अनलाइनबाट अब खाद्य उद्योगलाई अनुमति

काठमाडौं– खाद्य उद्योगहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट लिनुपर्ने अनुमतिपत्रका लागि अब विभागमा महिनौं धाउनुपर्ने बाध्यता हटेको छ । विभागले भदौ १७ बाट सबै सेवा अनलाइन गरी सेवाग्राहीलाई विभाग धाउनुपर्ने बाध्यता हटाएको हो ।
अब कुनै पनि उद्योगी–व्यवसायीले खाद्य उद्योगको अनुमतिपत्र लिन र नवीकरण गर्न विभाग आउनु नपर्ने गरी अनलाइन प्रणाली सुरुवात गरेको विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले जानकारी दिए । विभागले दिने सबै सेवाहरु खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अबदेखि अनलाइन प्रणालीमार्फत उपलब्ध हुने उनले बताए ।
महानिर्देशक कर्णका अनुसार सेवाग्राहीले आवश्यक कागजपत्र अनलाइनमार्फत नै पेश गर्न सक्नेछन् । अनुमतिपत्र जारी र नवीकरणका लागि लाग्ने सेवा शुल्कसमेत अनलाइनमार्फत नै तिर्न सकिनेछ । सेवाग्राहीले आवेदन पेश गरेको करिब तीन साताभित्र सबै प्रक्रिया पूरा भएको जानकारी ईमेलमा पाउनेछन् । प्रमाणपत्र पनि ईमेलमार्फत नै लिन सक्नेछन् ।
सेवा अनलाइन भएपछि अनुमतिपत्र र सम्पूर्ण अभिलेखहरू सुरक्षित रूपमा डिजिटल रूपमा संग्रह हुने, पारदर्शिता र जवाफदेहिता वृद्धि हुने भएकोले काममा ढिलाइ हुने सम्भावना न्यून भई सेवाग्राही लाभान्वित हुने विभागको भनाइ छ । अनलाइन प्रणालीलाई निरन्तर सुधार र सुदृढ पार्दै जाने, अझ प्रयोगमैत्री, सरल र प्रभावकारी बनाउँदै लैजाने र देशैभरका कार्यालयबाट कार्यान्वयनमा ल्याउने विभागको योजना रहेको महानिर्देशक कर्णले बताए ।
यसअघि खाद्य उद्योगको अनुमति लिन एकदेखि ६ महिनासम्म लाग्ने गरेको थियो । भदौ १७ देखि काठमाडौं र हेटौंडाबाट अनलाइन सेवा सुरु भएको छ । असोज पहिलो साताबाट विभाग अन्तर्गतका सबै कार्यालयबाट अनलाइन प्रणाली कार्यान्वयन गर्ने योजना विभागको छ । खाद्य उद्योगीलाई प्रणाली सञ्चालन सम्बन्धी अभिमुखिकरण तथा तालिम पनि दिइएको छ ।