सम्पदा पुनर्निर्माणमा सुस्तता «

सम्पदा पुनर्निर्माणमा सुस्तता

हाम्रो देशलाई मन्दिरै मन्दिरको देश भनेर पनि चिनिन्छ । धार्मिक सम्पदा हाम्रो अमूल्य निधि र पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । ८० प्रतिशतभन्दा बढी हिन्दू धर्म मान्नेहरूको सुन्दर देशमा हजारौँका संख्यामा रहेका मठमन्दिर, स्तूप, चैत्य गुम्बाले ठूलो महत्व राखेको छ । युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत गरिएका दसवटा सम्पदालगायत देशभर रहेका महत्वपूर्ण धार्मिक तथा पर्यटकिय ठूलो क्षति पु-यायो । पशुपतिनाथ, बौद्ध, लुम्बिनी, स्वयम्भूनाथ, भक्तपुर दरबारक्षेत्रलगायतका दर्जनौँ सम्पदा क्षेत्रभित्रका मठमन्दिर, गुम्बालगायतका संरक्षणको पुनर्निर्माण कार्य जुन गतिमा हुनुपर्ने थियो त्यो हुन सकेको देखिँदैन ।
राजधानीको मुटुमा अवस्थित प्राचीन पोखरी रानीपोखरी पुनर्निर्माण कार्य ढिलो पुनर्निर्माणको थालनी गरिए, तैपनि त्यसले गति लिन सकेको छैन । त्यसैगरी वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रभित्रका सम्पदाको पनि जीर्णोद्धार कार्य निकै धिमा गतिमा भइरहेका छन् । पृथ्वीनारायण शाहद्वारा निर्माण गरिएका नेपाल एकीकरणको महत्वपूर्ण कार्यसँग जोडिएको नुवाकोट दरवार पनि पुनर्निर्माण हुन सकेको छैन । भूकम्प गएको पनि दुई वर्ष बितिसक्दा समेत देशका महत्वपूर्ण मन्दिरहरू पुनर्निर्माण तथा जीर्णोद्धार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा समेत कमी आएको छ । आफ्नै स्रोत र साधनबाट पुनर्निर्माण गर्ने भनिएको टुँडिखेलको दक्षिण–पश्चिममा अवस्थित सुन्धाराको मुख्य आकर्षणका रूपमा रहेको धरहरा पनि पुनर्निर्माणको पर्खाइमा बसिरहेको छ । राजधानीको महत्वपूर्ण सौन्दर्य स्थलको पुनर्निर्माण नहुँदा आमनागरिकमा निराशा छाउन थालेको आभास पाइन्छ ।
इच्छाशक्ति र तत्परता भयो भने ठूला सम्पदाको पनि पुनर्निर्माण गर्न सहिन्छ भन्ने दृष्टान्त काठमाडौँकै बौद्धमा अवस्थित बौद्धनाथको गुम्बा एक वर्षभित्रै करोडभन्दा बढी रकम खर्चेर बनाइसकिएबाटै पुष्टि हुन्छ । देशको आधिकारिक निकाय पुरातत्व विभाग नगरपालिका, पुनर्निर्माण प्राधिकरणलगायतका निकायद्वारा यसतर्फ गम्भीरतापूर्व ध्यान पु-याउनुपर्ने हो, तर त्यो देखिएको छैन । नेपाल भ्रमण गर्ने पर्यटकहरूमध्ये ठूलो संख्या धार्मिक पर्यटनका लागि पनि आउँछन् । त्यसैले पर्यटन प्रवद्र्धनका निमित्त समेत यस्ता प्रसिद्ध सम्पदास्थलको पुनर्निर्माणमा चनाखो भई छिटोभन्दा छिटो कार्यारम्भ गर्नुपर्ने देखिन्छ ।
पछिल्लो समयमा सम्पदा पुनर्निर्माण कार्यका लागि अत्यावश्यक पर्ने इँट्टाको अभाव भएको समाचार पनि आएकाले त्यसतर्फ पनि इँट्टाभट्टासँग समन्वय गरी थप मात्रामा उत्पादन गर्न लगाउने कार्यमा पनि तदारुकता देखाउनुपर्छ । त्यस्तै नेपाली सालको काठ चाहिने जुन नेपाल टिम्बर कर्पोेरेसनले आवश्यक मात्रा र साइजमा उपलब्ध गराउन नसकेको गुनासो पुरातत्व विभागले जनाएको छ । विश्वसम्पदा सूचीमा सूचीकृतमध्ये नौवटाको पुनर्निर्माणको जिम्मा लिएको पुरातत्व विभागले आवश्यक सामग्रीको अभावका कारण पनि निर्माण कार्यले गति लिन नसकेको बताउँदै आएको छ ।
भक्तपुर दरबार क्षेत्रको क्षतिग्रस्त सिलु महादेव र फसिखेल मन्दिरको पुनर्निमाण कार्य हालसम्म जम्मा ४० प्रतिशत मात्रै भएको पाइन्छ । त्यसैगरी तब सत्तल राष्ट्रियकला संग्रहालय (लाल बैठकबाहेक) सिंह ढोका, सूर्य विनायक नगरपालिकास्थित अनन्तलिंगेश्वर मादी महेश्वरी पीठ सन्तल नीलवाराही सत्तल सिद्धिलक्ष्मी मन्दिर आदिको निर्माण कार्य २० देखि ४० प्रतिशतसम्म पुनर्निर्माण भएको देखिन्छ । युनेस्कोबाट मान्यताप्राप्त चाँगुनारायण मन्दिर र सूर्यविनायक नगरपालिकास्थित दक्षिण वराही माहीको भने पुनर्निर्माण कार्यसम्पन्न भएको देखिन्छ ।
सम्पदा पुनर्निर्माणका लागि अत्यावश्यक सामग्रीहरू काठ चुना सुर्की इट्टा (बुट्टेदार) लगायतका कच्चा पदार्थहरूको उपलब्धता पर्याप्त मात्रामा नहुनुले पनि निर्माण कार्यमा ढिलाइ हुने गरेको देखिन्छ । भक्तपुर नगरपालिकाले पुनर्निमार्णको जिम्मा लिएकामध्ये भक्तपुर दरबार क्षेत्रभित्रको पचपन्न झ्याले दरवार दक्षिणतर्फको शेषनारायण मन्दिर दरबार परिसरकै प्रवेशद्वार त्रिविक्रम नारायण मन्दिरअगाडिको लक्ष्मीनारायण मन्दिर वात्सला मन्दिर केदारनाथको मन्दिर च्याम्हासिंहको प्रवेशद्वार सिद्धपोखरीको पर्खाल लगायतका क्षेत्र भने पुननिर्माण भैसकेका छन् ।
गोरखा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर, लुम्बिनीको मायादेवीको मन्दिर पाटन दरवार क्षेत्रका मठमन्दिर स्वयम्भूनाथ क्षेत्रका मठमन्दिर पशुपतिनाथ क्षेत्र भित्रका मठमन्दिरलगायत देशका विभिन्न स्थानमा रहेका मन्दिरहरू क्षतिग्रस्त छन् । यिनीहरूको पुनर्निर्माण केहीको थालनी भए पनि निकै सुस्त गतिमा भैरहेका छन् भने कतिपय सम्पदास्थलका मन्दिरहरूको भने पुनर्निर्माण हुन नै सकेका छैनन् । एकै पटक सयौँका संख्यामा रहेका सम्पदा स्थलको जीर्णोद्धार तथा पुनर्निर्माण कार्यका लागि ठूलो रकमको खाँचो पर्छ । त्यसको व्यवास्थपन गर्न कठिन पनि हुन्छ । तसर्थ प्राथमिकताका आधारमा क्रमैसँग पुनर्निर्माण गर्दै जाने र आफ्नो स्रोतले नभ्याउने भएमा विभिन्न दातृराष्ट्रसँग सहयोगको याचना समेत गर्न सकिन्छ ।
दातृराष्ट्रले पनि आफूले प्रदान गर्ने रकमको सही रूपमा उपयोग भएको हेर्न चाहने भएकाले दुरुपयोग हुन नदिई पूर्ण रूपमा विश्वस्त हुने वातावरण निर्माण गर्नु जरुरी हुन्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि आफ्नो कोषमा जम्मा भएको रकममध्ये निश्चित प्रतिशत रकम सम्पदा पुनर्निर्माणका लागि विनियोजन गरी राष्ट्रको धरोहरप्रति चासो देखाई अगाडि वढ्नुपर्छ । जसका लागि सरकार पुरातत्वविभाग नगरपालिकाजस्ता निकायको अग्रसरताको खाँचो रहन्छ । राष्ट्रको गौरव र विश्वमै अलग्गै पहिचान बनाउन सफल सम्पदाको पुनर्निर्माणमा लाग्नका लागि हरतरहले प्रयत्न गर्नुपर्छ ।
पुनर्निर्माण गर्दा भने युनेस्कोले तोकेको मापदण्डलाई कायम राख्दै सम्पदास्थलको सौन्दर्यप्रति पनि ध्यान दिनुपर्ने हुन्छ । सम्पदास्थल वरपर मापदण्ड विपरित निर्माण गरिएका भौतिक संरचनालाई समेत हटाउनेतर्फ पनि प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्