Logo

गोदाममै थन्कियो खाद्यान्न, सहजीकरण गरिदिन आग्रह

सरकारले दैनिक उपभोग्य वस्तुको उत्पादन वितरण नियमित गर्ने भने पनि खाद्यान्न गोदामै थन्किएको छ । नेपाल चामल, तेल, दाल उद्योग संघले उत्पादित खाद्यान्न एक ठाउँबाट अर्को ठाउँमा पु-याउनका लागि सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ । संघले लकडाउन गर्नु उपयुक्त भए पनि अत्यावश्यक खाद्यान्नहरू एक ठाउँबाट अर्को ठाउँमा पु-याउन नसक्दा झन् समस्या हुने भएकाले सहजीकरणका लागि माग गरेको हो ।
संघले केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा उद्योग निरन्तर संचालनमा आउनु अत्यावस्यक भएकोले यसको सहजीकरण गरिदिन संघीय सरकारसँग अनुरोध पनि गरेको छ । नेपाल चामल, तेल दाल उद्योग संघले पाँच दिन देखि खाद्य उदोगमा उत्पादन र ओसार पसार ठप्प भएको बताएको छ ।
खाद्य वस्तु ढुवानी गर्ने माल बाहक र खाली सवारीसाधनहरू विगत ४ दिनदेखि विभिन्न ठाउन्मा अड्किएको अवस्थाले बजारमा सामान पठाउन नसकिएको संघले जनाएको छ ।
चालकहरू सवारीसाधन छोडेर आआफ्नो घरमा गइसकेकाले उनीहरूलाई उचित व्यवस्थासहित उच्च मनोबल वृद्धि गरी खाद्य बस्तु निर्वाध रूपमा देशका बिभिन्न ठाउँमा पठाउनु आवश्यक रहेको संघको भनाइ छ ।
हरेक उद्योग संचालनको लागि दैनिक लगभग १ देखि ५ लाखसम्म नगद आवश्यक पर्ने हुँदा सहरबाट उद्योग क्षेत्रसम्म नगद लैजाने सहज वातावरण सिर्जना हुनुपर्ने संघको भनाइ छ ।
उद्योगहरू पाँच दिन देखि बन्द रहेको र देशका बिभिन्न ठाउंका पसलहरू आंसिक रूपमा मात्र खोलिएको अवस्थामा स्थानिय अधिकारीको रोहवरमा पसल खोल्न लगाई उचित व्यवस्था गर्न सरकारलाई संघले आग्रह गरेको छ । घरबाट निस्कने बाताबरण नभएकोले श्रमिक कर्मचारीहरू उद्योगमा नजानेहुदा उद्योगबाट उत्पादित सह उत्पादन भुस, राईसब्रान, कनिका, चुन्नी भुसी, पिना एक ठाउबाट अर्को ठाउमा पठाउन समेत असहज भएको हुँदा यसले तयारी बस्तु उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने संघको भनाई छ ।
दैनिक उपभोग्य खाद्य वस्तु चामल, तेल , दाल लगायतका अन्य बस्तुहरू एक ठाउँबाट अर्को ठाउमा पठाउन चेन प्रणालीलाई निरन्तरता दिनुपर्ने भएकाले उचित व्यवस्था सहित लकडाउन अवधिभर सहजीकरण गर्नका लागि संघले आग्रह गरेको छ ।

अनलाइनबाट अर्डर लिएर होम डेलिभरी गर्दै
बजारमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज पार्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइनबाट सामान अर्डर लिएर होम डेलिभरी गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि लकडाउन भएसँगै बजारमा आपूर्ति व्यवस्था सहज पार्नका लागि अनलाइनबाट होम डेलिभरी गर्न लागिएको हो । कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले अनलाइनबाट सामान अर्डर लिएर होम डेलिभरी गर्नेत तयारी गरिएको जानकारी दिए । उपभोक्तालाई सहजता दिनका लागि कम्पनीले बिक्री वितरण गरिरहेका विभिन्न खाद्यवस्तु तथा सामग्रीहरू होम डेलिभरी गर्ने गरी अनलाइन प्लेटफर्म विकास गरिरहेको उनले जानकारी दिए । बिहान बेलुका सामान्य रूपमा खाद्य किराना पसल खुले पनि लकडाउनका कारण पूर्ण रूपमा पसल खुल्न सकेका छैनन् । नियमित रूपमा पसल नखुल्दा उपभोक्ता दैनिक उपभोग्य वस्तुको खरिद गर्न सहजै पाएका छैनन् । खुलेका पसलमा पनि सामान सकिएको व्यवसायी बताउँछन् । नयाँ सामान नआएकाले पसलमा भएको सामान सवै सकिसकेको बुद्धनगरका व्यापारी शिवप्रसाद अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्