Logo

एनएमबि बैंकद्वारा वी च्याट पे सार्वजनिक

एनएमबि बैंकसगँको साझेदारीमार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वीच्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ । वी च्याट पे सेवाको औपचारिक घोषणा पोखराको लेकसाइडमा एक समारोहबीच गरिएको थियो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका सञ्चालक योगेन्द्रलाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायतको उपस्थिति थियो ।

नेपालका लागि चीनका राजदूत चेन सोङले वी च्याट पे क्यूआर कोडमार्फत स्थानीय व्यवसायीलाई कारोबार गर्न सहजता पुग्ने वी च्याट पेको सुविधा र नेपाल चीन फ्रेन्डसिपको बारेमा जानकारी दिए । उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वी च्याटमार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकिङ प्रणाली मार्फत सम्बन्धित सेवा प्रदायक बिक्रेताले प्राप्त गर्ने बताए ।

यसले डिजिटल बैंकिङ कारोबारलाई समेत प्रोत्साहन हुने विश्वास व्यक्त गरे । यो साझेदारीले वी च्याट पेमार्फत कारोबार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ । अब आगन्तुकहरूले आफ्नो वीच्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त एनएमबि बैंकमार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्