Logo

असोज ५ भित्र दूध किसानको बक्यौता दिने सहमति

काठमाडौं– आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग र सरकारबीच सहमति भएको छ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना र केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसनका पदाधिकारीबीच ६ बुँदे सहमति भएको हो ।

दुग्ध उत्पादक कृषकको असार मसान्तसम्मको रकम असोज ५ गतेभित्र गर्ने सहमति भएको छ । त्यस्तै, साउन मसान्तसम्मको बाँकी रकम असोज ३० गतेभित्र, भदौ मसान्तसम्मको कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको छ । त्यसपछि बाँकी रकम नियमित रूपमा भुक्तानी गर्दै जाने र नियमित भुक्तानी गर्ने उद्योगीले सोहीबमोजिम गर्ने सहमति भएको छ ।

बक्यौता रकम दशैंअघि भुक्तानी गर्ने सहमति भएसँगै किसानले आन्दोलन स्थगन गरेका छन् । डीडीसीले मात्र दुग्ध किसानलाई तिर्नुपर्ने बक्यौता झण्डै एक अर्ब रुपैयाँ रहेको छ । दूधको बक्यौता तिर्न भन्दै डीडीसीले २०७८ यता अर्थ मन्त्रालयसँग पटक–पटक गरी १ अर्ब २५ करोड ऋण लिएको छ । तर, किसानको बक्यौता बाँकी नै छ । दुग्ध किसानले डीडीसी र निजी डेरीबाट गरी झन्डै ३ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्