आधार शिविरमा विद्युत, संचार र खानेपानी समस्या

अन्नपूर्ण हिमालको आधार शिविरमा हिमाल आरोही र पर्यटकलाई विद्युत, सञ्चार र खानोपनीको असुविधा रहेको छ । सहज पदमार्गले पर्यटनको आगमन बढेपछि अन्नपूर्ण गाउँपालिका– ४ स्थित नर्थ अन्नपूर्ण आधार शिविरमा पुगेका आरोही र पर्यटकलाई विद्युत, खानेपानी, सञ्चार, गोदाम घरको सुविधाबाट बञ्चित रहेका छन् ।
४ हजार १९० मिटर उचाइमा रहेको आधार शिविरमा पर्यटक आवागमन बढेको छ । हिमाल आरोहणका लागि आधार शिविरमा बसेका आरोही, शेर्पा र पदयात्रामा पुगेका पर्यटकलाई सञ्चार सेवा, खानेपानी, विद्युत, टेन्ट राख्ने ठाउँ, गोदाम घरको समस्या देखिएको मौरिस हर्जोग पदमार्ग समितिका अध्यक्ष तेज गुरुङले बताए । सञ्चार सुविधा नहुँदा बेशक्याम्पमा बस्ने शेर्पाले नेटवर्क भएको ठाउँमा पुगेर फोन सम्पर्क गर्नुपर्ने अवस्था छ ।
समस्यामा परेका आरोही र पर्यटकको उद्धारमा समेत कठिनाइ हुने गरेको अध्यक्ष गुरुङले बताए । आरोहीको व्यवस्थापन गर्न आधार शिविरमा सेभेन समिट लगायतले क्याम्प खडा गरेर बस्छन् । खानेपानीका लागि दुई घण्टाको दूरीमा रहेको पञ्चकुण्ड तालमा पुगेर पानी बोकेर उकालोमा ल्याउनुपर्ने बाध्यता शिविरमा छ । आधार शिविर भन्दा करिब तीन सय मिटर उचाइमा पानीको मुहान छ ।
पाइपबाट पानी ल्याउन सकिने सम्भावना छ । पानी व्यवस्थापन भएमा यहाँ आउने पर्यटकका लागि निकै सहज हुने सेभेन समिटका सहभागीले बताए । यो वर्ष विदेशी र नेपाली ४४ जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका छन् । विदेश पर्यटक घुमाउन गएका माउण्टेन लिजेण्ड प्रालीका गाईडर सेसकान्त शर्माले यो क्षेत्र भौगोलिक संरचनाले पर्यटनको सम्भावना बढी रहेको बताउदै पूर्वाधार हिसावले पदमार्ग राम्रो भएपनि एकैचोटी दुई तीन समुह पर्यटक आउदाँ क्याम्पको आश्रयस्थलम समस्या रहेको बताए ।
उनले पदमार्ग विभिन्न ठाउँमा क्याम्पसाइड थप गर्न ध्यानदिनुपर्नेमा जोड दिए । आधार शिविरमा तत्काल थप आश्रयस्थल, टेन्टसुविधा, विद्युत, नेटवर्क सेवा, खानेपानी सुविधामा गाउँपालिकाले योजनाबद्ध रुपमा निर्माणमा ध्यान दिनुपर्ने बेनीबाट बेसक्याम पुगेका घनश्याम खड्काले बताए । उनले तत्काल खानेपानी र नेटवर्कको लागि सहजिकरण गर्न गाउँपालिकालाई आग्रह गरे ।
यस क्षेत्रमा पर्यटकले दुख पाउने ठाउँमा घरबास, सरसामान भण्डार गर्ने गोदाम र टेन लगाउने ठाउँको व्यवस्थापन गर्नु पर्ने देखिएको कार्यपालिका सदस्य खमबहादुर गर्वुजाले बताए । विश्वको दसौं र नेपालको नवौं अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर म्याग्दीमै पर्ने भएपनि आवश्यक प्रचारप्रसार नहुँदा म्याग्दीले लाभ लिन सकेको छैन् ।
आधार शिविरसम्म पुग्ने पदमार्गको स्तरोन्नती, क्याम्पिङ साईट, सेल्टर, खानेपानी, विद्युत, गोदामलगायतको पर्यटन पूर्वाधार निर्माणलाई योजनाबद्ध रुपमा अघि बढाउने गाउँपालिका अध्यक्ष भारतबहादुर पुनले बताए । उनले तत्काल नेटवर्क, खानोपानी र पञ्चकुण्डतालबाट बग्ने मिस्त्री खोलामा झोलुङ्गे पुल निर्माणमा ध्यान दिने जनाए । नारच्याङ हुँदै–छोटेपा–हुमखोलासम्म सडक सुविधा र २२ किलोमिटर पदयात्रामा आधार शिविर पुग्न सकिने पनि उनको भनाइ छ ।