बर्दिया उद्योग वाणिज्य संघमा रेग्मी

बर्दिया उद्योग वाणिज्य संघ राजापुरको अध्यक्षमा कृष्णकुमार रेग्मी निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न ३० औं अधिवेशनबाट निवर्तमान उपाध्यक्ष विदुर पोख्रेललाई पराजित गर्दै रेग्मी १ सय १५ मतान्तरका साथ अध्यक्षमा विजयी भएका हुन् ।लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रेग्मीले ४ सय ९८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धन प्यानलबाट उम्मेदवारी घोषणा गरेका बिदुर पोख्रेलले ३ सय ८३ मत प्राप्त गरे ।
बिभिन्न १२ पदका लागि भएको निर्वाचनमा २२ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये संघको उद्योगतर्फको उपाध्यक्षमा तर्कबहादुर शाह र वाणिज्यतर्फको उपाध्यक्षमा चन्द्रश्वर सुवेदी निर्वाचित भएका छन् । त्यस्तै सचिवमा केदार थापा, कोषाध्यक्षमा गंगाराम थारु र महिला सदस्यमा सारदा खत्री निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी सदस्यहरूमा सन्तोष कुमार तिमिल्सिना, लोकराज ढुंगाना, गोकर्णप्रसाद सापकोटा, सुनिल दहित, लक्ष्मीप्रसाद पौडेल र हिमाल गौतमलगायत निर्वाचित भएका छन् । जिल्लाकै सबैभन्दा जेठो बर्दिया उद्योग वाणिज्य संघमा आबद्ध कुल ९ सय ४४ जना सदस्य मतदाता रहेकोमा ९ सय १ सय जनाले मतदान गरेका थिए । जसमध्ये ३ मत बदर भएको निर्वाचन अधिकृत रवि शर्माले जानकारी दिए ।
विजयी घोषणा भएपश्चात पत्रकारहरूसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष रेग्मीले राजापुर क्षेत्रको विकासका लागि सबै उद्योगी व्यवसायीलाई समेटेर व्यावसायिक हकहितका लागि काम गर्ने बताए । पछिल्लो समय बजार दर्ता प्रक्रिया, नागरिकता विवादलगायत जिल्लाको समग्र विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले सबैसँग सहकार्य गर्दै अघि बढने उनको भनाइ छ ।