सञ्चालन नभएका ५० ग्यास उद्योगको लाइसेन्स खारेज «

सञ्चालन नभएका ५० ग्यास उद्योगको लाइसेन्स खारेज

नेपाल आयल निगमले अनुमति पत्र लिएर ६ वर्षसम्म सञ्चालन नभएका ५० वटा ग्यास उद्योगको लाइसेन्स खारेज गरेको छ । उद्योग निर्माण गर्न अनुमति लिने तर उद्योग निर्माण नगरी लाइसेन्स होल्ड गरेर बस्ने ती उद्योगको लाइसेन्स निगमले खारेज गरेको हो ।
२०७१ पछि लाइसेन्स लिएका ५३ वटा उद्योगलाई सम्पर्कमा आउन बारम्बार सूचना प्रकाशित गरेपनि निर्माणको सकेर उत्पादन अनुमतिका लागि ३ वटा उद्योग मात्रै सम्पर्कमा आएका थिए ।
अत्तरिया कैलालीको सैपाल ग्यास उद्योग, लक्ष्मीपुर नवलपरासीको सगरमाथा ग्यास उद्योग (शाखा १) र धुनीबेशी धादिङको सीताश्री ग्यास उद्योग निर्माण सम्पन्न भइ पीडीओ प्राप्तिका लागि सम्पर्कमा आएकाले यी ३ वटा ग्यास उद्योगलाई मात्रै अनुमति दिइएको निगमले जनाएको छ ।
२०७१ माघपछि निगमबाट अनुमति लिएर काम नगर्ने देशभरका ५० वटा उद्योगको लाइसेन्स निगमले आइतबार एक सूचना प्रकाशित गरी खारेज गरेको हो । निगमका अनुसार अनुमति खारेज हुने उद्योगमा सुदूरपश्चिम एलपी ग्यास, पूर्वेली ग्यास, बर्दिवास इन्भेस्टमेन्ट मल्टिपर्पोज प्रालि, एचएच कम्पनी प्रालि, वर्षा ग्यास, जेपी ग्यास, एसियन ग्यास, एक्सप्रेस ग्यास, शिवशक्ति ग्यास, नीलकण्ठ ग्यास, सप्तकोसी ग्यास, हरि ग्यास, कमला ग्यास र दक्षिणकाली ग्यास उद्योग प्रालि छन् । काम नगरेपछि पूजा ग्यास, सगुन ग्यास, कञ्चनजंघा ग्यास, सरस्वती ग्यास, आरके ग्यास, श्याम ग्यास, श्रीमाया ग्यास र जयश्री तिरुपाति ग्यास उद्योगको अनुमति खारेज गरेको जनाइएको छ ।
सिद्धबाबा ग्यास, मातारानी ग्यास, पञ्चलक्ष्मी ग्यास, वीरता ग्यास, विकल्प ग्यास, बुहारी ग्यास, स्मार्ट ग्यास र केदार ग्यास उद्योग प्रालिलगायतको पनि अनुमति खारेज गरिएको छ ।
निगमका अनुसार मुलुकभर अहिले करिब ५९ ग्यास उद्योग छन् । जसमध्ये २० भन्दा बढी उद्योगले काठमाडौंमा ग्यास वितरण गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्