सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचन

सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रुपन्देही(भैरहवा)को शुक्रबार र शनिबार हुने ५९ औं वार्षिक साधारणसभा तथा अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएपछि व्यवसायीहरू नेतृत्वमा आउन समूह बनाएर प्रचार–प्रसारको अन्तिम चरणमा आएका छन् ।
नेपालको पुरानो मध्येको र उद्योग वाणिज्य महासंघ स्थापना बखतको संस्थापक सदस्य रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्व लिन सदैव होडबाजी जस्तै हुन्छ ।
पुरानो उद्योग वाणिज्य संघ, नेपालकै प्रमुख क्षेत्रमा रहेको संघ र यस क्षेत्रको महत्व देशमै बढ्दै जाँदा पदाधिकारी मात्र होइन अन्य कार्यसमिति सदस्य पदका लागि पनि अहिले सबैको आकर्षण बनेको छ ।
अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुलप्रसाद न्यौपाने र वरिष्ठ उपाध्यक्ष डा. शान्तकुमार शर्माले उम्मेदवारी दिएका छन् । न्यौपानेको समूहबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका महासचिव भीष्म न्यौपाने, उद्योग उपाध्यक्षमा पूर्वकोषाध्यक्ष अरुण गोयनका, वाणिज्य उपाध्यक्षमा परामर्श सल्लाहकार ठाकुरकुमार श्रेष्ठ, महासचिवमा वर्तमान सचिव नेत्रप्रसाद आचार्य, कोषाध्यक्षमा वर्तमान सदस्य दिलिप कान्दु तथा सचिवमा वर्तमान सदस्य विजयकुमार श्रेष्ठको उम्मेदवारी छ ।
त्यसैगरी डा. शर्माको समूहबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उद्योग उपाध्यक्ष नवराज न्यौपाने, उद्योग उपाध्यक्षमा उद्योग वाणिज्य महासंघकी पूर्वकेन्द्रीय सदस्य(मनोनीत) शान्ता जिसी, वाणिज्य उपाध्यक्षतर्फ नयाँ अनुहार विनोद खरेल, महासचिवमा वर्तमान समितिका सदस्य इम्तियाज अहमद, कोषाध्यक्षमा वर्तमान सदस्य रवि श्रेष्ठ, सचिवमा वर्तमान समितिका सदस्य पशुपति कान्दुको उम्मेदवारी छ ।
दुवै समूहका उम्मेदवारहरू व्यवसायीहरू माझ मत माग्दै पुगेका छन् । दुवै समूहको खासै नयाँ एजेन्डा भने केही छैन । पुरानै एजेन्डा लिएर उनीहरू व्यवसायी माझ पुगेका छन् ।
अध्यक्षका उम्मेदवार न्यौपानेले आफ्नो समूह पूरै व्यावसायिक उद्योगी व्यवसायीको समूह रहेको र लामो समयदेखि उद्योग वाणिज्य संघमार्फत यस क्षेत्रको आर्थिक विकासमा लागेको समूह र यहाँको उद्योग व्यवसायीको समस्या पहिचान र समाधान गर्न रातदिन लाग्ने समूह भन्दै मतदाताको घरदैलोमा पुगेका छन् ।
अर्का अध्यक्षका उम्मेदवार डा. शर्माले आफ्नो समूह पनि युवा जोशजागर बोेकेको र उद्योग वाणिज्य क्षेत्रमा कामका लागि अनुभवीहरू रहेको समूहभन्दै व्यवसायी माझ जिताउन मतका लागि पुगेका छन् ।
दुवै समूहले जिल्लाका बिभिन्न क्षेत्रमा गएर व्यवसायी मतदाताहरू सामु मत मागेका छन् भने बिभिन्न वस्तुगत संघहरू, संघ–संस्थाहरूको भेला गराईसमेत मत मागिरहेका छन् ।
उद्योगतर्फका उपाध्यक्ष अरुण गोयनकाले अहिले उद्योगी व्यवसायीले उपर्युक्त उम्मेदवारको छनोट ‘राइट म्यान इन राइट पोजिसन’ गरी संघमार्फत यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा मद्दत पु¥याउने बताए ।
डा. शर्माको समूहभन्दा न्यौपानेको समूह केही बजनदार रहेको वित्त विश्लेषकहरू बताउँछन् । उता सदस्य(उद्योग) तर्फ ५ पदका लागि ८ उम्मेदवार मंगल भण्डारी, गोबिन्द ज्ञवाली, रमेश घिमिरे, भुवन कान्दु, उमा शंकर मिश्र, सुरेन्द्र पौड्याल, विकासकुमार गोयनका र सुजित श्रीबास्तवको उम्मेदवारी छ भने सदस्य (वाणिज्य) तर्फ १० पदका लागि गौरब श्रेष्ठ, हरिश सेठिया, प्रितम रौनीयार, गंगासागर अग्रहरी, रियाज वारिस, कमलप्रसाद मरासीनी, कृष्णप्रसाद अधिकारी, भवानी बुर्लाकोटी पौडेल, सतिशकुमार कौसल, धर्मवीर शर्मा, गोपाल भण्डारी, रामवचन गुप्ता तेली, मृगेन्द्र गोविन्द श्रेष्ठ, अर्जुन कार्की, सञ्जयकुमार बेरिवाल, त्रिलोकीप्रसाद तेली, सब्बिर अलि पठान, संचित खन्ना, हरिप्रसाद पाण्डेको गरी १८ जनाको उम्मेदवारी परेको छ ।
सहमतिको प्रयास असफल
विगतमा सहमति जुटाएर अध्यक्षलगायतका अन्य पदमा निर्विरोध निर्वाचित गराउन व्यवसायीहरू सफल भएका हुन्थे । यसमा पूर्वअध्यक्षहरूको भूमिका अहम हुन्थ्यो । तर, पछिल्लो समयमा पूर्वअध्यक्षहरू संघमा आफ्नो पकड जमाउनविपरीत धु्रवमा फर्किएका छन् । उनीहरूले आफूले चाहेका उम्मेदवार बोकेर हिँड्दा अहिले निर्वाचनमा उम्मेदवारभन्दा पनि पूर्वअध्यक्षहरूबीच प्रतिष्ठाको लडाइँ भएको प्रष्ट देखिएको छ ।
न्यौपानेको टिमलाई पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ र शर्माको टिमलाई संघका पूर्वअध्यक्ष एवं उद्योग वाणिज्य महासंघका वर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माको समर्थन छ । अहिले निर्वाचनलाई दुई पूर्वअध्यक्षहरूले प्रतिष्ठाको विषय बनाएको र आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन भोट माग्दै र लबिङ गर्दै मतदाता माझ पुगेको आरोप व्यवसायीहरूले उनीहरूलाई लगाउँदै आएका छन् ।
“दुई पूर्वअध्यक्षहरूले उद्योग वाणिज्य संघको अध्यक्षसहितको पदलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै निर्वाचनमा होमिंदा मतदाता व्यवसायीहरूबीच पनि फाटो आउन थालेको छ,” संघका पूर्वअध्यक्ष ओमकार गौचन भने । “दुई पूर्वअध्यक्षहरूले चाहेको भए सहमति हुन सक्थ्यो । दुवैजनाले आफ्नो प्रतिष्ठाको विषय बनाउँदा यो अवस्था आएको हो,” उनले भने, “यसै कारण पनि संघले अहिले शाख गुमाउँदै गएको छ ।”
नयाँ नेतृत्वलाई चुनौतीका चांग
शनिबार हुने निर्बाचनबाट नयाँ नेतृत्वमा जो आए पनि यात्रा त्यति सहज भने छैन् । चुनौतीका धेरै पहाडहरू अघि छन् । संघको शाख फर्काइ पुरानै अवस्थामा ल्याउने, संघको आर्थिक अवस्था दरिलो बनाउने, सदस्यता वृद्धि गर्ने, गुणात्मक सदस्य बढाउन पहल गर्ने, संघको अपुरो भवन निर्माण सम्पन्न गर्ने, निजी क्षेत्रका बाह्य तथा आन्तरिक लगानीकर्ता भिœयाउन पहल गर्नुपर्ने, खुला सिमानाका कारण बढ्दो चोरी तस्करीले स्थानीय बजारमा पर्न गएको प्रभावलाई कम गर्ने, आयोजना गर्न नसकेको महोत्सव पुनः सञ्चालन गर्नुपर्ने, स्थायी महोत्सव स्थल (सिद्धार्थ मण्डप)को व्यवस्था मिलाउने र जिल्लामा निर्माणधीन अवस्थामा रहेका आयोजनाहरू समयमै सम्पन्न गराउन आवश्यक पहल गर्नुपर्ने चुनौती छ ।
मनोरञ्जन शर्मा