प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्न समिति गठन

आत्मदाह गरेपछि मृत्यु भएका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमार्फत उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन भएको छ । बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेछन् । आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्नेगरी समितिलाई कार्यादेश दिइएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । आचार्यको निधनपछि कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर बुधबार अपरान्ह उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उनका परिवारका सदस्यहरूलाई भेटेका थिए । भेटका क्रममा परिवारका समस्यामा सरकारसँगै गरेको र सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गरेर समाधान खोज्ने प्रयत्न गर्ने बताएका थिए ।
मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका आचार्यको भोलिपल्ट बिहान मृत्यु भएको थियो । आत्मदाह गर्नु केही घण्टाअघि उनले फेसबुकमा लामो स्टाटस लेख्दै आफू कसरी र कसका कारणले त्यो निर्णयमा पुगेको भनेर उल्लेख गरेका छन् ।
प्रहरीमा किटानी जाहेरी
आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा किटानी जाहेरी परेको छ । बिहीबार काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा पत्नी नानुका अधिकारीलगायतले जाहेरी दर्ता गराएका हुन् । अधिवक्ता स्वागत नेपालको टोलीले पनि यही विषयमा जाहेरी दिएको छ ।
उनीहरूले आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दिएका हुन् । मृतक आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा उल्लेख गरेका बैंकर तथा उद्योगी पवन गोल्यान, भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ लगायत करिब दर्जन बढी उद्योगी, व्यवसायी, सरकारी निकायविरुद्ध किटानी जाहेरी दिइएको छ ।