अदुवा निकासीमा भएको अवरोध हट्यो

नेपालमा उत्पादित अदुवा निकासीमा भारतले गर्दै आएको अवरोध हटेको छ । वाणिज्य मन्त्रालयको पहलमा हालै भारतीय भन्सारका पदाधिकारीबीच भएको छलफलबाट नेपाली अदुवा निकासीमा भएकोे अवरोध हटाएको हो ।
भारत सरकारले कच्चा अदुवामा ५ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) लागू गरेपछि करिब २० दिनदेखि नेपाली अदुवा निकासी अबरुद्ध थियो । गत मंगलबार सिलिगुडीस्थित राजस्व विभागका अधिकारीसँगको छलफलमा नेपाली पक्षले नेपाल–भारत वाणिज्य सन्धिअनुरूप अदुवा निर्वाध जान पाउनुपर्ने माग गरेका थिए ।
वाणिज्य उपसचिव तर्कराज भट्टले अदुवा निकासीमा भएको अवरोध हटेको बताए । अदुवामा निर्यातमा देखिएको अवरोध हटाउन भारतीय भन्सारका प्रतिनिधि सहमत भएपछि अवरोध हटेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल भारत बाणिज्य सन्धीअनुसार नेपालको कृषिजन्य वस्तुमा निर्वाध रूपमा भारत निकासी हुने प्रावधान रहेकाले अदुवा निकासीमा देखिएको अवरोध तत्काल हटाउन भारतीय पक्षलाई नेपाली पक्षले अनुरोध गरेको थियो ।
भारतीय पक्षबाट नेपाली पक्षले उठाएका विषयमा सकारात्मक हुँदै समस्या समाधानका लागि तत्काल सम्बन्धित निकायबाट आवश्यक पहल गर्ने आश्वासन आएको मन्त्रालयले जानकारी दिएको छ । “तत्कालका लागि अदुवा निकासी खुलेको छ,” भट्टले भने, “समस्याको दिगो समाधानका लागि मन्त्रालयबाट पहल गरिनेछ ।”
सिजनको सुरुमै अदुवा निकासी ठप्प हुँदा पूर्वी पहाड तथा अन्य जिल्लाका किसानको करोडौं मूल्यको अदुवा कुहिने अवस्थामा पुगेको थियो । भारतले अदुवा, अम्लिसो तथा कृषिजन्य उत्पादनलाई बारम्बार अवरोध गर्दा किसान र व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको थियो । सरकारले अदुवा निर्यातमा देखिएका समस्या दीर्घकालिनरुपमा समाधान नगर्दा धेरै समस्या भोग्नुपरेको व्यवसायीको भनाई छ ।
भारत सरकारले लागू गरेको (जीएसटी)का कारण नेपाली अदुवा निर्यात प्रभावित भएको थियो । जीएसटीअन्तर्गत स्वदेशी उत्पादन निर्यात र अन्य मुलुकबाट आयात हुने कृषिजन्य वस्तुमा समान भन्सार शुल्क लागू गरेपछि निर्यात प्रभावित भएको हो । भारतले जीएसटीअन्तर्गत कृषिजन्य वस्तुको निर्यातमा ५ प्रतिशत भन्सार शुल्क लगाइएको छ । यसअघि यो शुल्क एक प्रतिशत थियो ।
मुलुकबाट बर्सेनी ठूलो परिणाममा भारतमा अदुवा निर्यात हुने गर्छ । अदुवा निर्यातमा बेला बेला आउने अवरोधले उत्पादक र व्यवसायीलाई प्रत्यक्ष असर पुग्ने गर्छ । नेपाल–भारत वाणिज्य सन्धीमा अदुवालगायतका कृषि उपजहरू निर्वाध निकासी गर्न पाउने प्रावधान छ । तर, भारतीय पक्षले बेलाबेलामा विभिन्न कारण देखाउँदै अवरोध गर्ने गरेको छ ।