Logo

नेपाल आएका विदेशी नागरिक तथा पर्यटक प्रत्यक्ष अनुगमनमा

काठमाडौं– सरकारले नेपाल आउने विदेशी नागरिक तथा पर्यटकको निगरानी राख्न अनुगमन प्रणाली लागु गर्ने भएको छ । अध्यागमन विभागले आगामी असोज एकदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागु गर्न लागेको हो ।

सरकारले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण तथा सम्भावित अपराध नियन्त्रण गर्ने उद्देश्यले अनुगमन प्रणाली लागु गर्न लागेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । उनले भने, ‘यसले गर्दा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र नेपाल भ्रमण गर्दा पर्यटक सुरक्षित हुनेछन् । नेपालभित्र प्रवेश गर्ने विदेशी नागरिकको सूचना राज्यले राख्नको लागि यो प्रणाली लागु गर्न लागिएको हो । नेपाल प्रवेश गरेका जोकोहीको गतिविधि राज्यको सूचनामा हुनुपर्ने भएकाले यो प्रविधि जडान गरिएको छ ।’

यो प्रणालीलाई दुई चरणमा गरेर लागु गर्ने विभागको तयारी छ । पहिलो चरणमा २०८२ असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागु गरिने विभागले जनाएको छ । दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागु गरिनेछ ।

महानिर्देशक तिवारीका अनुसार नेपालभित्र जुनसुकै प्रयोजनमा आउने विदेशी नागरिक अध्यागमनको सिस्टममा आइसकेपछि विभागले ‘अराइभल’ दिन्छ र त्यसपछि उनीहरु कहाँ–कहाँ जान्छन् त्यसको जानकारी सरकारी निकायमा प्राप्त हुन्छ । ‘साहसिक पर्यटनका लागि नेपाल आउने पर्यटकलाई समस्या परेको बेला तुरुन्तै उद्धार गर्न गाह्रो थियो । अर्को कुरा नेपाल प्रवेश गरेर विदेशीहरुले हाम्रो कानुन, सामाजिक मूल्यमान्यता, राजनीतिक, सामाजिक, आर्थिक मान्यता विपरीतका कुनै काम गरे पत्ता लगाउन अप्ठ्यारो थियो । पर्यटकको गतिविधि निगरानी गर्न र अपराध अनुसन्धानको हिसाबले पनि यो प्रणाली निकै महत्वपूर्ण छ,’ उनले भने ।

अब पर्यटकहरु कुनै होटलमा गएपछि होटलले चेकइन र चेकआउटको सूचना विभागको सिस्टममा जानकारी गराउँछन् । विभागले यो प्रणालीमा पर्यटकलाई समावेश गर्ने नभई उनीहरुलाई सेवा प्रवाह गर्ने संस्थाहरुलाई समावेश गर्न लागिएको बताएको छ । पर्यटकलाई सेवासुविधा प्रदान गर्ने होटल, बैंक, मनि एक्सचेन्ज, ट्राभल एजेन्सी, हवाई कम्पनी, सवारी कम्पनीमार्फत पर्यटकहरुको गतिविधि निगरानी गर्न लागिएको हो । ती सेवाप्रदायक कम्पनीहरुले राखेका रेकर्ड विभागको प्रणालीमा राख्ने र निगरानी बढाउने विभागको भनाइ छ । यसको लागि सम्बन्धित संस्थाले विभागको सिस्टममा सूचना अपडेट गर्नुपर्नेछ ।

नेपाल प्रवेश गरेको पर्यटक अध्यागमनबाट नफर्केसम्म राज्यले आवश्यक परेको बेला उनीहरुकै परिवारलाई वा विदेशी नियोगहरुलाई कहाँ छ भन्ने जानकारी उक्त प्रणालीले दिने महानिर्देशक तिवारीको भनाइ छ । विभागले विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवं निजी कम्पनीहरुलाई यस प्रणालीमा अनिवार्य आवद्ध हुन आग्रह गरेको छ ।

विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको कार्यान्वयन गर्न विभागले ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरुलाई पत्राचार गरिसकेको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यलयमार्फत नियमित रुपमा यसको अनुगमन हुनेछ । सरकारले यसअघि पनि नेपाल आउने विदेशी नागरिक तथा पर्यटकहरुलाई अनुगमन र निगरानी गर्ने उद्देश्यले निर्देशिका ल्याएको थियो । निर्देशिकाले भौतिक अनुगमन गर्ने गरेको थियो । अब भने पर्यटकलाई प्रणालीमा नै आवद्ध गरेर विभागले प्रत्यक्ष अनुगमन बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्