Logo

आर्थिक समृद्धिमा भ्रमण वर्षको योगदान

 
भौतिक पूर्वाधार वृद्धि गरी रोजगारीका अवसर वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने र पर्यटन क्षेत्रमा लगानी बढाउने हो भने सरकारले लिएको लक्ष्य हासिल गर्न सहज हुनेछ ।

सन् २०२० लाई नेपालले नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरिसकेको छ । साथै २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारले योजना बनाएको छ । यदि पर्यटन विस्तार र प्रर्वद्धनसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिएन भने त्यो केवल नारामा मात्रा सीमित हुन सक्दछ । त्यसैले गुणात्मक रूपामा पर्यटकको संख्या वृद्धि गर्न पर्यटनलाई पनि गुणात्मक रूपमा नै विकास गर्नु पर्ने देखिन्छ ।
नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको विशेष भूमिका रहेको छ । पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गाँसिएका क्षेत्र रोजगारी, कृषि, उद्योग, पारवहन आदि हुन् । जसलाई पर्यटनले गहिरो प्रभाव पारेको हुन्छ । नेपालको पर्यटन क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा ४ प्रतिशत योगदान पु-याएको छ । यो ज्यादै न्यून हो ।
नेपालमा पर्यटन व्यवसायले समुदाय, सहभागिता र गरिबी निवारणमा प्रत्यक्षरूपमा जोडिएको देखिन्छ । पदयात्रा तथा पर्वतारोहणमा प्रयोग हुने पथप्रदर्शक, भरियाबाहेक ती क्षेत्रसँग जोडिने अन्यको पनि पर्यटन व्यवसायमा बढीभन्दा बढी संलग्नता पाइन्छ । देशको कृषिपछिको महत्वपूर्ण र पर्यटन उद्योगले तीब्र गतिमा फस्टाउन सकेको छैन । जसको मुख्य कारण यस सम्बन्धी नीति नियम, प्रचार प्रसारको अभाव नै हो भन्न सकिन्छ ।
हाइकिङ, पदयात्रा, घरवास, बन्जीजम्प, पर्वतारोहण आदि पर्यटन व्यवसायसँग गाँसिएका महत्वपूर्ण पक्षमा अझै पनि पर्याप्तमात्रामा पथप्रदर्शक सहयोगी र आवश्यक जनशक्ति छैनन् । त्यसैले नेपालले जनसहभागितामा विविभ कार्यक्रम ल्याएर अगाडि बढ्नु आजको आवश्यकता हो । बढीभन्दा बढी युवाशक्ति विदेश पलायन हुने क्रम बढिरहेको बेलामा नेपालले सहभागितामूलक पर्यटकीय कार्यक्रमलाई अबलम्बन गर्दै जानु आजको अर्को चुनौती हो । तर पछिल्लो समयमा आएर महिलाहरूको सामुहिक प्रयासमा कतैकतै घरबास कार्यक्रम हुँदै आएको छ ,जुन सफल पनि भएको छ ।
यदि पर्यटन प्रवद्र्धन गर्ने खालका कार्यक्रमलाई लक्षित गरी विभिन्न योजना बनाउने र तिनलाई कार्यान्वयन गर्ने हो भने पक्कै पनि नेपाल सरकारले सोचेअनुरूप सन् २०२५ सम्ममा सरदर २५ लाख पर्यटक भित्र्याउन कुनै कठिनाइ पर्ने छैन । सरकारले प्रत्येक वर्ष १५ देखि २५ प्रतिशतसम्म पर्यटक भित्र्याउने अनुमान गरेको छ । नेपाल सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भ्रमण वर्षका कार्यक्रमले प्रत्यक्षरूपमा उक्त अभियानलाई प्रभाव पार्दछ । त्यसकारण नेपाल भ्रमण वर्षमा भित्रिने पर्यटकको संख्यामा गुणात्मकरूपमा वृद्धि गर्न सहयोग पुग्ने खालका कार्यक्रम बनाउनु पर्दछ । तबमात्र आशाअनुरूप पर्यटकलाई नेपाल भित्र्याउन सकिन्छ ।
पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न र पर्यटकको संख्यामा अपेक्षाकृत सुधार गर्न पर्यटन क्षेत्रमा लगानी बढाउनु पर्दछ । तबमात्र उक्त लक्ष्यमा पुग्न सकिन्छ । नत्र नेपालले सन् २०२५ मा २५लाख पर्यटक भित्र्याउने योजना कागजमा मात्र सीमित रहन सक्छ । मुलुक तीन तहको सङ्घीयतामा प्रवेश गरिसकेको छ । तीनै तहका सरकारले भौतिक पूर्वाधार विकास गर्नु सबैभन्दा पहिलो प्राथमिकता हो । नयाँ नयाँ पर्यटकीय गन्तव्यको पहिचान र खोजी, त्यसको प्रचार प्रसार गर्नु अर्को पक्ष हो भने अनि पर्यटनसँग सम्बन्धित हुने रोजगारीका पक्षलाई पनि विशेषरूपमा वृद्धि गर्न सकेमा नेपालको पर्यटन क्षेत्र अवश्य नै फस्टाउने छ । रोजगारीका अवसरलाई वृद्धि गर्न लगानीको पनि आवश्यकता हुन्छ । यदि भौतिक पूर्वाधार वृद्धि गरी रोजगारीका अवसर वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने र पर्यटन क्षेत्रमा लगानी बढाउने हो भने सरकारले लिएको लक्ष्य हासिल गर्न सहज हुनेछ ।
देशका कुनाकाप्चामा रहेका कैयन् पर्यटकीयस्थलहरू अझै ओझेलमा परेका छन् । प्रचारप्रसार, यातायात, खानपिन, बसोबास, सुरक्षाका लागि उपयुक्त होटलका अभाव भएका कारण कतिपय स्थानमा पर्यटकहरू जान पाएका छैनन् । जसका कारण ती महत्वपूर्ण स्थान ओझेलमा पर्न पुगेका छन् । त्यसैले तीनै तहका सरकारले त्यस्ता पर्यटकीय क्षेत्रको पहिचान गरी, त्यसका पूर्वाधार निर्माण गर्नु आवश्यक छ । नयाँ नयाँ पर्यटकीय गन्तव्यको विस्तार गर्ने हो भने पर्यटकको संख्यामा पनि अवश्य वृद्धि गर्न सकिन्छ । पर्यटकको संख्या वृद्धि गर्नका लागि केन्द्र प्रदेश र स्थानीय तहले आ–आफ्नो क्षेत्रबाट पहल गर्नु पर्दछ । यसमा सबैको एकमत हुन जरुरी छ ।
यदि त्यसो भएमा अहिले कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ४ प्रतिशत रहेकोमा त्यो सन् २०२५ मा बढेर ४.७ प्रतिशत पु-याउने अनुमान गरिएको पक्कै पनि सफल हुनेछ । यसैगरी पर्यटन क्षेत्रले आर्जन गर्ने कुल वैदेशिक मुद्रामा २१.७ प्रतिशतका दरले वार्षिक रूपमा वृद्धि हुने अनुमान गरिएको छ जो सहजै हासिल गर्न सकिन्छ । पर्यटकीय सम्पदा विविधीकरण र गन्तव्य विकासबाट पर्यटकहरूको वसाइ लम्बिने भएको हुँदा त्यसबाट आयआर्जनमा वृद्धि हुनपुग्दछ । त्यसैले नेपाल आउने पर्यटकलाई बढीभन्दा बढी नेपालमा बस्ने वातावरण सिर्जना गर्न सकेमा मात्र उनीहरूको खर्च बढ्छ । त्यसैले नेपाल सरकार र पर्यटनसँग सम्बन्धित निकायले पर्यटकका बसाइ अवधि बढ्ने र बढाउन सकिने खालका प्याकेज निर्माण गर्नु पर्दछ । प्याकेजका साथसाथै उनीहरूलाई विभिन्न ट्रेलबाट पदयात्रा गर्न गराउन सकिन्छ । यसका लागि पर्यटनसँग सम्बन्धित निकाय, संघसंस्थाले त्यस्ता खाले योजना निर्माण गर्नु पर्दछ । नेपालले अब नयाँ लगानी, नयाँ गन्तव्य र नयाँ रोजगारीलाई केन्द्रित गरेर पर्यटनसँग सम्बन्धित कार्यक्रमहरू ल्याउनु आवश्यक छ ।
त्यसका लागि सरकारले कल्चरल, हेरिटेज, गुरिल्ला, युनिफिकेसन आदि ट्रेलजस्तै विभिन्न पदयात्रा विकास गरेर अगाडि बढाउने हो भने पक्कै पनि पर्यटन व्ययसायले हालको अवस्थाबाट प्रगति गर्ने देखिन्छ ।
हालै पृथ्वीनाराणण शाहले काठमाडौँ उपत्यका विजय गर्न प्रयोग गरेको मार्गलाई नेपाल सरकारले एकीकरण पदमार्गका रूपमा विकास गरेको छ । गोरखा दरबारको हनुमान चौतारीबाट उक्त पदयात्रा सुरु भएको थियो । गोरखाबाट सुरु भएको उक्त पदयात्रा धादिङ, नुवाकोट हुँदै पुस २३ गते काठमाडौँ जितपुरफेदी र गोलढुंगाको सिमानामा पर्ने मुडिखुगढीमा आएको थियो । उक्त पदयात्रा पृथ्वीनारायण शाहले कान्तिपुर विजय प्राप्त गर्न प्रयोग गरेको मार्ग हो । यस्ता पदमार्ग विकसित गरी आवश्यक प्रचारप्रसार गर्ने हो भने पक्कै पनि उल्लेख्यरूपमा पर्यटक भित्र्याउन सकिन्छ । अहिले विश्वमा स्पिरिसन टुरिजमको क्रेज बढेको छ । स्पिरिसन टुरिजममा धार्मिक मात्र होइन अन्य विशेष र महत्वपूर्ण पक्षलाई पनि समावेश गर्न सकिन्छ । रामायण सर्किट, बुद्धिष्ट सर्किटका रूपमा यस्ता अभियान सञ्चालन गर्ने हो भने पक्कै पनि पर्यटक नेपाल भित्र्याउन कुनै कठिनाइ पर्दैन ।
चीनले पनि आफ्ना महान दार्शनिक कन्फ्युसियसलार्य पर्यटनको आकर्षणका रूपमा अघि सारेको छ । हामीले पनि पृथ्वीनारायणको नेपाल एकीकरणको अभियानलाई पनि प्रयोग गरी नमूनाका रूपमा पर्यटकीय अभियान सञ्चालन गर्न सक्दछौँ । यदि त्यसो गर्न सकेमा नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्यामा वद्धि हुने छ भने सन् २०२५ मा २५ लाख पर्यटकलाई नेपाल भ्रमण सहजै गराउन सकिन्छ । जसअनुरूप २०२५ मा ६ लाख ३२ हजारले नेपालीले पनि सहजै रोजगारी प्राप्त गर्न सक्नेछन् । यसकारण यस प्रकारका योजनालाई मूर्तरूप दिन सरकार चुक्नु हँुदैन । पर्यटनसँग गाँसिएको प्रत्यक्ष विषय रोजगारी नै हो । नेपाल सरकारको तथ्यांक अनुसार पर्यटन क्षेत्रमा सन् २०१४ मा करिब १ लाख ३८ हजारले रोजगारी पाएका थिए । त्यस्तै सन् २०१५ मा ४ लाख २६ हजार ५ सयलाई रोजगारी दिइएको थियो । तर विश्व परिवेशलाई आकँलन गर्ने हो भने यो संख्या ज्यादै न्यून हो ।
नेपालको पर्यटनको प्रमुख आवश्यकता नै गुणस्तरीय पर्यटन हो । अबको हरेक क्षणमा पर्यटकका लागि विल्कुलै नयाँ प्याकेज ल्याउनु पर्दछ । यस वर्ष सरकारले महाशिवरात्रीमा विशेष कार्यक्रम, कालीगण्डकीका माउन्टेन बाइकिङ, कर्णालीमा लङ -याफ्टिङ, आइस स्कटिङलगायतका विविध कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ तर यस प्रकारका कार्यक्रम बाह्रैमहिना सञ्चालन गर्न सके पर्यटक बढीभन्दा बढी आकर्षित नहोलान् भन्न सकिन्न । जसका लागि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अन्य विमानस्थलको अवस्थालाई पनि सुधार गर्नु पर्दछ । हालै सरकारले त्रिभुवन विमानस्थलको धेरै सुधार गरिसकेको छ भने तीनवटा पार्किङ वे पनि थपिसकेको छ ।
त्यस्तै टुरिजम इन्भेष्टमेन्ट फोरममा सातवटै प्रदेशका सम्भावित पर्यटकीय गन्तव्यलाई जोडेर अब आउने पर्यटकलाई सातैवटा प्रदेशमा घुमाउने व्यवस्था गर्नु पनि पर्दछ । पर्यटकहरू काठमाडौँ, पोखरा, चितवन र नाम्चेमा मात्र केन्द्रित हुने वातावरण निरुत्साहित गर्नु पर्दछ । सुदूर पश्चिम र पूर्वमा पनि पर्याप्तमात्रामा उनीहरूलाई लैजाने वातावरण तयार नभएसम्म पर्यटनले सोचेजति फड्को मार्न सक्दैन । गौतम बुद्धको जन्मभूमिमा बढीभन्दा बढी पर्यटक ल्याउने खालको कार्यक्रम सरकारले तर्जुमा गर्न सकेको छैन ।
त्यसैले नेपाली अर्थतन्त्रको बलियो आधारका रूपमा पर्यटनलाई विकसित गर्ने हो भने यस क्षेत्रका विभिन्न समस्या पहिचान गरी तिनको समाधान गरेर अगाडि बढ्नु पर्दछ । यसो भएमा नेपालले कुनै पनि वर्षलाई भ्रमण वर्षका रूपमा मनाउन पटक पटक घोषणा गर्नु पर्दैन । त्यसो भएमा नेपाली अर्थतन्त्र पनि बलियो र समृद्ध बन्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्