Logo

बीटीएस टावर अलपलत्र

ओखलढुंगा– दुर्गममा मोबाइल नेटवर्क प्रभावकारी बनाउनका लागि नेपाल टेलिकमद्वारा ओखलढुंगामा निर्माण थालिएका ८ वटा बीटीएस टावर अलपत्र परेका छन् । ठेकेदार कम्पनी काम छाडेर भागेपछि ग्लोबल टेन्डर आह्वान गरेर निर्माण थालिएका टावर अलपत्र परेका हुन् ।
६ महिनाभित्र सक्ने गरेर टेलिकमले तीन वर्षअघि ग्लोबल टेण्डरमार्फत भारतको एस्टर इन्डिया कम्पनीलाई देशैभरका ६१ वटा बीटीएस टावर निर्माण गर्ने जिम्मा दिएको थियो । तर, ठेकेदार कम्पनी टावर निर्माण गर्ने क्रममै सम्पर्कविहीन भएपछि धेरैजसो टावर निर्माणको काम अलपत्र भयो । यसैक्रममा ओखलढुंगाका बलखु, पलापु, कटुञ्जे, फूलबारी, पोकली, खिजीफलाटे, उबू र दियालेमा बीटीएस टावर निर्माण गर्ने काम समेत रोकियो ।
निर्माणाधीन टावर सञ्चालन गर्न दुई वर्षअघि नै बलखु, पलापु, खिजीफलाटे र कटुञ्जेमा सोलार सिस्टम जडानको जिम्मा पाएको आइबीएन कम्पनीले भने आफ्नो जिम्मेवारी समयमै पुरा ग-यो । अहिले टावर निर्माण गर्ने फिल्डमा जडान गरिएको सोलार सिस्टम खिया लाग्न थालिसकेको छ । तीन वर्ष अघि थालिएको टावर निर्माणको काम अझै अत्तोपत्तो नभएको सुनकोसी गाउँपालिका–१ का वडासदस्य सहदेव गिरीले बताए ।
मोबाइल नेटवर्क प्रभावकारी बनाउन निर्माण थालिएका टावर नबन्दा यहाँका नागरिकहरू सास्ती खेप्न बाध्य छन् । बीटीएस टावर निर्माणका लागि नागरिकहरू जिल्लास्थित दूरसञ्चार कार्यालयमा हार गुहार गर्न पुगे पनि यो कार्यालय केन्द्रीय र क्षेत्रीय कार्यालयलाई जिम्मेवार देखाउँदै पन्छिँदै आएको छ ।
टावर निर्माणका लागि हालै विभिन्न चरणमा ठेकेदार कम्पनीसँग टावर निर्माणका विषयमा छलफल चलेको नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका वरिष्ठ इन्जिनियर जितेन्द्र शाहले बताए । तर पनि यही मितिमा टावर निर्माण सम्पन्न भएर सेवा सुचारु हुन्छ भन्ने कुरा सो कार्यालयले ठोकुृवा गर्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्