नाघ्ने अनुमान गरिएको छ । नाट्टाले सन् २०१५ मा सन् २०१६ को अन्तिमसम्म चीनबाट नेपाल भ्रमणमा आउनेहरूको संख्या २ लाख ५० हजार पुरा उने लक्ष्य रहेको घोषणा गरेको थियो । त्यसैअनुसार नाट्टाले चीनमा नेपाल प्रवद्र्धनका अभियानहरू निरन्तर चलाउँदै आइरहेको छ । नाट्टा चीन सरकारद्वारा गठित विश्व पर्यटन सन्धि तथा विश्व पर्वतीय पर्यटन संस्थाको पनि संस्थापक सदस्यका रूपमा रहेको छ ।
सन् २०१७ को अन्तिमतिर नाट्टाले श्रीलंका र भारतमा रोड शो कार्यक्रमहरू सम्पन्न गरिसकेको थियो र यस वर्षको प्रारम्भतिर पूर्वाेतर भारतको बंगाल पर्यटन मेलामा समेत नेपालको पर्यटन प्रवद्र्धन गरेको छ । नाट्टा पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल क्षेत्रीय संघहरूले उत्तर पश्चिम भारतलाई लक्षित गर्दै त्यस भेगका विभिन्न सहरमा पत्रकार सम्मेलन गर्नुका साथै नेपालका पर्यटकीय सम्पदाहरूबारे निर्मित श्रव्य–दृश्य डकुमेन्ट्रीहरूसमेत प्रस्तुत गर्दै आइरहेको छ । नेपाल आउने बहुसंख्यक भारतीय पर्यटकहरूका लागि पोखरा, चितवनजस्तै कैलालीको शुक्लाफाँटा राष्ट्रिय निकुन्ज आकर्षणको स्थल बन्दै गइरहेको छ र सुदूर पश्चिम (प्रदेश ६ र ७) भारतीय तथा अन्य पर्यटकहरूका लागि नयाँ गन्तव्यका रूपमा स्थापित भइरहेको छ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले पूर्वाञ्चलका धार्मिक क्षेत्रहरूको समुचित उन्नतिका लागि परियोजनाहरू तयार पारेको छ तर कार्यान्वयनतर्फ तदारूकता दैखिँदैन । नेपाल सरकार र लुम्बिनी विकास कोषले भने लुम्बिनीलाई आधार मानेर नेपालभित्रै बुद्धमार्गी सर्किटहरूको पहिचान गरी ती क्षेत्रमा बौद्ध धर्मावलम्बीहरूको ध्यनार्कषण गर्ने प्रशंसनीय काम गरिरहेको छ ।
नयाँ नेपालको द्रुत विकासका लागि थालिएका कुनै पनि कार्यक्रमलाई निरन्तरता दिने वर्तमान सरकार र प्रतिपक्षमा रहेका दलको कटिबद्धता सराहनीय र स्तुत्य छ । दलीय स्वार्थमा मात्र लिप्त नरही मुलुकको समग्र उन्नतिमा नेपालका राजनीतिक दलहरूले एउटा सकारात्मक सोचको संस्कृतिलाई मौलाउन दिइरहेका छन् र निजी क्षेत्रले निःसन्देह यस संस्कृतिबाट मुलुक अग्रगामी हुँदै गइरहेको अनुभूत गरिरहेका छन् ।
सन् २००९ मा नेपाल सरकारले शान्ति, जनता र समुन्नतिको नारासहित नेपालमा पर्यटन क्षेत्रको समृद्धिका लागि अघि सारेको टुरिज्म भिजन, २०२० पर्यटन उद्योगका लागि एउटा मार्गदर्शन सिद्ध भएको छ । नेपाल सरकारका यस महत्वपूर्ण दस्तावेजले पर्यटनलाई आवश्यक पूर्वाधार विकास एवं दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत पोखरा र भैरहवाका विमानस्थलहरूलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत गर्ने, स्थानीय पर्यटन उत्पादनहरूको पहिचान र विकास गर्ने, होमस्टे तथा समुदायमा आधारित पर्यटन उत्पादनलाई प्रोत्साहित गर्ने, आन्तरिक पर्यटनको विकास गर्ने, सेवाक्षेत्रसँग संलग्न सबैको क्षमता वृद्धि गर्दै तालिम तथा व्यवस्थापकीय विकास कार्यक्रमका माध्यमबाट सेवाको स्तर उकास्ने, नेपाल वायुसेवा निगमको सुदृढीकरण गर्दै निगमका लागि जहाज थप्दै जाने, दीर्घकालीन पर्यटन रणनीति योजनाअनुसार मुलुकका सबै क्षेत्रमा पर्यटन मास्टर प्लान विकास गर्ने, लगानीमैत्री नीति एवं नियमावलीहरू तयार पारी वैदेशिक लगानीलाई आकर्षित गर्ने, नेपाललाई स्थल यातायात सञ्जालद्वारा भारत, बंगलादेश र चीनसँग जोड्ने, सेटलाइट लेखा प्रणाली लागू गर्ने र जलवायु परिवर्तनबाट सिर्जित नकारात्मक प्रभावहरूलाई कम गर्दै लैजाने जस्ता ११ वटा दीर्घकालीन योजना सम्पादन गर्ने लक्ष्य लिएको देखिन्छ । भिजन, २०२० को चरम लक्ष्य सन् २०२० सम्म नेपालमा पर्यटकहरूको वार्षिक आगमन २० लाख पुरा उने रहेको छ । सन् २००९ पछिको पर्यटक आगमनमा क्रमिक वृद्धि हुँदै गइरहेको छ र नेपाल आउन चाहने पर्यटकको चाप हेर्दा यो क्रम जारी रहनेछ भन्ने विश्वास लिन सकिन्छ । विद्यमान हाम्रो एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०१७ मा ३८ लाख ८० हजार यात्रुले यात्रा गरेका थिए भने नेपाल वायुसेवाले मात्र ३ लाख ८८ हजार ३ सय २९ जना यात्रु ओसारेर रेकर्ड कायम गरेको उदाहरण छ । यात्रुहरूको संख्या बढ्दै गएकाले विमानस्थलको भौतिक संरचनालाई पनि अविलम्ब विस्तार गर्दै लैजानुपर्ने आवश्यकता छ ।
पर्यटनको प्रवद्र्धनबाट नै मुलुक वैदेशिक मुद्रामा आत्मनिर्भर हुन सक्छ । आर्थिक समृद्धिका असंख्य बाटाहरू खोलिन्छन् । बेरोजगारीको सट्टा स्वरोजगारको संख्या बढ्छ । मुलुकको आर्थिक गतिविधिमा वृद्धि भई यसै उद्योगका माध्यमबाट आर्थिक क्रान्तिको जग बलियो र दिगो भई देश चौतर्फी विकासतर्फ फड्को मार्न सक्ने हुन्छ । परावलम्बी नभई हामी नेपाली स्वावलम्बी हुँदै जान्छौँ ।
नेपाल पर्यटन बोर्डले विश्वका विभिन्न देशमा नियमित रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा निजी क्षेत्रलाई सहभागी गराउँदै बृहत् प्रर्वद्धनात्मक कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न गरिरहेको छ । यस्ता कार्यले नेपाली पर्यटन जगत्लाई उर्वर बनाउन धेरै मद्दत पुरा एको पनि छ । अब आयो, सन्दर्भ सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष (२) का रूपमा मनाउने तयारी गरिरहेको छ । पर्यटन उद्योगसँग संलग्न सबैको यस अभियानप्रति समर्थन रहेको छ । सरकारकै शब्दमा भन्नुपर्दा सन् २०२० सम्ममा नेपालमा १५ लाख पर्यटक भिœयाइने लक्ष्य छ । टुरिज्म भिजन, २०२० ले २० लाख पर्यटकको लक्ष्य राखेकोमा त्यो संकुचित हुँदै अब १५ लाखको लक्ष्यमा हामी अडिएका छौँ । पर्यटक संख्या २० लाख अथवा १५ लाख जे भए पनि मुख्य कुरा पर्यटकीय पूर्वाधारहरूको निर्माण र विकास हो । नेपाल सरकारको मन्त्रिपरिषद्मा पनि पर्यटन विषयका एक सशक्त एवं संवेदनशील नेता पर्यटनमन्त्री तोकिनुभएको छ । उहाँबाट मुलुकको पर्यटनले ठुलो अपेक्षा राखेको उल्लेख्य छ ।