प्राधिकरणले रेक्टोफिटिङका लागि विशेष अभियान सञ्चालन गर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरहरूको प्रबलीकरण (रेक्टोफिटिङ) का लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
पुनर्निर्माणमा उल्लेख्य प्रगति भइरहे पनि प्रबलीकरणमा खासै प्रगति हुन नसकेको निष्कर्षसहित प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्पप्रतिरोधी बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
हालसम्म भूकम्प प्रभावित ३२ जिल्लाका २४ हजार ९९१ निजी घर प्रबलीकरण गर्ने सूचीमा छन् तर प्रगति एकदम कम छ । प्रबलीकरणलाई अगाडि बढाउन विकास साझेदार संस्था डीएफआईडी, यूएनओपीएस तथा बिल्ड चेञ्जले प्राधिकरणलाई सहयोग गर्ने भएको प्राधिकरणले जनाएको छ । यसका लागि साझेदारसंस्थाबीच आगामी २ वर्षभित्र २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई प्रबलीकरणको तालिम दिने सहमति भएको छ । तालिमका क्रममा १ हजार भूकम्प प्रभावितको क्षतिग्रस्त घर प्रबलीकरण हुनेछ । त्यस्ता तालिमका क्रममा स्थानीय सरकारको सिफारिसमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरसमेत प्रबलीकरण गरिनेछन् ।
यूएनओपीएसले प्रबलीकरणसम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा पेस गरिसकेको छ । प्राधिकरणको आवास, बस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिई एक साताभित्र सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिने छ ।
प्रबलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, यूएनओपीएस, डीएफआईडी तथा बिल्ड चेञ्जका अधिकारीहरूले प्रबलीकरणको पाठ्यक्रम निर्माण गरिरहेका छन् । यसलाई चैत तेस्रो साताभित्रै अन्तिम रुप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए । पाठ्यक्रम निर्माण भएपछि २०७५ वैशाख पहिलो सातादेखि एकसाथ ४ स्थानमा प्राविधिक कर्मचारीलाई प्रबलीकरण तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ । डकर्मीको तालिम पनि साथसाथै आयोजना गर्ने प्राधिकरणको योजना छ ।