Logo

पर्यटन पुनः जगेर्नाका प्राथमिकता

बलियो आन्तरिक पर्यटन समग्र पर्यटन विकासको भरपर्दो आधार हो । यसलाई नीति र प्रवर्द्धनात्मक कार्यक्रममार्फत् थप प्रोत्साहित गर्न आवश्यक छ ।

नयाँ संविधानको अभ्याससँगै अपेक्षा गरिएको राजनीतिक स्थिरता, देशमा बढ्दो आर्थिक विकासमुखी सोच र मानसिकता, २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषित भ्रमण वर्ष-२०२०, सुध्रिँदै र विस्तार हुँदै गएको पूर्वाधारका कारण नेपालको पर्यटन उद्योगमा ठूलो मात्रामा लगानी बढिरहेको थियो, कोभिड महामारीअघिको अवस्थामा । मानव जातिका लागि स्वास्थ्यको पाटो जति महत्त्वपूर्ण हो, त्यत्तिकै महत्त्वपूर्ण सामाजिक र आर्थिक पाटो पनि हो ।

एक देशदेखि अर्को देश र एक सहरदेखि अर्को सहरमात्रै हैन, आन्तरिक आवतजावतसमेत बन्द हुँदाको असर सबैभन्दा बढी पर्यटन उद्योगमै परेको छ, जुन एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा गरिने गतिविधिहरूले सिर्जित हुने अर्थतन्त्र हो । कोभिड महामारीले यात्रामा आधारित उद्योग, पर्यटन सबैभन्दा बढी पीडा भोग्न बाध्य भयो । हालका दिनहरूमा महामारीको प्रभाव विश्वभर नै उल्लेख्य रूपले घटेको छ । तथापि नेपालको पर्यटन पुनरुत्थान हुन सकेको छैन ।

सन् २०१९ को तुलनामा सन् २०२० मा करिब ८१ प्रतिशत र सन् २०२१ मा करिब ९० प्रतिशतले खस्केको पर्यटक आगमन सन् २०२२ मा करिब ४५ प्रतिशतले कम नै रहने अनुमान गरिएको छ । कोभिड महामारीको त्रास सकिए तापनि अर्थतन्त्रमा यसको प्रभाव अझै परिरहेको छ । होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ, एयरलाइन्स, रेस्टुराँजस्ता क्षेत्रमार्फत सेवा प्रदान गरिरहेको पर्यटन व्यवसायले खर्बौंको आय सिर्जना गर्ने गर्छ । प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेनसमेत गरी पर्यटन क्षेत्रमा करिब १० लाख जनशक्तिलाई रोजगारी सिर्जना हुने गरेको छ ।

पर्यटन उद्योगमा मात्रै चार खर्बभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रको लगानी रहेको अनुमान छ । सुधारिएको त्रिभुवन विमानस्थल, नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनउन्मुख रहेकाले पर्यटनका लागि लामो समयदेखि मुख्य बाधकका रूपमा रहेको पूर्वाधारमा भएको सुधारले पर्यटन विकास र विस्तारका लागि नयाँ आयाम थपेको छ । महामारीले महासंकट त ल्यायो नै, तर संंकट र अवसर दुई फरक शब्द नभई एउटै अर्थ राख्ने शब्द हुन् भन्ने पनि बुझाइ छ ।

पछिल्लो अवस्थामा आन्तरिक पर्यटन तीव्र रूपले वृद्धि भइरहेको छ । पर्यटनमा आउने संकटपछि पुनरुत्थान हुने पहिलो सेगमेन्ट आन्तरिक पर्यटन नै भएको हुँदा निजी क्षेत्रको सहकार्यमा यसको प्रवर्द्धनका लागि एक अभियानको तयारी गर्न आवश्यक छ ।

वास्तवमा हरेक संकटले नयाँ अवसर पनि ल्याएको हुन्छ नै । संकटका बेला धेरै मानिस हार मान्छन् र हराउँछन् । केही मानिस बाँच्ने उपाय खोज्छन् र आफूलाई बचाउँछन् । र, केही मानिसहरू बाँच्ने प्रयासका साथै नयाँ अवसर खोज्न लाग्छन् र संकटलाई जितेर नयाँ सामाजिक, आर्थिक साम्राज्य खडा गर्छन् । तसर्थ अब संकटबाट कसरी बच्ने र यसको नकारात्मक प्रभावलाई कसरी पराजित गर्ने भन्ने चिन्तन गर्दै संकटग्रस्त अवस्थाबाट यथाशीघ्र सामाजिक–आर्थिक पुनरुत्थानतर्फ लैजाने मार्ग कोर्ने बेला हो यो । प्रयास केही नगर्ने, चाहनामात्रै राख्ने हो भने गन्तव्यमा पुगिँदैन ।

आन्तरिक र अन्तर्राष्ट्रिय आवागमन पूर्ववत् अवस्थामै पुग्न थालेको छ । अब पर्यटन बचाउन (सर्भाइभल), फर्काउन (रिभाइभल) र फैलाउन (थ्राइभल) का लागि एक स्पष्ट रणनीतिका साथ अझ बढी सक्रिय हुँदै हिँड्नुपर्ने आवश्यकता छ । पर्यटन उद्योगलाई बचाउन र फेरि पुरानै लयमा फर्काउन गर्नुपर्ने कामको सूची लामो हुन सक्छ । सबै काम एकैपल्ट सुरु गर्न र सम्पन्न गर्न सम्भव पनि छैन । तसर्थ, दीर्घकालमा बलियो बन्न तयारीस्वरूप निम्न क्षेत्रमा प्राथमिकताका साथ काम गर्नुपर्ने हुन्छ ।

१. बजेट कार्यान्वयन: आव २०७९/०८० का लागि आएको बजेटमा भूकम्पबाट क्षति पुगेका सबै सम्पदाको निर्माण यसै वर्षभित्र सम्पन्न गर्ने, ग्रेट हिमालय ट्रेललगायत हिमाली गन्तव्यहरूको विकास गर्ने, हवाई पूर्वाधार र सडक पूर्वाधारको विकासलाई उच्च प्राथमिकताका साथ अघि बढाउने, नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायका रूपमा छुट्ट्याउने, जसले युरोपसँगको सीधा पहुँच जोडिन सकोस् ।

यस्तै पर्यटन व्यवसायीलाई इजाजत र नवीकरण दस्तुरमा छुट दिने, सीमा सहरहरूमा पर्यटन प्रवर्द्धन गर्ने जस्ता महत्त्वपूर्ण कार्यक्रम घोषणा भएका छन् । हरेक वर्ष आकर्षक कार्यक्रमहरूको घोषणा हुने तर कार्यान्वयन नहुने विगत हामीले देख्दै र भोग्दै आएका छौं । तसर्थ पर्यटन क्षेत्रले यस्ता घोषित कार्यक्रमको कार्यान्वयन योजना बनाई नियमित फलोअप गर्नुपर्ने हुन्छ ।

चालू आर्थिक वर्षको आधी समय व्यतीत भइसक्दा पनि बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक छैन । बजेटले व्यवस्था गरेको विषयको प्रभावकारी कार्यान्वयन गर्न कोभिडको मर्कामा परेका मुख्य क्षेत्रहरू जस्तै हस्पिटालिटी, एयरलाइन्स, श्रमिक कामदारलगायत क्षेत्रगत रूपमा छुट्टाछुट्टै टास्क फोर्सका साथ यथाशीघ्र आवश्यक कार्यविधि बनाई परिचालित हुने स्थिति बनाउने ।

२. तयारीको सञ्चार र सुरक्षा मापदण्ड: नेपाल सुरक्षित तवरले पर्यटकका लागि पूर्णतः खुलिसकेको, झन्झटरहित यात्राको सुनिश्चितता गरिएको, नयाँ गन्तव्य र पूर्वाधार विकास भएको, पर्यटकको संख्या बढिरहेको जस्ता अवस्था र सहज व्यवस्थाका बारेमा एउटा इन्फोग्राफिक भिडियो सामग्री बनाई मुख्य स्रोतबजारका सरोकारवाला, सञ्चार क्षेत्र, गैरआवासीय नेपाली संघ र नेपाली डायस्पोरा र दूतावासमार्फत यथाशीघ्र सम्पे्रषित गर्ने, जसले नेपालको सक्रियता र तयारीका बारेमा सकारात्मक सन्देश दिनेछ ।

त्यसैगरी मुख्य स्रोत बजारबाट नेपालमा नियमित रूपमा पर्यटक पठाउने प्रतिष्ठित कम्पनीका विज्ञ प्रतिनिधिहरूमार्फत स्रोत बजारमा नेपाल आउन इच्छुक पर्यटकहरूमा नेपालका बारेमा रहेको बुझाइ, हामीले गर्नुपर्ने तयारीका बारेमा नेपालका सेवाप्रदायक व्यवसायीहरूलाई नियमित रूपमा अभिमुखीकरणका साथै बीटुबीका कार्यक्रमहरू गर्ने ।

अब यात्रामा निस्कने हरेक स्वदेशी/विदेशी पर्यटक दुवैले गन्तव्य वा गतिविधि छनोट गर्दा स्वास्थ्यसम्बन्धीको तयारीलाई पहिलो प्राथमिकतामा राख्नेछन् । पर्यटन पुनरुत्थान हुँदै गर्दा धेरै चिज पहिलेजस्तै अवस्थामा फर्के पनि स्वास्थ्यसम्बन्धी चासो रहिरहने हुँदा सफाइ तथा हाइजिनको मापदण्ड कडाइका साथ लागू गर्नुपर्छ । निजी क्षेत्र तथा पर्यटक प्रहरीका प्रतिनिधि संलग्न एउटा संयन्त्र बनाई त्यसको नियमित अनुगमन गर्ने व्यवस्था गर्ने, सुरक्षाको प्रत्याभूति पर्यटकहरू आकर्षित गर्ने एक महत्त्वपूर्ण आधार हो ।

३. ब्रान्ड भिजिबिलिटी: पहिचान एउटा यस्तो पक्ष हो जुन संकटकाल होस् वा समृद्ध काल जहिले पनि भिजिबल भइराख्नुपर्छ । उद्यम, व्यापार, व्यवसायमा पहिचान र छवि स्थापित गर्ने कार्य सबैभन्दा महत्त्वपूर्ण हो । त्यसैले नेपाल मन पराउने र सहयोग गर्नेहरूसँग नेटवर्किङ गर्ने, देशभित्र विकसित भएका सकारात्मक विकासहरूको प्रचार गर्ने काम पनि यही बेला गर्नुपर्ने हुन्छ ।

लकडाउनका बेला पनि विमानस्थलका काम भइरहेका थिए, स्थानीय तहमा पदयात्रा मार्गको स्तरोन्नति गरियो र भइरहेको छ, कतिपय सम्पदाको सौन्दर्यीकरण भइरहेको छ, कतिपय विदेशीहरू नेपाल सुरक्षित ठानेर यहीं लामो बसाइ गरिरहेका थिए । जुन कथाहरू बाहिर प्रचारित गर्ने बेला पनि यही हो । सांस्कृतिक विशिष्टता, प्राकृतिक सुन्दरता र हिलिङ डेस्टिनेसनको छवि अझ बढी प्रचार गर्नुपर्छ ।

आन्तरिक पर्यटक, विशेष रुचिका (निश) पर्यटक, आध्यात्मिक पर्यटक र बिजनेस पर्यटक हरेक संकट पछि पुनरुत्थान हुने महत्त्वपूर्ण चारवटा सेगमेन्ट हुन् । त्यसैगरी आन्तरिक, रिजनल, सर्ट हल र लङ हलका स्रोत बजारमा विशेष र लक्षित पर्यटन प्रवर्द्धनका कार्यलाई प्राथमिकताका आधारमा सुरुवात तथा तयारी गरौं, प्रभावकारी ब्रान्ड भिजिबिलिटीका साथ ।

४. आन्तरिक पर्यटन: पछिल्लो अवस्थामा आन्तरिक पर्यटन तीव्र रूपले वृद्धि भइरहेको छ । पर्यटनमा आउने संकटपछि पुनरुत्थान हुने पहिलो सेगमेन्ट आन्तरिक पर्यटन नै भएको हुँदा निजी क्षेत्रको सहकार्यमा यसको प्रवर्द्धनका लागि एक अभियानको तयारी गर्न आवश्यक छ । सरकारी तथा निजी क्षेत्रका संगठित संस्थामा कार्यरत कर्मचारीहरू १० लाखभन्दा बढी छन् ।

उनीहरूलाई वर्षमा दुईपल्ट गरी जम्मा १० दिनको खर्चसहितको भ्रमण बिदामा पठाउने कार्यक्रम गत वर्ष कार्यान्वयन हुन सकेन, तर अबदेखि लागू गर्ने । मलेसिया, थाइल्यान्ड, सिंगापुर, भारत, चीन, दुबई, इन्डोनेसिया, युरोप तथा अमेरिकी सहरहरूसम्म घुम्नकै लागि जाने नेपालीहरू करिब १२ लाख छन् । विदेशी मुद्राको सञ्चिति घट्न नदिनका लागि सरकारले देशबाहिर घुम्न जाँदा लैजान मिल्ने विदेशी मुद्रा सटहीको व्यवस्थालाई नियन्त्रण गरेको छ ।

अबका दिनमा यो संख्या पनि देशभित्रै पर्यटकीय गतिविधि गर्न प्रेरित भइरहेको छ । र, यो संख्या विदेशी पर्यटकहरूले गर्ने खालकै गतिविधिमा रमाउने र खर्च गर्ने खालको छ । त्यसैले यसको व्यवस्थित विकास र प्रभावकारी प्रवर्द्धनमा तत्काल र यथाशीघ्र जोड दिन अत्यावश्यक छ । बलियो आन्तरिक पर्यटन समग्र पर्यटन विकासको भरपर्दो आधार हो । यसलाई नीति र प्रवर्द्धनात्मक कार्यक्रममार्फत थप प्रोत्साहित गर्न आवश्यक छ ।

५. नवप्रवर्तन र दक्षता अभिवृद्धि: हरेक संकटले एउटा नयाँ अवसर ल्याएको हुन्छ तर त्यो अवसरलाई चिन्ने र त्यसबाट फाइदा लिन सक्ने हाम्रो क्षमता नहुँदा आएका अवसरहरू गुमाइन्छ । युवाहरूलाई दिगो पर्यटनका लागि उत्प्रेरित गर्न यस संकटपछि नवीनतासहित वातावरणमैत्री, दिगो पर्यटन, डिजिटल इन्नोभेसन, संकटको समाधानजस्ता विषयवस्तुमा केन्द्रित उद्यमशीलता जन्माउन स्टार्टअप/सिडक्याम्पको सुरुवात गर्ने । पर्यटन क्षेत्रमा र पर्यटन क्षेत्रका लागि अग्रपंक्तिमा काम गर्ने जनशक्ति, उद्यमी, व्यवसायी, कामदारहरूलाई दक्षता अभिवृद्धिका लागि नियमित रूपमा तालिम तथा अभिमुखीकरण प्रदान गर्ने ।

६. गन्तव्य र गतिविधिहरूको स्तरोन्नति: बढ्दो पूर्वाधारले आगामी दुई वर्षसम्म करिब २५ लाख पर्यटक आउन सक्ने अवस्था देखिँदै छ, जुन एकदमै ठूलो संख्या होइन । नयाँ गन्तव्यको खोजी वा विकासमा हामीसँग रहेको सीमित साधन र स्रोत लगानी गर्नुभन्दा विद्यमान मुख्य पर्यटकीय गन्तव्यहरू जस्तै- काठमाडौं उपत्यकाका विश्वसम्पदा सूचीमा परेका स्थलहरू, पोखरा/चितवन/लुम्बिनी/जनकपुरजस्ता क्षेत्र, राष्ट्रिय निकुञ्जवरिपरिका क्षेत्रहरू, मुख्य पदयात्रा मार्गहरू र र्‍याफ्टिङ रिभरहरूको सौन्दर्यीकरण, सफाइ, मर्मत तथा साइनेज स्थापना गरी स्तरोन्नतिका काम गर्ने । जसमा हाल बेरोजगार रहेका पर्यटन क्षेत्रमा संलग्न कामदारहरूलाई लगाउने । त्यसैगरी बर्दिया, इलाम, धरान, पाल्पा, जनकपुरजस्ता उदीयमान पर्यटकीय गन्तव्यहरूको विकासका लागि काम गर्ने ।

७. आवश्यक समन्वय र पुनरुत्थानका लागि विशेष संयन्त्र र विशेष कार्यक्रम: विगत २० वर्षमा नेपालको पर्यटन विभिन्न खालका संकटहरूबाट गुज्रिनुपरेको छ । संकटबाट यथाशीघ्र उम्कने मूल मन्त्र भनेकै एकता, समन्वय र सहकार्य नै हो । जति धेरैलाई एउटा मिसनमा सक्रिय बनाउन सकियो त्यति नै छिटो पर्यटनमा पुनरुत्थान गर्न सकिन्छ । कोभिडअघि घोषित भ्रमण वर्ष–२०२० अभियान र सचिवालय स्थगन गरिसकिएको अवस्था छ । यस्तो बेलामा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई एउटा पर्यटन पुनरुत्थनाका लागि संयन्त्र बनाउने ।

यसले पर्यटन रिभाइभलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालयअन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको रूपमा काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र सन् २०२५ सम्म रिभाइभल र दिगो विकासका लागि विशेष कार्यक्रमहरू बनाई कार्यान्वयन गर्ने । यसले छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्न सक्नेछ ।

८. नीतिगत सधार तथा उत्प्रेरणाका कार्यक्रम: संरक्षित क्षेत्रमा पर्यटनमैत्री र व्यवस्थित पर्यटकीय गतिविधि सञ्चालन गर्न, नयाँ विमानस्थलमा वायुसेवा सञ्चालकहरू आकर्षित गर्न, नयाँ प्रविधिमार्फत अध्यागमनमा सुधार गरी नेपाल आवागमनमा सहजता ल्याउन, छायांकनका गतिविधि आकर्षित गर्न, विदेशी इभेन्ट्स र एक्जिविसनहरू बाढाउन नीतिगत सुधार तथा उत्प्रेरणाका कार्यक्रम तत्काल ल्याउने । पर्यटनको सर्भाइभलसँग रिभाइभल र रिभाइभलसँग थ्राइभल जोडिएको हुँदा यी तिनै पक्षलाई एकीकृत ढंगबाट अघि बढाउन सकियो भने नेपालको पर्यटन छिट्टै पुनरुत्थान गर्न सकिने र भविष्यका लागि बलियो आधार पनि तयार हुनेछ ।

(लेखक नेपाल उद्योग परिसंघका महानिर्देशक तथा विश्व पर्यटन सञ्जालका संस्थापक कार्यकारी सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्