विद्युतीय स्कुटर खरिदमा इन्भेष्टमेन्ट मेगा बैंकको सहुलियत कर्जा

काठमाडौं– पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् ।
विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज (गति) उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका स्कुटर तथा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै विद्युतीय विशेष गरी युवापुस्ता लागि यस्ता स्कुटर रोजाइमा पर्न थालेको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई कम गर्दै विद्युतीय सवारीसाधन प्रयोग बढाउँदै तथा प्रवर्द्धन गर्दै जाने सरकारको नीतिसमेत रहेको छ । यसैबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय स्कुटरलाई उच्च प्रवर्द्धन गर्न सुरुवात गरेको छ ।
बैंकले चारपाङ्ग्रे विद्युतीय सवारीसाधनलाई उपलब्ध गराउँदै आएको सहुलियत पूर्ण कर्जा विद्युतीय स्कुटरलाई पनि उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याएको छ । यसका लागि बैंक र इको इन्फिनिटी प्रालीबीच द्विपक्षीय सम्झौता भएको छ । नेपालमा इको इन्फिनिटीले ‘एनआइयू (न्यू) इलेक्ट्रिक’ नामक विद्युतीय स्कुटर पहिलो पटक सन् २०१७ मा भित्र्याएको थियो । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा मौसम बोहराले हस्ताक्षर गरे ।
सो सम्झौताअनुसार अब बैंकले ‘अटो लोन’अन्तर्गत सो कम्पनीद्वारा आयातित ‘न्यू इलेक्ट्रिक’ स्कुटर खरिद गर्दा ८० प्रतिशतसम्म किस्तामा ‘लोन’ प्रवाह गर्नेछ । यस्तो लोन स्कुटरको ‘वारेन्टी’का आधारमा चार वर्षसम्म हुने जनाइएको छ । सम्झौता हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले वातावरण संरक्षणका लागि नेपालमा विद्युतीय स्कुटर प्रवर्द्धन गर्दै उपभोक्तालाई यसका बानी पार्नु आवश्यक रहेको बताए ।