Logo

सडकलाई सुरक्षित र सुन्दर बनाउँदै बुटवल उपमहानगर

बुटवल पश्चिम नेपालको प्रमुख सहर हो । गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा, पर्वत, बागलुङ, प्युठान, नवलपरासी, कपिलवस्तुका मानिस अध्ययन, जागिर र व्यवसायको शिलसिलामा बुटवलमा छन् । बुटवल पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल पनि हो । त्यसैले यो ठाउँ यातायात सञ्जालको केन्द्र पनि हो । बुटवल उपमहानगरपालिकाले सडक सुरक्षा र सुन्दरलाई प्राथमिकतासमेत दिँदै आएको छ । सडक सुरक्षाका लागि छाडा चौपायको व्यवस्थापान, हाइमष्ट लाइट जडान, सिसि क्यामराको जडान, ट्राफिक लाइटको जडानलगायतका काम बुटवलमा भइरहेको छ ।

सडकका साढे चार सय गाई गौशालामा लगियो
छाडा चौपाय बुटवलका मुख्य समस्यामध्ये एक थियो । मुख्य सडकमा गाईको लस्कर देखिन्थ्यो । चौपायका कारण सवारी जाम र दुर्घटनासमेत भइरहन्थ्यो । गत चैतमा सडकका गाई गोरुलाई बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनमा निर्माण भएको गौशालामा लग्न थालियो । शिवनगर स्थित नन्दिनी गौ संरक्षण केन्द्रमा अहिले साढे चार सय जति गाईगोरु छन् । साढे चार बिघा क्षेत्रफलमा रहेको गौशालामा दाम्लोले नबाँधीकन गाई गोरुलाई खुल्ला रूपमा राखिएको छ ।

गौशालाभित्र गाइबस्तु बस्ने ६ वटा सेड रहेका छन् । त्यस्तै १३ वटा परालाको टौवा छन् । साँढेलाई एकातर्फ र गाइलाई अर्को तर्फ रहने गरी व्यवस्था गरिएको छ । भरखर व्याएको बाच्छा बाच्छीसहतिको गाइलाई पनि छुट्टै राख्ने गरिएको छ । गौशालामा भक्तजनका लागि गाईको सेवा गर्नेका लागि एउटा प्रतीक्षालय, काम गर्नेहरूका लागि सानो क्वाटर र दानाका लागि गोदामको व्यवस्था छ । गाईको आहारको लागि निरन्तर रूपमा सहयोग आइरहने गरेको बुटवल–७ का वडाध्यक्ष पदमराज गाहाले बताए ।

‘उपमहानगरका सबै वडाबाट दाना पानीको लागि सहयोग भइरहने गरेको छ । कसैको जन्मदिन पर्दा वा औंसी पूजामा गौशालामा आएर गाईका लागि दानापानी दिने गरिएको छ,’ उनले भने, ‘पहिलेको तुलनामा गोठहरू पनि व्यवस्थित बनेको छ ।’ बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले गौशालाका लागि विशेष ध्यान दिएका छन् । प्राय:जसो दिनमा एकपटक मेयर पाण्डे गौशाला पुग्ने गरेका छन् । नन्दिनी गौशाला सञ्चालनमा आएपछि बुटवका सडकमा छाडा गाईवस्तुको चाप केही कम देखिएको छ ।

बुटवलका योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पुरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआई चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान भएका छन् । दबाबपछि मुख्य सडक क्षेत्रमा काम केही अघि बढ्दा अहिले सडकको सास्ती कम भएको छ । सर्भिस लेनलगायतका बाँकी काम अघि बढाउन ठेकदारले फेरी अलमल गरेपछि बुटवल उपमहानगरपालिकाले ठेक्का तोड्न सरकारलाई आग्रह गर्‍यो ।

तर पनि पर्याप्त ठाउँको अभावले सबै चौपायको व्यवस्थापन गर्न नसकेको मेयर पाण्डेले बताए । ‘त्यो गौशालामा सम्भव भएसम्मका छाडा चौपायाको व्यवस्थापन गरेका छौं । बुटवल बाहिरका अन्य पालिकाबाट आउने छाडा चौपाया रहेको र भारतबाट आउने गर्दा समस्या भएको छ,’ उनले भने, ‘अहिलेलाई बढीमा पाँच सयको संख्यामा मात्र हामीले गाईहरू व्यवस्थापन गर्न सक्छौं ।’ छाडा गाईको व्यवस्थापनका लागि ठूलो ठाउँ उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह गरेको पाण्डेले सुनाए ।

‘नवलपरासीको बर्दघाटदेखि कपिलवस्तुको चन्द्रौटासम्मका छाडा चौपाया व्यवस्थापनका लागि एउटा छुट्टै क्षेत्र दिनपर्‍यो भनेर हामीले प्रदेश र संघीय सरकारसँग भनिरहेका छौं,’ उनले भने । बुटवल शिवनगरमा रहेको नन्दिनी गौशालालाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उपमहानगरको योजना छ । गाई वस्तुको व्यवस्थापन मात्र नभई अरु खालका धार्मिक गतिविधिसहितको पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दा गाईवस्तु व्यवस्थापनको आयआर्जका लागि पनि गर्न सकिने विश्वास गरिएको छ ।

देशभरकै एउटा नमुना गौशाला बनाउने आफूहरूको प्रयास रहेको बुटवल उपमहानगरपालिकाका मेयर पाण्डेको भनाइ छ । ‘यो धार्मिक वनमा परिणत नभएकाले अहिले हामीले अस्थायी संरचनामात्र निर्माण गरेका छौं,’ उनले भने, ‘हाम्रो योजनाअनुसार ३० प्रतिशत काममात्र भएको छ । ७० प्रतिशत काम बाँकी छ । यहाँ गहत प्रशोधन केन्द्र, गड्यौला मल उत्पादन केन्द्र, योगा सेन्टर, आयुर्वेदिक केन्द्रलगायतका थुप्रै गर्नुपर्ने हुन्छ ।’ योजनाअनुसार काम हुँदा गौशालालाई धार्मिक पर्यटकीय विकास गर्न सकिने र बुटवलका सडक छाडा चौपायामुक्त हुने मेयर पाण्डेले बताए ।

हाइमष्ट लाइट र सिसि क्यमरा जडान
बुटवलमा सडक सुरक्षाका लागि विभिन्न ठाउँमा उच्च क्षमताका हाइमष्टलाइट जडान भएको छ । उपमहानगरका २३ वटा चोक चौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन् । बुटवलका योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पुरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआई चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान भएका छन् ।

त्यस्तै वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका सातवटा लाइट राखिएको छ । यस्तै गरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका चारवटा लाइट जडान भएको छ । दुई करोड सात लाख ९३ हजार रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासंँग सम्झौता भई हाइमास्ट लाइट जडान भएको हो ।

मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइट जडान गरेको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले जानकारी दिए । बाँकी रहेका स्थानमा चालु आर्थिक वर्षमा हाइमस्ट लाइट जडान गर्ने गरी बजेटको व्यवस्था गरेको उनले बताए । यस्तै बुटवल उपमहानगरपालिकाका १२५ ठाउँमा सिसि क्यमरा जडान गरिएको छ । सिसि क्यामरामार्फत् सहरभित्रका विभिन्न ठाउँको अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ ।

बुटवल उपमहानगरपालिकाको कार्यालयबाट सिसि क्यामरामार्फत् सहरका विभिन्न ठाउँको निगानी गर्न सकिने छ । यसलाई इलाका प्रहरी कार्यालेसँग पनि जोड्ने उपमहानगर प्रमुख खेलराज पाण्डेले जानकारी दिए । बुटवलमा बेला बेलामा पसलका सटर तोडफोड गरेर चोरी हुने घट्ना भइरहेका हुन्छन् । हाइमस्ट लाइट र सिसि केमराले बुटवलमा चोरीका घट्ना कम हुने र घट्ना भएमा अनुसन्धानमा पनि सहज हुने विश्वास गरिएको छ ।

मुख्य चोकमा ट्राफिक लाइट जडान
बुटवलमा दिनप्रतिदिन जनघनत्व बढिरहेको छ । जन घनत्वले सवारी चाप पनि बढाइरहेको छ । विगतको तुलनामा बुटवलका सडक फराकिला भएका छन् । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गसमेत समेटिएको बुटवलका सडकमा ठूला बस, ट्रक, टिप्परको पनि राजमार्गमा निरन्तर जसो कुदिरहेका हुन्छन् । फराकिला सडकमा तीव्र गतिमा सवारी चल्दा दुर्घटनाको जोखिमसमेत बढेको छ ।

बेलाबेलामा सडक दुर्घटनासमेत भइरहेको छ । सवारी व्यवस्थापन र दुर्घट्ना न्यूनीकरणका लागि बुटवलका विभिन्न चोकमा ट्राफिक लाइट जडानको काम सुरु भएको छ । सुरुवातमा बुटवलको अतिव्यस्त हुने ठाउँ ट्राफिकचोक, मिलनचोक र कालिका चोकमा ट्राफिकलाइट जडानको काम भइरहेको छ । ट्राफिक लाइट जडान भएमा सवारी व्यवस्थापनमा सहज र पैदलयात्रुलाई सडक पार गर्नसमेत सहज हुन्छ ।

ट्राफिक लाइट जडानको लागि ५५ लाख रुपैयाँको लागतमा क्युसेरा मल्टीपर्पोज प्रालि काठमाडौंसँग ठेक्का सम्झौता भएको उपमहानगरका पूर्वाधार महासाखा प्रमुख गौतम रौनियारले जानकारी दिए । यसपछि गोलपार्क, अस्पताललाइन र योगिकुटीमा ट्राफिकलाइट जडानको कार्य हुने बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले बताए ।

सडक विस्तारको काम समयमा पूरा गर्न पटकपटक दबाब
बुटवलको राजमार्ग चौराहदेखि चिडिया खोलासम्मको सडक विस्तारको लागि २०७३ फागुनमा सम्झौता भएको हो । आठ वर्ष हुन लाग्दा पनि साढे तीन किलोमिटर सडक विस्तारको काम सकिएको छैन । सडक विस्तारको लागि घर भत्काएको विषयमा अदालतमा मुद्दा मामिला पर्दा केही महिना काम अघि बढ्न सकेन । कोरोना संक्रमण लगायतका कारण पनि सडक विस्तारमा ढिलाइ भयो । अदालतले बाटो खोलिदिएको र कोरोनाको प्रभाव हट्दासमेत सडक विस्तारले गति लिएन ।

ठेकदारले काममा आलटाल गरिरह्यो । सडक विस्तारको काम अघि नबढ्दा उपमहानगरबासी र यात्रुले निकै सास्ती भोग्नुपरेको थियो । यो सडक संघीय सरकारअन्तर्गतको हो । बुटवल उपमहानगरपालिकाले सडक विस्तार चाँडो सक्न पटक–पटक दबाब दिएको थियो । कहिले सडक डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको थियो । कहिले उपमहानगरकै कार्यालयमा सरोकारवाला पक्षलाई बोलाएर काम अघि बढाउन दबाब दिएको थियो ।

दबाबपछि मुख्य सडक क्षेत्रमा काम केही अघि बढ्दा अहिले सडकको सास्ती कम भएको छ । सर्भिस लेनलगायतका बाँकी काम अघि बढाउन ठेकदारले फेरी अलमल गरेपछि बुटवल उपमहानगरपालिकाले ठेक्का तोड्न सरकारलाई आग्रह गर्‍यो । डिभिजन सडक कार्यालयले सडक विस्तारको ठेक्का तोडेको थियो । अहिले नयाँ ठेक्का लागेर काम भइरहेको छ । सर्भिस लेनसहितको ६ लेन सडक बन्ने गरी कामअघि बढेको छ । सडक विस्तारको काम सकिएपछि त्यहाँ सुन्दरता थप्ने काम हुने उपमहानगरपालिकाले जनाएको छ ।

सडक व्यवसायमैत्री र पैदलयात्रुमैत्री बन्ने उपमहानगर प्रमुख पाण्डेले बताए ‘राजमार्ग चौराहदेखि चिडियाखोलासम्मको सडक विस्तारको काम सकिएपछि बुटवल साँच्चिकै फरक देखिने छ । उज्यालो र हरियाली देख्न सकिन्छ । केही ठाउँमा सडकमै पसल रहनेछन् । बेलुकापख सडकमै खान र रमाउन सकिन्छ । पैदल यात्राका लागि पनि आनन्दको वातावरण हुनेछ,’ उनले भने । बुटवलको सडकलाई सुरक्षित, सुन्दर र उज्यालो बनाउने अभियानमा आफूहरू लागिरहेको उपमहानगर प्रमुख पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्