मझौ गुफा ओझेलमा

तेह्रथुमका पर्यटकीय गन्तव्यमध्ये फेदाप गाउँपालिका ओयाक्जुङमा रहेको धार्मिक तथा पर्यटकीय मझौ गुफा पनि एक हो । मध्यपहाडी लोकमार्गबाट ५० मिटरको दुरीमा रहेको गुफा गुमनाम झै बन्दै आएको छ । जिल्ला सदरमुकाम म्याङलुङदेखि सवारीसाधनको यात्रामा करिब ४५ मिनेटमा पुगिने यो गुफामा पर्यटक खासै पुग्दैनन् । पर्यटकीय रुपमा प्रचुर सम्भावना रहेको यो गुफाको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।
गुफामा पुग्न सिँढी निर्माण गरिएपनि प्रवर्द्धनको खाँचो छ । गुफालाई पर्यटकीय गन्तव्यको विकास गर्न स्थानीयले वर्सेनि गुफाको नाममा माघेनी मेला लगाउँदै आएका छन् । माघ १ देखि ३ गतेसम्म विभिन्न प्रतियोगितासहित सांस्कृतिक कार्यक्रमहरु गर्दै आए पनि प्रचारप्रसार नहुँदा अझै ओझेलमा पर्दै आएको छ । गुफाभित्र पर्यटक तथा दर्शनार्थीका लागि बिजुली बत्ती जडान गरि सहज बनाइएको छ ।
गुफामा पाठपूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको स्थानीय कृष्णप्रसाद दुलालले बताए । यो गुफा ७० मिटर लामो रहेको छ । गुफालाई पर्यटकीय रुपमा विकास गर्न स्थानीय सरकारले जोड दिँदै आएको फेदाप गाउँपालिका अध्यक्ष केशव भेटुवालले बताए । “स्थानीय सरकार फेदाप गाउँपालिका रहेको पर्यटकीय स्थलहरुलाई संरक्षण र प्रवर्द्धन गर्न गुरुयोजना निर्माणको तयारी गर्दै आएका छौं” अध्यक्ष भेटुवालले भने ।